मधेशको मुद्दा सम्बोधन नभई सरकारमा जान असम्भव : यादव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेश आन्दोलनका मागहरू सम्बोधन गर्न गम्भीर नभएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सरकारले मधेश आन्दोलनका माग सम्बोधन नगरे चैत पहिलो हप्ताबाट मोर्चाले फेरि आन्दोलन गर्न बाध्य हुने बताए । अध्यक्ष यादवले अझै पनि समय रहेकाले आन्दोलन अगावै मधेसको मुद्दा सम्बोधन गर्न मुख्य दलहरुलाई आग्रह गरे । सीमाङ्कन, संघीयताको स्वरुप तथा प्रदेशको क्षेत्राअधिकार लगायतका विषय मोर्चाको मुख्य माग रहेको उनको भनाइ छ ।
अध्यक्ष यादवले मधेशको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताए । उनले जनताको चाहना र भावनाअनुसार मधेशको मुद्दा सम्बोधनमा सहज होस् भन्ने उद्देश्यले आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए । मधेशको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको उनको भनाई थियो ।


