अब के गर्ने होला केपी शर्मा ओली
Advertise Here Book Now
गच्छेदार पनि राजीनामा दिँदै, प्रम ओलीसँग पूर्व पञ्च र संघीताविरोधी मात्रै बाँकी
ऑनलाइन सिरहा डटकम असार ३१ । सत्तारुढ गठबन्धनबाट फोरम लोकतान्त्रिक पनि बाहिरिने भएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजय कुमार गच्छेदारले सरकार छोड्ने अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रीमण्डलमा पूर्व पञ्च र संघीयताविरोधीहरुको मात्रै बाँकी रहने देखिन्छ ।
फोरम लोकतान्त्रिक बाहेकका ओली मन्त्रीमण्डलका अन्य साना दलहरुले समेत प्रधानमन्त्री ओलीलाई साथ नदिने देखिएकोे छ । व्यवस्थापिका संसदमा मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का १४ जना सदस्य रहेका छन् ।
फोरम लोकतान्त्रिक श्रोतका अनुसार, राष्ट्रिय सहमतिका पक्षमा सहयोग गर्न फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग माओवादी र कांग्रेसले छलफल गरेका छन् । छलफलमा गच्छेदारले आफूले ओली सरकार गठन हुँदा समेत सहमतीय सरकारका लागि नै पहल गरेको र मधेसी मोर्चासँग असहमति राखेर समेत संविधानको कार्यान्वयनका लागि सरकारमा सहभागी भएको बताएका थिए । “म जहिले पनि संविधान कार्यान्वयनका लागि नै संघर्ष गर्दै आएको हो । तपाईहरुले पहल गर्नुस् म तपाईहरुसँगै हुनेछु” गच्छेदारले देउबा र प्रचण्डसँगको भेटमा भनेको श्रोतले जनायो ।
ओली सरकार गठन हुँदा प्रचण्डको पहलमा गच्छदार सरकारमा सहभागी भएका थिए ।
माओवादी केन्द्रसँगै सरकारबाट बाहिरन खोजेपनि संगठनात्मक जटिलताले त्यसो गर्न नसकेको गच्छेदारले बताएका थिए ।
“सरकारमा सहभागी हुँदा मधेसी दल आन्दोलनमा थिए । त्यतिखेर उनीहरुसँग छुट्टिएर म सरकारमा आएँ” गच्छदारको भनाई उद्दृत गर्दै श्रोतले भन्यो, “अहिले सरकार छोड्दा यो कुराले अप्ठ्यारो पर्ने भयो भनेर माओवादीसँगै छोड्न सकिन” उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गच्छेदारले ओली सरकारले संघीयता र संविधानका अन्य प्रावधान कार्यान्वयन गर्न नसक्ने स्पष्ट पारेका थिए । “ओलीलाई बारम्बार आग्रह गर्दा पनि उनले मधेसलगायतका मुद्दामा लचिलो हुन मानेनन तर मलाई नैतिक अप्ठ्यारो परेको कारण अहिले नै बाहिरन नसकेको मात्रै हो ।” उनले प्रचण्डसँग भनेको श्रोतले जनायो ।
माओवादी केन्द्र र कांग्रेसले अविश्वास प्रस्ताव नै दर्ता गराएपछि भने गच्छदारलाई यो मधेसी मोर्चासँग उनको विगतको सम्बन्धका कारण जोडिएका नैतिक संकटबाट मुक्ति मिलेको श्रोतको दावी छ ।
“अब गच्छेदारले पनि सरकार छोड्छन्” श्रोतले भन्यो ।
“गच्छदारले प्रधानमन्त्रीसँगै अन्तिम समयसम्म साथ दिन्छु भनेका छन् तर माओवादी केन्द्रको पछिल्लो कदम गलत भनेका छैनन् । यो नै उनको नैतिक संकट थियो ।” श्रोतले भन्यो ।
सम्भवतः गच्छेदारले अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै सरकारबाट समर्थन फिर्ता लिने छन् । गच्छेदारले समर्थन फिर्ता लिएपछि परिवार दललगायतका अन्य साना दलहरुले समेत समर्थन फिर्ता लिने बुझिन्छ ।
यो अवस्थामा प्रधानमन्त्री ओलीसँग राजतन्त्रका पक्षधर, धर्मनिरपेक्षताका बिरोधी रहेको राप्रपा नेपाल र संघीयताबिरोधी राष्ट्रिय जनमोर्चा मात्रै सरकारमा रहने देखिन्छ । ओली आफैले पनि नेपालका लागि संघीयताको अर्थ नभएको बताउँदै आएका छन् ।