गौरमा भूमाफियाविरुद्ध प्रदर्शन
Advertise Here Book Now
९ असोज, रौतहट । सार्वजनिक स्थलका रुपमा वर्षौंदेखि प्रयोग भइरहेको गौर राइस मिलको जग्गामा भूमाफियाले आँखा लगाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिलको सार्वजनिक जग्गा बिक्री गर्ने उद्देश्यका साथ भूमाफियाहरु सक्रिय भएपछि आइतबार स्थानीयले जुलुस निकाले ।२००३ सालमा स्थापना भएको गौर राइस मिल २०३५ सालमा बन्द भएपछि सार्वजनिक रुपमै रौतहटवासीले प्रयोग गरिरहेका छन् । राइस मिलको नाममा रहेको झण्डै ६ बिघा जग्गामा लामो समयदेखि केही भूमाफियाहरुले आँखा गाडेका छन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ सालमा मन्त्रिपरिषदबाटै सो जग्गा अधिग्रहण गर्ने निर्णय गरेका थिए । २०७१ मा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले अधिग्रहण अधिकृत नै तोकेर सो जग्गा सार्वजनिक प्रयोगका लागि गौर नगरपालिकालाई जिम्मा लगाउने तयारी समेत गरेको थियो । २०७१ असार ३० गते गौर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुनिलप्रसाद साह र प्रमुख जिल्ला अधिकारीको पहलमा जग्गा नाप जाँच गरी ५ बिघा १९ कठ्ठा १५ धुर जग्गाको मूल्यांकन रजिष्ट्रेशन दस्तुर समेत गरी १४ करोड ७ लाख ९७ हजार रुपैयाँ निकासा गर्न संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । गौर नगरपालिकाले अझै पनि सो जग्गा अधिग्रहणको प्रक्रियामा रहेको बताइँरहदा गौरका केही व्यक्तिहरु सो जग्गा बिक्री गर्ने प्रयासमा रहेको स्थानीय बताउँछन् । विभिन्न राजनीतिक कार्यक्रम, खेलकुद, मेला तथा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने सो जग्गा बिक्री गराउन भूमाफियाहरुले चलखेल गर्न थालेपछि विभिन्न राजनीतिक दल, पत्रकार, नागरिक समाज र स्थानीयले गौर राइस मिल जग्गा संरक्षण संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिको अगुवाईमा सदरमुकाम गौरमा जुलुस प्रदर्शन गरिएको हो । जुलुसले नगर परिक्रमा गरेपछि प्रमुख जिल्ला अधिकारी नरहरी बराललाई ज्ञापनपत्र समेत बुझाएको छ ।
सार्बजनिक जग्गा जोगाउन माग गर्दै सिडिओ कार्यालयमा ज्ञापनपत्र पेश

