मधेसको सहारा थरुहटमात्रै ??
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २७/मधेसको सहारा थरुहटमात्रै ६ प्रदेशको सीमांकन आएपछि पश्चिम मधेस र केही पहाडी क्षेत्रमा विरोध भइरहेको छ । झट्ट हेर्दा अखण्ड सुदूरपश्चिम र कर्णाली स्वायत्त प्रदेशको माग गर्दै आन्दोलन चर्किएको देखिन्छ । तर, धेरैलाई चासो छ, अब मधेसले चाहिँ के गर्छ ?
सीमांकन विनाको ८ प्रदेशको विरोध गर्ने उपेन्द्र यादव र राजेन्द्र महतोहरुले ६ प्रदेशको पनि विरोध गरिरहेका छन् ।
 झन सीमांकनपछि थारुहरुको समेत असन्तुष्टिपछि मधेसले ८ जिल्लाको प्रदेशलाई स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न धेरैमा छ ।
उपेन्द्र यादव र राजेन्द्र महतोहरु सार्वजनिकरुपमा विद्रोहको धम्की दिइरहेका छन् । उनीहरुले एजेण्डा नमिले पनि मोहन बैद्यसँग सहकार्य थालेका छन् ।
तर, चारदलले गरेको सीमांकनको एउटा प्रदेशले मधेसी मोर्चालाई संकटमा पारेको छ । ६ प्रदेशको सीमांकनमा पर्सादेखि सप्तरीसम्मको प्रदेश नम्बर २ बनेको छ । यो मधेसी समुदायको एकल पहिचानमा आधारित छ र अरु जातीय तथा भाषिक समुदायले बहुपहिचान पाउँदा मधेसले भने एकल पहिचान पाएको छ । यसले मधेसी समुदायमा सान्तवना देखिएको छ ।तर, अब मधेसका दुई गुनासाहरु देखिन्छन् ।
पहिलो, झापा, मोरङ, सनसुरीको मधेसी बाहुल्य क्षेत्र पनि पाएको भए हुन्थ्यो भन्ने छ । दोस्रो, कैलाली र कञ्चनपुरलाई बाँके, बर्दियासहितको थारु बाहुल्य प्रदेशमा राख्नुपर्छ भन्ने मधेसीको माग छ ।
तर, झापा, मोरङ, सनसुरी मधेसमा हुनुपर्छ भनेर जनकपुर वा वीरगञ्जमा आन्दोलन गरेर हुँदैन । त्यहीँका जनताले आन्दोलिन हुनुपर्छ । झापा, मोरङ, सनसुरीका जनतामा सीमांकनको विरोधमा खासै देखिएका छैनन् । उनीहरुको मौन स्वीकृति देखिएको छ, जसले मधेसी समुदायलाई असामञ्जस्यमा पारिदिएको छ ।
यस्तो अवस्थामा सुनसरी र मोरङ चुनाव क्षेत्र भएका उपेन्द्र यादव र विजयकुमार गच्छदारले चाहेर मात्रै आन्दोलन हुने देखिन्न ।
दोस्रो मागका सन्दर्भमा कुरा गर्दा यो थारु समुदायको माग हो र यसमा सुदूरपश्चिमका केही नेताबाहेक धेरैको सहमति छ । कम्तिमा कैलालीको थारु बाहुल्य क्षेत्रलाई बाँके, बर्दियासहितको प्रदेशमा राख्नुपर्छ ।
उपेन्द्र, महन्थ ठाकुर र राजेन्द्र महतोले मधेसमा गर्ने भनिएको आन्दोलनको एक मात्र सहारा पनि अब यही थरुहट क्षेत्र मात्रै देखिन्छ । मधेसी मोर्चाले ६ प्रदेशको सीमांंकन सार्वजनिक भएपछि थारुले गर्ने आन्दोलनमा समर्थन गर्ने घोषणा गरेर त्यसको संकेत पनि गरिसकेको छ ।उसो त थारु र मधेसीको सम्वन्ध त्यति राम्रो छैन ।
मधेस आन्दोलनपछि मधेसमा ‘एक मधेस प्रदेश’को नारा लाग्यो । तर, थारुहरुले आफ्नो पहिचान खोज्दै एक मधेस प्रदेशविरुद्ध आन्दोलन गर्नुपरेको थियो ।एक मधेस प्रदेशको एजेण्डा थारु कल्याणकारिणीका राजकुमार लेखीसहितको थारु संघ संस्था र राजनीतिक दलहरुको आन्दोलनका कारण माग तुहिएको थियो ।
 तर, एक अर्काको स्वार्थ पूरा हुन्छ भने फेरि मधेसी र थारुवीच मोर्चाबन्दी सम्भव हुँदैछ । थारुहरुलाई कैलाली र कञ्चनपुर चाहिएको छ भने मधेसी मोर्चाले सीमांकनको विरोधमा मधेसमा आन्दोलन चर्काउनुछ ।
दलहरुले बेलैमा थारुहरुको जायज माग सम्बोधन गर्ने हो भने उपेन्द्र, राजेन्द्रले गर्ने भनिएको आन्दोलन सुरु नै नभई अन्त्य हुन सक्छ ।
नत्र, उपेन्द्र यादव र राजेन्द्र महतोहरुले प्रश्न गर्न सक्छन्, अखण्ड सुदूरपश्चिम हुने, अखण्ड मधेस (एक मधेस प्रदेश) किन नहुने ? त्यतिबेला दिने जवाफ शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टहरुसँग हुनेछैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्