सप्तरीमा संविधान जारी भएको दिनलाई कालो दिवसको भव्य तयारी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असोज २ गते । । असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउन सप्तरीमासमेत व्यापक तयारी थालिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले सोमवार भव्य रुपमा कालो दिवस मनाउने तयारी थालेको हो । मोर्चाले कालो दिवसका अवसरमा दिउँसो दुई बजे हातमा कालो पट्टी बाँधेर कालो झण्डाकासाथ बृहत प्रदर्शनको तयारी भईरहेको सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।उनका अनुसार कालो दिवसका अवसरमा बढीभन्दा बढी जनसहभागिता होस् यसकालागि गाउँगाउँबाटसमेत सर्वसाधारण जनताको व्यापक सहभागिता रहनेछ । साँझ ७.३० बजदेखि ८.३० बजेसम्म एक घण्टा ब्ल्याक आउट(अँध्यारो) गर्ने कार्यक्रम तय भएको नेता साहले बताए । उक्त समयमा गाउँगाउँमा समेत डिबिया वा लालटेनसमेत नबालेर मधेश विरोधी संविधानको विरोध गर्न उनले आग्रह गरेका छन् । मधेसी जनताको छाती तथा टाउँमा गोली ठोकेर जबरदस्ती लादिएको संविधान कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउँदै उनले भने ‘मधेसी जनतालाई निर्ममतापूर्वक हत्या गरी त्यसलाई कुल्चेर जारी गरिएको संविधान कदापि स्वीकार्य हुँदैन, जबसम्म मधेसको मागलाई संविधानमा लिपिवद्ध गरिँदैन तबसम्म यो संविधान कागजको खोस्टो जस्तै रहन्छ ।’ यता संविधान दिवस मनाउने जिम्मेवारी पाएको जिल्ला विकास समिति सप्तरीलेसमेत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आग्रहमा संविधान दिवस नमनाउने भएको छ । मोर्चाका नेताहरुले गरेको आग्रह अनुसार जिल्ला विकास समितिले संविधान दिवसको अवसरमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय भएको श्रोतले जनाएको छ । यसैगरी सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको निर्देशनमा नेपाल निजामति कर्मचारी र बैंकका कर्मचारीहरु बीच संविधान दिवसको अवसरमा बिहान मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको जनाईएको छ । फोरमका नेता साहले आम मधेशी जनताको भावनालाई आत्मसात गर्दै संविधान दिवसको अवसरमा आयोजना हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ । यता जिल्लाका बुद्धिजिविहरुले समेत गत वर्ष असोज ३ गते जारी भएको संविधान मधेस विरोधी रहेको भन्दै सोही सन्दर्भमा आइतवार राजविराजमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । वर्तमान संविधानलाई संशोधन नगरेसम्म मधेसी जनताको आत्माले यो संविधानलाई नस्वीकार्ने प्रतिक्रिया दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्