महन्थ ठाकुरले बालुवाटारमा यसरी पोखे रीस -"प्रदेश माग्दा बिहार देखाउने, अधिकार माग्दा मोदीपुत्र भन्ने ?"
Advertise Here Book Now

Mahanta Thakur १४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आजै टुंगो लगाउँ भनेर शुरु गरे पनि सोमवार बालुवाटारमा भएको त्रिपक्षीय वार्ता मनको बह पोखेर टुंगियो । मनको बह पोख्नेमा सबैभन्दा अगाडि देखिए तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ।

विहान ११ बजे भनिए पनि बैठक शुरु हुँदा आधा घण्टा ढीला भयो । बैठकमा मधेसी मोर्चाका शीर्षनेता सहभागी नहुने भनेर हल्ला चलिरहे पनि प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट महन्थ ठाकुर हृदयेश त्रिपाठीलाई लिएर बालुवाटारमा भित्रिए ।
महन्थ ठाकुर र हृदयेश त्रिपाठीलगत्तै समाजवादी फोरमका अशोक राई र राजेन्द्र श्रेष्ठहरु पनि प्रधानमन्त्री निवास बालुवाटार छिरे । एमाले पार्टीबाट बाहिरिएपछि अशोक राई र केपी ओलीवीच यो नै पहिलो औपचारिक वार्ता थियो ।
बैठकको शुरुमै प्रधानमन्त्रीले भावुक खालको मन्तव्य दिए । ‘जनताले धेरै दुःख पाए । हामी सबैले देश र जनताकै लागि राजनीतिक गरेका हौं भने अब कहीँ न कहीँ मिलनबिन्दु खोज्नैपर्छ’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एमाले उपाध्यक्ष तथा रक्षामन्त्री भीमबहादुर रावलले भने ।
ओलीको मधेसी मोर्चाको आन्दोलनलाई हेर्ने दृष्टिकोणमा ठूलै परिवर्तन महसुस गरे मधेसी नेताहरुले पनि । वार्तामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका नेता समिम अन्सारीले भने- आज प्रधानमन्त्रीज्यू विगतको भन्दा धेरै नरम र समस्याप्रति साँच्चिकै चिन्तित अवस्थामा देखिनुभयो । उहाँले त आजै टुंगो लगाएरमात्र उठौं भन्नुभएको हो ।
ओलीले आजै टुंगो लगाउँ भने पनि त्यसपछिको माहौल ओलीले भने जस्तो भएन । नेताहरु आ-आफ्ना मनका बह पोख्न थाले । सुशील कोइरालाले आफूलाई मधेसी मोर्चाको ११ बुँदाबारे थाहा नभएको भन्दै ‘ऊ गर्न समय चाहिन्छ’ भन्न थाले ।
महन्थले मनै रित्याए
मनको बह पोख्ने क्रममा मधेसी मोर्चाका शीर्षनेता महन्थ ठाकुरले आफ्नो मन रित्याएरै पोखिएको एक सहभागीले बताए । राज्यको यही शैलीको दमन र मधेसी नागरिकमाथिको दोस्रो दर्जाको व्यवहार कायम रहे अब वार्ता कहिल्यै हुन नसक्ने भावुक चेतावनी पनि दिए ।
ठाकुरले बैठकमा भने- ‘राज्यले मधेसीमाथि गरेको दमन सम्झिने हो भने त हामी यहाँ बालुवाटारमा कहिल्यै नआए हुन्छ । प्रहरीका अफिसरले मधेसी आन्दोलनकारीलाई मोदीका सन्तान भनेर अपमानजनक गाली गरेका छन् । छाती र टाउकोमा ताकीताकी गोली हानेका छन् । हामीलाई प्रदेश माग्दा बिहार युपी जाऊ भनिन्छ, अधिकार माग्दा मोदीका सन्तान भनिन्छ किन ?’
मधेसी मोर्चाका नेताहरुले राज्यले आफूहरुलाई थकाउन खोजेको आरोप लगाएका थिए । उनीहरुले मधेसमा भइरहेको आन्दोलन विरुद्ध पहाडे समुदाय उतारेर साम्प्रदायिक रुप दिन खोजिएको आरोपसमेत लगाए ।
ओली र प्रचण्ड गम्भीर
केपी ओली र प्रचण्ड भने समस्या तन्काउने वा बिगार्ने भन्दा पनि सल्टाउने ढंगले बैठकमा प्रस्तुत भएको अनुभूति मधेसी नेताहरुले गरेका छन् । ‘उहाँहरुको कुरा सुन्दा मंसिर १६ गते राति मुलुकले एउटा निकास पाउँछ’ अन्सारीले भने ।
बैठकमा राप्रपा नेपालले भने तीन दल र मधेसी मोर्चाबीच हुने सहमति आफूलाई मान्य हुने धारणा राखेको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए । ‘हिजो उहाँहरुले गरेको हो, आज उहाँहरुले नै गर्नुहोस’ उनले भने ।
त्रिपक्षीय वार्तामा मधेसी जनअधिकार फोरम लोकतात्रिकका अध्यक्षसमेत रहेका विजय गच्छदार भने केही बोलेनन् । करीव पौने घण्टा बैठकमा बसेर उनी बाहिरिए ।
वार्ताको वातावरण बिगार्नेखालको अभिव्यक्ति कसैले पनि दिएनन् । बरु माधव नेपालले संघीय प्रदेशहरुको सीमांकनलाई थाति राखेर भने पनि अहिलेको संकट टारौं भन्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि छलफल भएन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्