लहान नगरको विस्तार : आर्थिक विकास र पूर्वाधार
Advertise Here Book Now
![]() |
सुनिलकुमार साह |
पूर्वमा सप्तरी, पश्चिम धनुषा, उत्तर चुरे पहाड (उदयपुर) र दक्षिणमा भारतको सिमानाको विचैमा सगरमाथा अञ्चलको सिरहा जिल्लामा “लहान नगरपालिका” अवस्थित रहेको छ । वि.सं. २०३४ मा तत्कालिन लहान नगर पन्चायतको रुपमा स्थापना भई ९ वटा वडा र पछि १ वडा थप भई १० वटा वडामा लहान नगरपालिका फैलिएकोमा यसै वर्ष भएको मंत्रिपरिषदको निर्णयबाट लहान नगरपालिकाका आसपासका गाविसहरुलाई नगरपालिकामा समाहित गर्दै २२ वटा वडामा लहान नगरपलिकाको क्षेत्र विस्तार भएको छ । सिरहा जिल्लाकै ठुलो र पुरानो नगरपालिकाका रुपमा रहेको लहान नगरपालिकाले स्वरुप संगै आर्थिक र पूर्वाधारको समेत विस्तार गर्दै अघि बढदै गएको जो कोहीले महशुस गर्न थालेका छन् ।
अधिकांश सुविधाहरुबाट सम्पन्न लहान नगरपालिकामा सरकारी, गैर सरकारी, निजी लगायतका अन्य संसथानहरुको कार्यालय रहेको यस नगरमा सडक विभाग, मालपोत कार्यालय, सगरमाथा अचंल यातायात कार्यालय, आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उधोग कार्यालय, ईलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला बन कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई कार्यालय, डिभिजन सहकारी कार्यालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, लहान उद्योग वाणिज्य संघ, नेपाल लाईफ इन्स्योरेन्स, एलआईसी इन्स्योरेन्स, नेशनल लाईफ एण्ड जेनरल इन्स्योरेन्स, लहान सिटी जेसीज, लाइन्स क्लव अफ लहान सिटी, सगरमाथा यातायात व्यवसायिक संघ, नेपाल औषधि व्यवसायिक संघ, मारवाडी सेवा समिति लगायत अन्य दर्जनौं संघसंस्थाका कार्यालयहरु रहेका छन् भने तिन जिल्लालाई नियमन गर्नेगरि उच्च माध्यमिक विधालय परिषद्को कार्यालय समेत लहानमै यसैवर्षदेखि संचालनमा आएको छ ।
शैक्षिक दृष्टिकोणले हेर्दा मन्टेश्वरी वाल कक्षा देखि लिएर स्नात्तोतर तह सम्मको अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता नरहेको यस नगरमा मूख्य रुपमा लहान इन्टरनेशनल कलेज, सफटेक बहुमुखि कलेज, जे.एस. मुरारका बहुमुखि क्याम्पस, लहान प्राविधिक शिक्षालय, एभरेष्ट उच्च मा.वि., सलहेश क्याम्पस, विधापति क्याम्पस, पशुपति आदर्श उच्च मावि, लक्ष्मण ललिता उच्च मावि, समता विधालय लगायत अन्य दजनौं निजी आवासीय विधालय तथा उच्च मा.वि.हरु सञ्चालनमा रहेका छन् । व्यवसायिक रुपले पनि व्यापारिक पसलहरु, डिपार्टमेन्ट पसलहरु थपिदै गएको छ ।
त्यसैगरि संचार तर्फ जिल्लामा रहेको ७ वटा मध्ये ४ वटा एफ.एम. समाद, फुलवारी, समग्र र सौगात एफ.एम.हरु र आधा दर्जन साप्ताहिक, २ वटा दैनिक पत्रिकाहरु नव संग्राम र साक्षी पोष्ट दैनिक नियमितरुपमा लहान नगरपालिकाबाटै प्रशारण र प्रकासन भईरहेको छ ।
