‘स्थानीय तहमा मैथिली भाषा प्रयोगमा ल्याउनुपर्छ: पत्रकार यादव
Advertise Here Book Now
राजविराज, १ मंसिर । मैथिली साहित्य परिषद्का सचिव समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले विश्वकै समृद्ध भाषाहरुमध्येको एक मैथिली भाषामाथि सरकारले उपेक्षा गर्दैआएको आरोप लगाएका छन् ।
‘मिथिला स्टुडेन्टको शाखा गठन एमव् मिथिलाक विकासमे युवाक भूमिका’ विषयक शुक्रवार आयोजित कार्यक्रमका प्रमुख अतिथि यादवले यस्तो कुरा बताएका हुन् । स्थानीय तहमा मातृभाषा मैथिलीलाई कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिँदै उनले भने ‘स्थानीय तहमा निवेदनहरु मैथिली भाषामै दिएर प्रयोगमा ल्याउनुपर्दछ, यसकालागि आ–आफ्नो स्थानबाट मैथिल युवाहरुको भूमिका खेल्नु जरुरी छ ।’
देशकै दोस्रो ठूलो भाषा मैथिली भए पनि राजनीतिक दलको प्राथमिकता अझैं पर्न नसकेको चर्चा गर्दै दैनिक जिवनमा मैथिलीको प्रयोगका साथै शिक्षाको माध्यम मैथिलीलाई बनाउन आम जनसमुदाय सचेत हुनुपर्नेमा जोड दिए । मैथिलीको भविष्य युवाहरुको काँधमा रहेकोले मैथिलीको विकासमा जुट्नु आवश्यक रहेको बताउँदै प्रमुख अतिथि यादवले भने ‘दहेज प्रथा, बालविवाह र विभेद विरुद्ध समेत युवाहरु सशक्त रुपमा उठ्नुपर्दछ ।’
कार्यक्रमका विशिष्ठ अतिथि स्थानीय समाजसेवी देबेन्द्र झाले मैथिली भाषा, साहित्य र कलाको विकासमा युवाहरुको सक्रियता बढ्नु सकारात्मक रहेको बताए । मैथिली गतिविधिमा आफुबाट हुनसक्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मैथिली सम्वन्धि कार्यक्रम जनजनमा पुर्याउनुपर्नेमा जोड दिए । मिथिला स्टुडेन्ट युनियन नेपाल सिरहा लहानको शाखा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गठन गरिएको छ ।
हनुमाननगर स्थित माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका बिच शाखा कार्य समिति एवम् सल्लाहकार समिति गठन भएको औपचारिक रुपमा घोषणा गरिएको हो । मो. हसन राजाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा आरती साह, सचिवमा सत्यनारायण पंडित र कोषाध्यक्ष चन्दा साह रहेका छन् ।
समितिको सदस्यहरुमा रबि शर्मा, राजेश शर्मा, नेहा राउत, विजय राम, राजकुमार यादव र सञ्जय मण्डल रहेका छन् । यसैगरी समितिको सल्लाहकारमा माधव कुमार गुप्ता, देबेन्द्र झा, महेश मेहता र राजेन्द्र मिश्र रहेका छन् । मिथिला स्टुडेन्ट युनियनका सचिव गजेन्द्र गजुरद्वारा सञ्चालित कार्यक्रमममा पत्रकार विद्यानन्द राम, गीतकार एवम् मैथिलीकर्मी श्रीराम मण्डल ‘भरोसी’, शिक्षक समेत रहेका कलाकार महेश महतो, मिथिला स्टुडेन्ट युनियन लहानका अध्यक्ष हृदयनारायण यादव, पूर्व अध्यक्ष दिनेश रसिया, कोषाध्यक्ष गायत्री सिंह, गायक तेजु मैथिल, हिरा महतो, रामनारायण साह, युनियन बिराटनगरका सचिव शिवम मिश्र, माधव कुमार समेतले मन्तव्य व्यक्त गरे ।