आदिवासी जनजाति, मधेसी र मुस्लिमलाई भिडाउने एमालेको योजना !
Advertise Here Book Now
ओलीले आदिवासी समुदायलाई ‘बाँदर, बाहुबलवाला, तिघ्रे’ जस्ता शब्दबाट अपमानित गर्दै आएका छन् । मधेशीहरुलाई ‘विहारतिर जाऊ’ भन्दै होच्याएर सार्वजनिक अभिव्यक्ति दिएका छन् । विपक्षी दलहरुले तिनै आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायतका उत्पीडित समुदायको अधिकारको मागलाई मुख्य नारा बनाएर आन्दोलन अघि बढाएपछि एमालेले उनीहरुसँग भिडन्त गराउन तिनै समुदायलाई अघि सार्ने योजना बनाएको हो ।
यसको पूर्वतयारी स्वरुप केही दिनअघि युवा संघका मुख्य नेतृत्वसँग नयाँबानेश्वरको एक होटलमा छलफल भएको बुझिएको छ । विपक्षीहरुको आन्दोलनमा तत्काल आम समुदायको सहभागिता नभएको र सुरुमै त्यसलाई ‘जनताको तहमा प्रतिकार गर्न सके निस्तेज पार्न सकिने’ आँकलनसहित प्रतिकारको योजना बनाइएको बताइएको छ ।
आन्दोलन अघि बढ्दै जाने र आफ्नो प्रतिकारको योजना पनि खुल्दै गएपछि भौतिक भिडन्त पनि हुनसक्ने आँकलनसहित युवा संघले तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । आन्दोलनको प्रत्यक्ष प्रतिकार गर्दा लडाइँ जनताको तहमा पुग्ने र यसलाई सम्हाल्न गाह्रो हुने भन्दै आफूले यसअघिको बैठकमा पनि सडकमै उत्रिएर विरोध गर्न नहुने धारणा राखेको जानकारी दिँदै उनले भने, ‘तर नेतृत्वको योजना ‘भिडन्तै गर्न पनि तयार हुने’ खालको छ ।’
जुन समुदायसँग भिडन्त गर्नुपर्ने स्थिति आउँछ, त्यही समुदायसम्बद्ध संगठनलाई अग्रभागमा राख्ने युवा संघको तयारी छ । अर्थात् जनजाति आन्दोलनको प्रतिकार गर्न आफू मातहत रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघलाई अघि सार्ने, मधेशमा मधेशीलाई नै अघि सार्ने तयारी भइरहेको बुझिएको छ । ‘नेतृत्वमा त्यत्रो १० वर्षसम्म सेना नै बनाएर बन्दुक बोकेर लडेका माओवादीलाई त हिजो युथफोर्स बनाएर ध्वास्त बनाइयो । जाबो यो आदिवासी र मधेशीहरुलाई एक झमटमै निप्ट्याउन सकिन्छ भन्ने भूत सवार भएको छ’, युवा संघका एक नेताले भने, ‘तर यसले आमजनताको तहमा संगठन, पार्टी र सिंगो नेपाली समाजमा कति ठूलो विभाजनको रेखा कोरिन सक्छ भन्ने खतराप्रति ध्यान गएको देखिँदैन ।’
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शीर्षनेताहरुबीच भएको बैठकमा पनि आन्दोलनको कसरी सामना गर्ने भन्नेबारे छलफल भएको थियो । विपक्षी दलहरुको जनसमर्थन र ती दलका नेताहरुप्रति आमजनताको विश्वास कम भएको भन्दै बैठकले आन्दोलनको सहजै सामना गर्न सकिने निष्कर्ष निकालेको बुझिएको छ ।
स्रोत :ईसामाता
स्रोत :ईसामाता