सिरहामा विवाहित युवतीको शंकास्पद मृत्यु (स्थलगत विशेष रिपोर्ट)
Advertise Here Book Now

मृतक युवतीको भाउजु रुञ्ची देवी मुखियालाई सम्हाल्दै घटनास्थलका स्थानीय महिलाहरु ।
|
- हत्या पछि अपराध लुकाउन मृत शरिरमा आगो लगाएको हुनसक्ने स्थानीय र अधिकारकर्मीहरुको आशंका
- अनुसन्धानमा प्रहरीको सुस्तता, २४ घण्टासम्म कसैलाई पक्रेनन्
- पूर्ण अनुसन्धान हुदैछ – प्रहरी निरीक्षक निरौला
- युवती मृत्युको कारण अनौपचारिक रुपमा गरिएको छलफलमा भएको निर्णय हुनसक्ने : अधिकारकर्मी
सिरहा, २८ माघ । सिरहामा आगोमा जलेका विवाहित युवतीको मृत्यु रहस्मय बनेको छ । नबघोषित नगरपालिका गोलबजार ८ घर भएकी अन्दाजी बर्ष १९ की युवती सरिता सहनीको मृत्यु रहस्मय देखिएको हो ।
सहनी सोमबार अपरान्ह आफ्नै घरमा आगोले जलेको अवस्थामा मृत भेटिएकी थिइन् । पूर्वपश्चि लोकमार्ग नजिकै रहेको चोहर्वा बजारमै घर रहेको युवतीको मृत्यु पछि युवतीकी पति सिताराम सहनी र देवरानी मंगलबार साझसम्म फरार छन् ।
घटना प्रकृतिले मृतक युवतीको हत्या भएको हुनसक्ने आशंका गरिदै छ । उनलाई आफ्नै देवर राजा सहनीसंगको सम्बन्धको आरोपमा पटक पटक घरभित्र झगडा गर्ने र सोमबार समेत सोही विषयलाई लिएर भएको झगडा पछि स्थानीयहरुले बसेर घर छाडेर बाहिर बस्न निर्णय गरेका थिए ।
सो निर्णय भएको केही समय पछि आफ्नै घरमा युवती जलेको अवस्थामा रहेको बारे सासु ललिता देवीले नै स्थानीयलाई जानकारी गराउनुले पनि युवतीको मृत्यु रहस्मय देखिएको छ । युवतीको मृत्यु भइसकेको पुष्टि भएपछि सोमबार सासु फरार रहेपनि उनी मंगलबार सम्पर्कमा आएकी छिन् ।
विवाह भएको करिब एक बर्ष भएपनि मृतक युवती सरिताको सम्बन्ध आफ्नै देवर संग रहेको आरोपमा उनको घर भित्र पटक पटक झगडा हुनै आएको स्थानीयहरुले बताएका छन् । स्थानीय केही व्यक्तिहरुले सोमबार गरेको छलफलमा युवतीको चरित्र ठिक नभएकाले श्रीमति (सरिता)लाई घर भन्दा बाहिर लगेर राख्न सितारामलाई निर्देशन दिइएको छलफलमा संलग्न एक राजनीतिककर्मीले स्विकार गरे ।
उनले भने –‘महिलाको चरित्र ठिक थिएन । देवरसंगको सम्बन्धका कारण पहिले देखि नै विवाद हुनै आएको थियो । देवरले गएको मंसिर महिनामा उदयपुर जिल्लाको गाइघाटमा विवाह गरेपछि भाउजु र देवर विचको सम्बन्ध बाहिर छताछुल्ल भयो ।’
उनले थपे –‘मृतक युवतीको पति सुस्त मनस्थितिको छ । त्यसैले विवाहित देवरसंगको आरोपमा झगडा हुनुभन्दा अलग्गै बस्ने निर्णय स्थानीयले ग¥यो । त्यही आक्रोशमा महिलाले आत्महत्या गरेको हुनसक्छ ।’
इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको प्रारम्भिक अनुसन्धानले आगो लगाएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छन् । गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले आत्महत्याको आशंका गरिएपनि घटनाबारे थप अनुसन्धान भइनरहेकाले अनुसन्धान पुरा नहुञ्जेल थप केही भन्न नसकिने बताए । उनले भने – थप जानकारी अनुसन्धान पुरा भएपछि बाहिर आउने छ ।
