सिरहाका छोटी नाकाबाट सेटिङमा तस्करी
Advertisment

गोलबजार, १३ कार्तिक । कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको
तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पु¥याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।
पछिल्लो समय सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिरहाका छोटी भन्सार नाकामार्फत बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरुले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको छ ।
स्थानीय व्यापारीहरुका अनुसार सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिरहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) छन् । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) र सँगै नेपाल प्रहरी पनि छ ।
स्थानीयका अनुसार झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । यहाँ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । खैरटोका मूल भन्सारमा उपसचिवको नेतृत्वमा करिब एक दर्जन कर्मचारी छन् ।
चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीको सहयोगका लागि भन्सार परिसरमै इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी तैनाथ छ । ‘कर्मचारी र सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् ? स्थानीय एक व्यापारीले सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा भने, ‘दर्जनौं सुरक्षा पोस्ट पार गर्दै सहरका व्यापारीको गोदामसम्म तस्करका सामान पुगेका छन् ।’
पछिल्लो समय तस्करीका लागि चम्केको झाझपट्टी नाका पारी भारतीय ललमनिया बजारबाट दैनिक उपभोग्य सामानसँगै सुर्ती, राजनिवास, रजनिगन्धा गुट्खा आउने गरेको स्थानीयले बताए । उनीहरुका अनुसार यो नाकाबाट तस्करी हुने सामान राजमार्गका गोलबजार, धनगडी, लहानसम्म पुग्ने गरेको छ । यहाँको मुख्य भन्सार माडर हो । यहाँ भन्सार परिसरभित्रै सशस्त्र प्रहरीको बिओपी छ । जहाँ इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीलाई सहयोग पु¥याउन उपस्थित छ । व्यापारीहरुका अनुसार यो नाकाबाट तस्करी बेरोकटोक चलेको छ । दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहना र सुन तस्करी हुने गरेको उनीहरुको दाबी छ । यस्तै लत्ताकपडा, मोटर पाटर््स, खाद्य सामान, प्रतिबन्धित कुखुरा, सेतो अण्डा तस्करले सेटिङमा भित्र्याउने गरेका छन् ।
अर्काेतिर सिरहाको पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भिœयाउने गरेको माडरका स्थानीय बताउँछन् । ‘हामीले घर खर्चका लागि दुईचार किलो तेल, चिनी ल्याउँदा नाकामा तैनाथ सुरक्षाकर्मीदेखि भन्सार कर्मीसम्मले कचकच गर्छन,’ माडर बजारका एक चिया पसलेले भने, ‘तस्करले पोकाका पोका माल भित्र्याउँदा कोही चुइँक्क बोल्दैन ।’
माडर बजारका अर्का व्यापारी भन्छन, ‘राज्यको राजस्व चुहाएर कर्मचारीहरु रजाइँ गर्दैछन् ।’ राजस्व बढाउनेतर्फ नभई चुहावट गराएर भाग खानेतर्फ सबैको ध्यान गएको उनले बताए । यस्तै झाझपट्टी र खैरटोका नाका पनि पछिल्लो समय चम्केका छन् । यी नाकाबाट दैनिक उपभोग्य वस्तुसँगै सुर्ती र सुर्तीजन्य पदार्थ तस्करी भएर नेपाल भित्रिने क्रम बढेको छ । तस्करी भएर आएको सामान पहिले माडर बजार पुग्ने र त्यसपछि पटेर्वा लगायत बाटो प्रयोग भएर जिल्लाभरका बजारमा फिँजाइन्छ ।
व्यापारीका अनुसार नरगी अर्को चल्तीको नाका बनेको छ । भारततर्फको बजार पिपराहीबाट लत्ताकपडा र दैनिक उपभोग्य सामान नरगीमा भण्डारण गरिन्छ । यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पु¥याइन्छ । बोर्डर वारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ ।
भन्सार कर्मचारीहरु भने तस्करीका सामान नाकाबाट छिर्न नसक्ने दाबी गर्छन् । ‘हामीकहाँ आए जतिलाई भन्सार काटेरै पठाउँछौं । तस्करीका सामान हामीकहाँ छिर्दै छिर्दैन,’ खैरटोका भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद हमालले दाबी गरे ।’
तस्करी बढेकै कारण भन्सार असुली लक्ष्यभन्दा निकै कम छ । भन्सार कार्यालयका अनुसार गत असारमा लक्ष्यको ५६ प्रतिशत, साउनमा ६२ प्रतिशत र असोज २८ सम्म २० प्रतिशत मात्र राजस्व असुली भएको छ । दसैं र तिहारजस्ता पर्व सामान आयातको प्रमुख सिजन मानिन्छन् । तर, असोजमा राजस्व असुली २० प्रतिशत मात्र छ । भन्सार छलेर सामान भित्रिने क्रम बढेकोले भन्सार राजस्व असुलीमा भारी कमी आएको हो ।
राजस्व चुहाबट नियन्त्रण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठ भन्छन, ‘भन्सार प्रमुखको निस्क्रियताले असुली दर घटेको हो । भन्सार राजस्व असुली दर बढाउन उहाँ (भन्सार प्रमुख) सिरियस हुनुहुन्न,’ उनले भने, ‘व्यापारीलाई राजस्वको दायरामा ल्याउन गर्नुपर्ने काम नगरेपछि असुली दरमा कमी आइहाल्छ ! भन्सार प्रमुख राजस्व दर बढाउनभन्दा काठमाडौं बढी दौड्नुहुन्छ ।’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्