चुनाव नजिकिँदै गर्दा सिरहामा विष्फोटका घटनामा बृद्धि
Advertise Here Book Now

सिरहा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा सिरहामा चुवनाव प्रसार कार्यालय र उम्मेदवार लक्षित विष्फोट र गोली प्रहारको घटना बढेका छन् । 
मंसिर ८ गते सिरहाको क्षेत्र नं. ४ मा पर्ने मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको कार्यालय नजिकै भएको बम विष्फोटबाट शुरु भएको विष्फोट र गोली प्रहारको घटना बिहीबार उम्मेदवारको घर र चुनाव प्रचारको जीपसम्म आइपुगेको छ । पछिल्लो एक हप्ताको अवधिमा निर्वाचनलाई नै केन्द्रित गरेर हताहती नै हुनेगरी विष्फोटका घटना नभएपनि आधा दर्जनभन्दा बढी ठाउँमा भएका विष्फोटका घटनाले सर्वसाधारणमा भने त्रास बढेको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार काङ्ग्रेसको चुनावी आमसभालाई सम्बोधन गरेको भगवानपुरमै संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ का उम्मेदवार रहेका राजलाल यादव चढेको जीपमा नै बिहीबार राती गोली प्रहार भयो भने वाम गठबन्धनबाट सिरहा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेशचन्द्र दासको औरहीस्थित घर नजिकैको करेसा बारीमा शक्तिशाली विष्फोट भएको छ । 
त्यसअघि सिरहाको धनगढीमाई नगरपालिका ५ फुलकहाकट्टीमा फोरमबाट प्रतिनिधिसभा सदस्यका लागि २ नं. क्षेत्रका प्रत्याशी पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंह चढेको जीपमा कुकर बम भेटिएको थियो । निर्वाचन प्रसार प्रसारका लागि सिंह चढेको बा. ३ च ७६६१ नम्बरको जिपमा कुकर बम भेटिएको थियो ।
सुरक्षा व्यवस्था भरपर्दो : प्रहरी
दोस्रो चरण अन्तर्गत हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारको क्रममा विष्फोटको घटना हुन थालेपछि सिरहा प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार निर्वाचनको तयारी र मतदानको समयसम्म सर्वसाधारणलाई भरपर्दो सुरक्षा दिन जिल्लाका अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा दुई हजार तीन सय ५० म्यादीसहित दुई हजार दुई सय ५० नेपाल प्रहरी परिचालन गरिएको छ । त्यससँगै प्रहरी निरीक्षकको कमाण्डमा जिल्लामा २० जना प्रहरी रहने गरी रिजर्भ फोर्ससँगै हरेक गाउँ र नगरपालिकामा दुई/दुई वटाको दरले  ३४ वटा मोवाइल टोली परिचालन गरिंदैछ । 
मतदानको दिन मतदानस्थलको सुरक्षाको भित्री भागमा म्यादी र नेपाल प्रहरी, त्यसको बाहिर सशस्त्र र बाहिरी भागको सुरक्षा नेपाली सेनाले गर्ने गरी सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए । प्रहरी उपरीक्षक कोइरालाका अनुसार त्यसका अतिरिक्त निर्वाचन नहुञ्जेल सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाका ५० ठाउँमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अस्थायी विकेट टोली २४ घण्टा परिचालन गरिएको छ ।  
त्यसैगरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गोपाल गुरुङ्का अनुसार जिल्लाको १ र ३ नं. क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा राखेर पाँच÷पाँच वटा स्ट्रयाकिङ् फोर्स, आठ÷आठ वटा मोवाइल टोली र क्षेत्रभरी हेर्नेगरी डिएसपीको कमाण्डमा २० जनाको रिजर्व टोली खटाइएको छ । क्षेत्र नं. २ र ४ लाई अति संवेदनशील क्षेत्रको रुपमा राख्दै १०÷१० वटा मोवाइल टोली र पाँच/पाँच वटा स्ट्राकिङ फोर्स परिचालन गरिएको छ । त्यस्तै, जिल्लाको समग्र निर्वाचन सुरक्षालाई कभर गर्नेगरी नेपाली सेनाले भने जिल्लाको १३ स्थानमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी सुरक्षाको प्रबन्ध मिलाएको नेपाली सेनाको चोहर्वा गणले जनाएको छ ।  -Ratopati

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्