असई हत्यामा अभियुक्त बने मधेशी दलका केन्द्रीय नेताहरु
Advertise Here Book Now

अभियुक्त बनाइएकामा सदभावना सहमहामन्त्री र पूर्वसांसद पनि
ऑनलाइन सिरहा डटकम फागुन २७ । सशस्त्र असई थमन विश्वकर्माको हत्या र उनी सवार रहेको भनिएको एम्बुलेन्समा आगजनीका घटनामा संलग्न भनेर महोत्तरी प्रहरीले आज जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको छ । प्रहरीले दायर गरेको मुद्दामा कर्तव्यज्यानअन्तर्गत २५ जना र एम्बुलेन्स आगजनीमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । महोत्तरी प्रहरीले भने ती मुद्दामा अभियुक्त बनाइएकाहरुको नामावली सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकजना वरिष्ठ प्रहरी अधिकारीले अभियुक्तहरुको नामावली प्रतिवादीहरुको कानूनी परामर्शदातासँग लिन सुझाएको सञ्चारक नेपालका महोत्तरी समाचारदाता राजन भण्डारी मालीले बताएका छन् । सशस्त्र असई विकको हत्या प्रकरणमा महोत्तरी प्रहरीले यसअघि नै तीनजनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरु निर्दोष रहेको र मधेशी आन्दोलनकारीहरुको मनोबल खस्काउने योजनाअन्तर्गत राज्यले पक्राउ गरेर चरम यातना दिएको आरोप आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लगाएको छ । सोह ीआरोप लगाउँदै मोर्चाले गृहप्रशासनविरुद्ध केही दिनयता जिल्ला सदरमुकाम जलेश्वरमा निरन्तर प्रदर्शन गर्दैआएको छ । प्रदर्शनकारीहरुले पक्राउ परेकाहरुको निशर्त रिहाइ र झूठा मुद्दामा आन्दोलनकारीहरुलाई नफसाउन माग गर्दैआएका छन् । आज अभियोजन भएका मुद्दाहरुमा अभियुक्त बनाइएकाहरुमा आन्दोलनकारी मोर्चाका घटक दलहरुका केन्द्रीय नेताहरु पनि छन् । अभियुक्त बनाइएकाहरुमा सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव र सोही पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतो तथा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसांसद कौशलकुमार यादवलगायतका व्यक्ति छन् । पूर्वसांसद कौशल शरत्सिँह भण्डारीनेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी(रामसपा)का सचिव पद परित्याग गरी सङ्घीय समाजवादी फोरममा प्रवेश गरेका थिए । सदभावनाका सहमहामन्त्री देवेन्द्र यादव संविधानसभाको पहिलो निर्वाचनमा रामसपाका अध्यक्ष शरतसिँह भण्डारीविरुद्ध उम्मेदवारी दिएर सम्मानजनक मत ल्याएर पराजित भएका थिए । रामसपा अध्यक्ष भण्डारीको राजनीतिक जीवनका अनन्य सहयोगी लक्ष्मी महतो भने पछिल्ला केही वर्षयता उनीसँग रुष्ट भएर काँग्रेस हुँदै अघिल्लो निर्वाचनमा सद्भावना पार्टीमा प्रवेश गरेका थिए । सद्भावना पार्टीबाट उनको धर्मपत्नीको उम्मेदवारीले नै महोत्तरीका प्रभावशाली र शक्तिशाली नेता भण्डारीलाई आफ्नै गृहक्षेत्रमा पराजित हुनुपरेको विश्लेषण गरिएको थियो । सङ्घीय समावेशी गठबन्धनमा आबद्ध भएर मधेश आन्दोलनमा संलग्न भएको रामसपा पछिल्लोपटक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध भएको छ । रामसपा अध्यक्ष भण्डारीका अनुसार रामसपाका केही निर्दोष कार्यकर्तालाई समेत महोत्तरी प्रहरीले सशस्त्र प्रहरीको हत्यामा संलग्नता भएको आरोपमा मुछेको छ । मोर्चाको निर्धारित कार्यक्रमअनुसार रामसपाले पनि पक्राउ परेकाहरुको रिहाइ र आन्दोलनकारीलाई झूठा मुद्दामा नफसाउन माग भएका स्थानीय प्रदर्शनको नेतृत्व गरेको छ । सो घटनामा अभियुक्त बनाइएको भनिएका सदभावना सहमहामन्त्री देवेन्द्र यादवले पूर्वाग्रहका आधारमा राज्यले आन्दोलनकारीहरुलाई झूठा मुद्दामा फसाउन खोजेकोले थप कानूनी उपचारका लागि गिरफ्तारी दिने बताए । उनले राज्यको दुनिर्यतलाई पर्दाफास गर्न पनि अघि सरेर प्रतिवाद गर्नुको विकल्प नरेको उल्लेख गरे । यसैगरी सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कौशल यादवले भने मुद्दा दायर भइसकेपछिको अवस्थामा थप जानकारी प्राप्त गर्न र कानूनी बाटो रोज्नसमेत परामर्शमा रहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्