आफनो नाम बताउने सर्तमा घटना बारे जानकारी दिएका केही स्थानीयले भने युवतीले शरिरमा आगो लगाएको लगभग ५ देखि १० मिनेटमा नै मृत्यु भएको परिवारजनले बाहिर भन्नुले हत्याको आशंका जन्माएको बताएका छन् ।
मंगलबार अधिकारकर्मीहरुको एक टोली घटना अध्ययन गर्दा घटना प्रकृतिले महिलालाई पहिले नै मारेर हत्या लुकाउनलाई आगो लगाई शरिर जलाएको हुन सक्ने शंका प्रकट गरेका छन् ।
घटनाको सम्पूर्ण विवरण बाहिर सार्वजनिक गरिनसके पनि तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स)का सिरहा प्रतिनिधि दिलिप कुमार सिंहले भने –‘युवतीले आत्महत्या गरेको भनिएको कोठाको ढोका भित्रबाटै लगाइएको र सो कोठा बाहिर निश्किन सकिने गरी माथिल्ला तल्लामा पुग्ने प्वाल हुनु र त्यस प्वाल नजिक माथिल्लो कोठामा सलाई, आगो बालिएको सलाईको काटी, जलाइएको कागजको टुक्रा लगायतका शंकास्पद बस्तु भेटिएको छ । त्यसले पनि मृत्यु रहस्मय हुनसक्छ ।’
उनले भने– मृतकको सासुले युवतीले जिउदै अवस्थामा आफ्नो शरिरमा आफै आगो लगाएको बताएपनि युवतीले प्राण त्याग गर्ने बेलामा थुनिएको कोठा भित्र गर्नुपर्ने संघर्ष नदेखिनु, शव भेटिएको ठाउकै माथि बति बाल्न प्रयोग गरिएको विजुली तार राम्ररी नजल्नु र सोही छेऊमा रहेको प्वालको माथिल्लो भागको चारैतिर माथिल्ला तल्लामा जलेको कपडा लगायता बस्तुहरु भेटिनुले पहिले नै मरिसकेको शव माथि माथिल्लो तल्लाबाट मट्टितेल खन्याई आगो फालिएको हुनसक्ने देखिएको छ ।’
सरिताको मृत्यु पछि सुस्त मनस्थितिका भनिएका सिताराम र देवरानी मञ्जुदेवी सम्पर्क बारिह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाको दक्षिण सिमावर्ती गाविस माइती रहेकी मृतक सरिताको कुनै सन्तान नरहेको प्रहरीले जनाएको छ । उनको बुवा साधुसन्त रहेको, आमाको मृत्यु भइसकेको र दाजु बैदेशिक रोजगारीका लागि बैदेशिक रोजगारीमा खाडी मुलुक गएका छन् । आफ्नी नन्दको मृत्यु भएको खवर पाएर नन्दकी घर आएकी उनकी भाउजु स्थानिय छिमेकीको घरमा बेहोस् छिन् ।
युवतीको देवरसंग सम्बन्ध गरेको आरोपमा महिलाको रहस्मय मृत्यु भएको बाहिर सार्वजनिक भएपनि घटना भएको २४ घण्टासम्म सिरहा प्रहरीले कसैलाई पक्राउ गरेका छैनन् । सिरहा स्थित अधिकारकर्मीहरुले आत्महत्याको नाममा प्रहरीले घटनामा प्रभावकारी अनुसन्धान नथालेको प्रति दुःख व्यक्त गरे । मृतक युवतीको शव लहान अस्पतामा पोष्टमार्टम गरी मंगलवार अपरान्ह नजिकै रहेको मैनावती खोलामा दाहसंस्कार गरिएको छ ।
(लेखक सिंह थर्ड एलाइन्स सिरहाका प्रतिनिधि हुन् ।)