लहान नगरपालिका र यसका आसपासका गाविसहरुमा मठ मन्दिर तथा देवलायहरु पनि रहेका छन् । मूख्य मन्दिरको रुपमा दुर्गा मन्दिर लहान मुटुमा अवस्थित छ, जहाँ लहान नगर र यस क्षेत्र परिसरका हिन्दु धर्मावलम्विहरु वर्षको एक पटक दशै चाडमा ४० औं हजारको संख्यामा भिड लाग्ने गर्दछन् । त्यसैगरी लहानदेखि नजिकै रहेको शिशवनी र पडरिया गाविस (हाल लहान नगरपालिकामा समाहित भइसकेको) मा पनि वर्षको १ पटक बैशाख १ गतेकादिन सलहेश फुलवारी मेला लाग्ने गर्दछ । लहान नगर र यस परिसरका गाविसका अधिकांश वासिन्दाहरु लगायत छिमेकी मुलुक भारतका भक्तजनहरु लाखौको संख्यामा धार्मिक आस्था लिएर उक्त मेलामा आउने गर्दछन् ।


मधेस आन्दोलन :
मधेसी जनाधिकार फोरमको आन्दोलनको क्रममा २०६३ माघ ५ गते लहानमा युवा विधार्थी रमेश महतोको माओवादी कार्यकर्ताको गोली लागि हत्या भए पश्चात् उत्पन्न असहज परिस्थितीले लहानलाई मधेस आन्दोलनको विजारोपण भुमिको रुपमा समेत परिचित गराएको छ । २०६३/०६४ को मधेस आन्दोलनले लहानलाई ‘बन्दको शहर’ भनि समेत चित्रण गरियो । किनभने हरेक त्यस यता लहान आन्दोलन तथा बन्दको केन्द्रविन्दु नै बन्न पुग्यो । लहानभई बाटो काट्नेहरुपनि लहान कटेपछि आव बल्ल गन्त्वयमा पुगिने भयो भनि लामो साँस तान्ने गर्दथे ।
व्यापारीहरु लहानबाट पलायन हुदै विराटनगर, उदयपुर तर्फ आफनो व्यापार व्यवसाय लाई शिप्mट गर्न थाले । उधोगी व्यापारीहरु त्यसवेलाको अवस्था बाट हरेश खाई पलायन हुनेहरुपनि अहिले लहानको फेरिदै गएको आर्थिक चहलपहलका कारण पुनः लहानलाई आफ्नो कर्मथलो बनाउन थालेका छन् ।
फस्टाउँदो आर्थिक गतिविधि :
केही वर्षअघिसम्म लहानमा निजी बैंकहरु आउन डराइरहेका थिए । आर्थिक कारोवार गर्न नेपाल बैक लि. , राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैकका मात्र शाखाहरु लहानमा रहेका थिए । तर लहानको शान्ति सुरक्षामा २०६६/०६७ पछि क्रमशः सुधार हुदै गएपछि लहानमा एनआईसी बैकंले पहिलो शाखा खोल्ने हिम्मत देखाएर लहानमा पनि निजी बैकंको आवश्यकता रहेको प्रमाणित गरे पछि हाल निजी बैकंहरुको लहान आखाँको तारो बन्न पुगेको छ । त्यसपछि ग्लोवल आइएमई बैक, एनसिसि बैंक, एसविआई बैंक, एनएमवि बैंक, प्रभु बैंक, एच एण्ड वि डेभलपमेण्ट बैंकले शाखा विस्तार गरिसेकको छ भने लक्ष्मी, सनराइज, कुमारी लगायत आधा दर्जन ख्यातिप्राप्त बैकहरुले समेत लहानमा शाखा खोल्न नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त गरिसकेको अवस्था रहेको छ । बचत संकलन तथा कर्जा लगानी गर्दै आर्थिक कारोवारका लागि २ दर्जनभन्दा वढि सहकारी संस्थाहरु साना व्यापारीमाझ निकै लोकप्रिय छन् ।
