कमिशनको चक्करमा लहानका सिँचाई प्रमुख भाडाको भवनमा कार्यालय सार्ने तयारी
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १७ कात्तिक । सिँचाई विकास डिभिजन कार्यालय सिरहाका प्रमुख श्यामनन्द यादवले लहानमा कार्यालय सँचालन बन्द गरी कमिशनको चक्करमा सिरहामा भाडाको घरमा कार्यालय सँचालन गर्ने तयारी गरिरहेको खुलासा भएको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को बैठकले एकीकृत कार्यालय स्थापनाको लागि सिँचाई विकास डिभिजन सिरहाको कार्यालय साविकको जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजनको कार्यालय लहान रहने स्थान तोकिएको छ ।
उता, मन्त्रीपरिषद्को निर्णयलाई लत्याउँदै प्रमुख यादवले अलगै सिरहामा कार्यालय खोल्न निजी भवन भाडामा लिएको छ । लहान स्थित रहेको कार्यालयमा तालाबन्दी गरी कार्यालय प्रमुख र दूई जना प्राविधिकलाई लिएर सिरहामा कार्यालय सँचालनको तयारी गरिरहेको छ । यता, १४ जना कर्मचारी लहानमै काम गर्न आएपनि कार्यालयमा तालाबन्दी गरेको जानकारीमा आएको छ ।
कार्यालय सँचालनको लागि लहानमा सबै कागजात रहेको छ भने हाजिरी रजिष्टर लिएर कार्यालय प्रमुख सिरहा पुगेका छन् । कार्यालय प्रमुख यादवको गैरजिम्मेवारी तथा नेपाल सरकारको निर्णयलाई लत्याएको भन्दै लहान नगरपालिकाले आपति जनाएको छ । नगरपालिका प्रमुख मुनी साहका नेतृत्वमा वडाध्यक्ष, नागरिक समाज, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुको एक टोली लहान स्थित कार्यालय आज अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा नेपाल सरकारको निर्णयलाई पालन गर्न र साविकको भवनमै कार्यालय सँचालन गर्न एक विज्ञप्ती समेत जारी गरेका छन् । सरकारले लहानमै कार्यालय सँचालन गर्न पत्राचार गरिएपनि सिँचाईका प्रमुख श्यामानन्द यादवले सिरहामा कार्यालय सँचालन गरेकोले आपती जनाएको छ ।
लहान स्थित सिँचाईको आफ्नै भवन रहेपनि प्रमुख यादवले सिरहामा घरभाडा लिएर कार्यालय सँचालन गर्ने कार्य अघि बढाइएको छ । एक स्रोतका अनुसार प्रमुख यादवले सिरहामा भवन भाडामा बार्षिक एक लाख कमिशन लिने गरेको खुलासा भएको छ । कमिशनको कारण लहान स्थित रहेको सरकारी भवनलाई छाडेर सिरहामा कार्यालय सँचालन गर्न लागिएको हो । प्रमुख यादवले प्रदेश सरकारको निर्णय रहेकोले सिरहामा कार्यालय सँचालन गर्न लागिएको दावी गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्