श्रीमानले काटे श्रीमतीको नाक कारण दाइजो
Advertise Here Book Now



उत्तर भारतस्थित उत्तर प्रदेशको सज्जनपुरकी कमलेश राथोर, २५, लाई उनका श्रीमान् संजीव राथोर, २७, ले दाइजो स्वरुप ८० हजार नदिएको रिसमा उनको नाक काटिएको हो ।

कमलेश भन्छिन्, ‘दाइजोका लागि उनले मलाई दैनिक सताउने गर्दथे । उनले तारन्तार मसँग ८० हजार रुपैयाँ दाइजो मागिरहन्थे ।’

‘मैले निरन्तर भन्थें कि मेरो बुवा निकै गरिब हुनुहुन्छ त्यसकारण उहाँले तपाईंलाई यति रकम दिन सक्नुहुन्न । उनले मेरा केही कुरा सुनेनन् । मेरो नाक काटिदिने भनी सधैं धम्की दिन्थे,’ उनी भन्छिन् । ‘यहि निउँमा उनले मलाई वर्षौंदेखि कुट्दै आएका छन् ।’उनले मलाई बेल्ट, जुत्ता, लट्ठीले कुट्दथे । मलाई यौनकर्मीको रुपमा काम गरिरहेको आरोप लगाउँदै मलाई बेचिदिने धम्की पनि दिन्थे । दिनदिनै रक्सी खाएर आउने मेरो श्रीमानसँगको ८ वर्ष बसाईं मेरो लागि निकै कष्टकर रह्यो, ’ उनले डेली मेललाई बताइन् ।

गत सेप्टेम्बर १४ तारिखमा कमलेस खाना बनाइरहेकी थिइन् जब संजीवले पुनः ८० हजारको माग राखी उनीमाथि कराए । उनका अनुसार त्यस दिन घरका अन्य परिवारले उनलाई पछाडिबाट समाते र भुइँमा लडाए, त्यतिबेला उनको श्रीमान् उनको नाक काटिदिए । उनले भनिन्, ‘मलाई उनीहरुले निकै बेस्सरी च्यापेका थिए, म चलमल गर्ने अवस्थामा थिइनँ ।’

६ वर्षीया छोरीकी आमा कमलेसको नाक काटेपछि उनको श्रीमानसहित परिवारका अन्य सदस्य सम्पर्कबिहिन छन् । नाक काटिसकेपछि श्रीमानको अन्तिम वाक्य थियो, ‘अब तँ जिन्दगीभर यस्तै हुन्छेस् ।’



घटनापश्चात् कमलेशले उनको घर नजिकै रहेको आफ्नो माइतीपक्षलाई बोलाइन्, उनीहरुले कमलेशलाई नजिकैको अस्पताल पुर्याए । डाक्टरहरुले उनको नाकलाई पुनः जोड्न सकेनन् किनभने नाकको टुक्रालाई संजीवले आफूसँगै लिएर गएका थिए । नाकको शल्यक्रिया गर्न कमलेशको माइतीपक्षको आर्थिक स्थिती निकै कमजोर रहेको उनले बताइन् ।

पुलिसका अनुसार उनीहरुले घटनामा संलग्न कमलेशका श्रीमान्, सासू, ससूरा, नन्द र देवरको खोजी गरिरहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्