त्यस्तै लघुवित्त सेवा प्रदान गर्ने स्वावलम्वन, छिमेकी, सृजना, निर्धन, मुहली, श्रमजिवी, नेपाल ग्रामीण विकास बैंक, फरवार्ड क्म्युनिटि, नेरुडे लगायतका लघुवित्त वित्तिय संस्थाहरुले सामुहिक जमानीमा महिलाहरुलाई कर्जा प्रवाह गर्ने गरेका छन् ।
विराटनगरबाट आई लहानमा वर्षौदेखि व्यवसाय गर्दै आउनुभएका अशोक अमात्यलाई पनि लहानमा बढ्दो आर्थिक गतिविधीले लगानी गर्न हौसाएको छ । व्यवसायी अशोक अमात्यले हाल लहानमा स्तरीय सेवा सहितको गोधुली होटल संचालन गरिरहनु भएको छ । मधेस आन्दोलनताका लहानको उधोग व्यवसायमा पारेको नकारात्मक प्रभावबाट आफु विचलित नभई व्यवसायलाई निरन्तरता दिइरहेको अशोक अमात्य लहानको बदलिएको मुहारबाट खुशि भएतापनि लहानमा ठुलो लगानीको निकै खाँचो र अभाव अझै रहेको बताउनुहुन्छ ।
त्यस्तै लहान उधोग वाणिज्य संघ लहानका अध्यक्ष सुनिलकुमार महतो पनि लहानको आर्थिक गतिविधीमा आइरहेको सकारात्मक परिवर्तनले लहानमा नयाँ लगानीको बाटो खोल्दै गएको बताउनु हुन्छ । अध्यक्ष महतोका अनुसार मधेस आन्दोलनताका लहानबाट पलायन भएका उधोगी व्यापारीहरु पुनः लहानमा व्यापार शुरु गर्ने र लगानी बढाउने योजना बनाउदै छन् । अध्यक्ष महतोले लहानमा फस्टाउदै गएको होटल व्यवसायका कारण वहाले आफनै लगानीमा शितल निवास होटल समेत संचालन गर्नु भएको छ । त्यसैगरी लहानमा अन्य सुविधा सम्पन्न होटलहरु सिम्रीक होटल र मारुती होटल प्रा.लि. संचालनमा आएका छन् भने लहानकै सबैभन्दा पुरानो होटल विशालले आफनो स्तोरोन्नतीकालागि पूर्वाधार थपिरहेको छ ।
लहानमा थपिदैगएको व्यापारिक कम्पलेक्स भवन, निजी बैकंहरुको आगमन र ठूलो लगानीमा बन्दै गरेको होटलहरुले पनि आर्थिक हिसावले लहानको भविष्य उज्जवल रहेको सबैले आकंलन गर्न सक्छन् । अन्त्यमा,
सिरहा जिल्लाकै व्यापारिक केन्द्रविन्दुको रुपमा रहेको यस लहान नगरले आप्mनो गुमेको साख फर्काउन भने केही समय अझै लाग्ने छ । पटक पटकको बन्द, हत्या , अपहरण , लुटपाट जसता अपराधिक गतिविधीका कारण थलथलिएको लहान अव भने उठने अदम्य साहसका साथ विस्तारीत हुदैछ, विशालीदै छ । तर यसका लागि लहान नगरवासीले समेत ठूलो योगदान दिन अझै बाकी छ । लहानलाई पूर्व इटहरी र पश्चिम हेटौडाको मध्यमा अवस्थित हरियाली, सुन्दर, शान्त, रमणीय, धार्मीक पर्यटकीय नगर बनाउन राज्यले निर्वाह गर्ने भुमिका त छदैछ , तर लहान नगरवासीले पनि आफनो नगरलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा सम्मानित, शैक्षिक रुपमा सुदृढ र साँस्कृतिक रुपमा शालिन शहरको रुपमा लहानलाई परिचित गराउन हामी सबै लहान नगरवासी कम्मर कसेर लाग्न अव ढिला गर्नुहुदैन । सहि समय यहि हो, समयले पर्खदैन ।