सिरहामा एड्सबाट एक दर्जनबढीको मृत्यू
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान १७ मंसिर । विश्वभर विभिन्न कार्यक्रम गरी आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस मनाइएको छ । सिरहालगायत नेपालभर विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी २९औं एड्स दिवस मनाइएको छ । ‘हामी सबैको काम, एचआईभी रोकथाम’ भन्ने नाराका साथ यो दिवस सिरहा पनि मनाइयो । सोहीक्रममा आर्थिक वर्ष ०७२।७३ मा सिरहामा थप २६ जना एचआइभी संक्रमित फेला परेको एक तथ्यांकले सार्वजनिक गरेको छ । सिरहामा एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ०७२।७३ सम्म १४ जनाको मृत्यु भएको थियो । लहान अस्पतालमा २० र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिए । योसँगै सिरहामा एचआइभी संक्रमितको संख्या ६८ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७१।७२ मा पनि १५ जना नयाँ एचआइभी संक्रमित फेला परेका थिए । एचआइभी संक्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको कर्णले बताए । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर एक तारीखका एड्स दिवस मनाउने गरिन्छ । विश्वमा एचआइभी पत्ता लागेको ३५ वर्ष पूरा भएसँगै नेपाल लगायत विश्वमा एचआइभीको नयाँ संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सन् २०१५ सम्ममा विश्वमा एड्स रोगका विरामीको संख्या तीन करोड ६७ लाख रहेको अनुमान गरिएको छ भने नेपालमा हाल करिब ३९ हजार ३९७ जनामा एचआइभीको संक्रमण रहेको अनुमान छ । जसमा पुरुषको संख्या चौबीस हजार ४४९ र महिलाको संख्या चौध हजार ९४८ रहेको छ । त्यस्तै नेपाली संक्रमितमा १५ देखि ४९ वर्ष समूहका वयष्क जनसंख्या मध्ये ०.२ प्रतिशतमा मात्र एचआइभीको संक्रमण रहेको अनुमान छ । नेपालमा करिब ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेकोे पाइएको छ । एचआइभीको उच्च जोखिममा रहनेहरुमा सुईद्धारा लागुऔषध प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआईभीको संक्रमण हुने जोखिम उच्च रहेको पाइएको छ । त्यस्तै यौनकर्मी, तेश्रोलिंगी, वैदेशिक रोजगारीमा जानेहरु र कैदीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको केन्द्रका निर्देशक तरुण पंगेनी बताउँछन् । हाल नेपालमा एड्सको नयाँ संक्रमणमा ८० प्रतिशतले र एड्स सम्बन्धी मृत्युमा सन् २००७ (नेपालमा एड्सबाट सबैभन्दा धरै मृत्यु भएको वर्ष)को तुलनामा २२ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एआरभी अर्थात औषधी सेवन गर्नेको संख्या १४६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । त्यस्तै, सन् २००० को तुलनामा हाल विश्वमा एड्स रोगको नयाँ संक्रमणमा ३५ प्रतिशतले कमी आएको छ भने झण्डै ५८ प्रतिशत बालबालिकामा नयाँ संक्रमण कम हुदै गएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, सन् २००४ (विश्वमा एड्सबाट सबैभन्दा धेरै मृत्यु भएको वर्ष) को तुलनामा हालसम्म एड्सबाट मृत्यु हुनेमा ४२ प्रतिशतले कमी आउनुका साथै ८४ प्रतिशतमा एचआइभी (औषधी सेवन गर्नेको ) उपचामा पहुँच बढेको छ । हाल संसारमा १ करोड ५८ लाख मानिसहरु एचआइचीको उपचारमा रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्