मधेस आन्दोलनको स्वरुप बदलौं
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम चैत्र ७ । जनतालाई बन्धक बनाएर राजनीति गर्नेहरु कहिल्यै सफल हुन सक्दैनन्। राष्ट्रिय पार्टी हुन खोज्नेले राष्ट्रिय चरित्र नदेखाउँदा मधेसी दल आन्दोलिन हुनुपरेको हो। अहिले मधेसवादी दलहरुले आन्दोलनमा राष्ट्रिय चरित्र देखाउनु आवश्यक छ। त्यसो नगरे आन्दोलन अर्कै धार, अर्कै दिशामा नजाला भन्न सकिन्न। दसैं नजिकै छ। यस्तो चाडमा जनतालाई पेट्रोल, नुन रोकेर सास्ती दिनु आन्दोलनको राष्ट्रिय चरित्र होइन। कुनै पनि मूल्यमा जनताको संवेदनासँग खेल्न पाइँंदैन। जनतालाई सास्ती दिएर राजनीति गर्न हुँदै हुन्न। जनता हिमाल, पहाड र तराई जहाँ बसे पनि उनीहरुको दिनचर्यालाई ध्यान दिनुपर्छ। झन् चाडवाडको समयमा त यस्तो आन्दोलन गर्नै हुँदैन। गर्नै परे पनि कम्तीमा दसैं, तिहार र छठभरि यसको स्वरुप फेर्नुपर्छ। सत्तासँग गुनासो छ भने सिंहदरबारमा सत्याग्रह गरौं। ठूला दलसँग गुनासो छ भने उनीहरुका पार्टी कार्यालय घेरौं। बरु मन्त्री निवास घेरौं तर आम जनतालाई दुःख नदिउँ्क। चाडवाडको खुसी नखोसौं। यसरी आन्दोलनको स्वरुप फेरेमा उनीहरु मधेसी मात्र होइन, आम नेपालीको नेता हुन पाउँछन्।
अहिले यसो गर्न सके पहाडी समुदायले पनि आन्दोलनलाई सघाउँछन्। मधेसको जायज मागका लागि हिमाल र पहाडबाट पनि आवाज उठ्छ। आफ्नो जायज माग जनतामा लैजाँदा सहयोग पाइन्छ। जनताको दिनचर्यालाई अप्ठ्यारोमा पारेर कुनै आन्दोलन सफल हुन सक्दैन।
५६ दिनको बन्दले मधेस र पहाडी समुदाय सास्तीमा छ। राज्यसञ्चालक विरुद्धको आन्दोलनमा जनता पिल्सिएका छन्। आन्दोलनको स्वरुप बदल्न सके आन्दोलन सत्ताधारीविरुद्ध हो, पहाडी समुदाय र जनताविरुद्ध होइन रहेछ भन्ने स्पष्ट सन्देश फैलन्छ। मधेसी दलले जनतालाई दुःख दिन चाहेका होइनन्, आफ्नो अधिकार खोजेका मात्र हुन् भन्ने भावना विकसित हुन्छ। यस्तो सकारात्मक सन्देश सञ्चार गरेर उदार चरित्र देखाउनु मधेसवादी दलको हितमा छ।
जनतालाई असुविधा नपुर्यातई, प्रत्येक नागरिकलाई राज्यले गरेको विभेदबारे अपिल गरी, नाकवन्दी हटाई आवश्यक सहयोगका लागि आग्रह गर्नुपर्छ आन्दोलनरत दलले। पहिले पनि पहाडमा मधेसीले अन्न दिएका हुन्। नेपालमा मधेसी 'सिनियर सिटिजन' हुन्। जनक र गौतम बुद्धको बेलादेखिका बासिन्दा हुनुको विशिष्टता देखाउन सक्नुपर्छ मधेसीले। मधेसका नेता वा जनताका कारण पहाडी जनता पीडामा पर्नु हुँदैन। यो लडाइँ समानताका लागि हो, सत्ताका लागि होइन भन्ने विश्वास जगाउन सक्नुपर्छ। यो उदारता देखाए मधेसी दलले सम्पूर्ण नेपालीको मन जित्न सक्छ। राष्ट्रिय नेता र राष्ट्रिय विचारकमा स्थापित हुन सक्छ। मधेसको समस्या मधेसीको मात्र होइन भन्ने त स्थापित भइसकेको छ।
जनताको ग्यास, पेट्रोल र चामल सकियो। मधेसी दल जसका विरुद्ध लडेका हुन्, उनीहरुको केही सकिएको छैन। त्यसैले मधेसीले सत्याग्रह गरेर नेताका घर घेरून्, जनताको चुलो होइन। राज्यसञ्चालकसँग विद्रोह गरिरहेको मधेसले सामान्य जनताको रोजिरोटी खोसेर आन्दोलन चलाउन हुँदैन। मधेसकेन्द्रित नेताले सामूहिक अनशन वा सत्याग्रहको अन्य तरिका अपनाउनुपर्छ। राजनीतिले त जनतालाई लाभ दिनुपर्छ, यसरी घाटा पुर्या उन पाइँदैन।
पहाडी दलका कारण मधेसी जनता र मधेसी दलले गर्दा पहाडी जनता पीडित हुनु हुँदैन। दुवै राष्ट्रियता मिलाउन सके नेपाली राष्ट्रियता बलियो हुन्छ। जनताका लागि गरिएको राजनीति दिगो हुन्छ, राजनीतिका लागि जनता प्रयोग गर्दा अहिलेलाई राम्रो देखिए पनि चिरकालमा घाटै पर्छ। यो आन्दोलन साम्प्रदायिकतातर्फ जान सक्नेबारे अहिले हेक्का पुर्यााउनुपर्छ। राजनीतिका नाममा जनतालाई बन्धक बनाउन पाइँंदैन। जनता मारेर, जनताकै नाममा राजनीति गर्नु लोकतान्त्रिक आचरण होइन।
मधेसवादी दल पनि सत्तामा गएका हुन्। आफू पदमा छँदा के दिए, के दिएनन् र किन दिएनन् भन्ने जवाफ पनि चाहिएको छ।

