प्रचण्डले किन राखे बालुवाटारमै मेशिनगन
Advertise Here Book Now

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्री हुँदा सुरक्षाका लागि ६ दिन सम्म सरकारी निवास बालुवाटारमा मेशिनगन र एलएमजीसहित लडाकु दस्ता राखेको खुलासा गरेका छन्। तत्कालीन सेनापति रुक्मांगद कटवाललाई हटाएपछि सरकारी सुरक्षा संयन्त्रबाट थ्रेट महसुस गर्दै उनले शक्तिशाली हतियारसहित लडाकुलाई बालुवाटारमा सुटुक्क झिकाएका थिए।
prachanda12_348209245
बाहिर सुनिने गरी भृकुटीमण्डप सभाहलमा आयोजित प्रशिक्षणमा प्रचण्डले बालुवाटामार केही दिन लडाकुका हतियार लुकाएर राखेको खुलासा गरेका हुन्। ‘मर्नै परे पनि एकछिन लडेर मरौं भन्ने लाग्यो। ६ दिनसम्म एलएमजी र मेसिनगन रातिराति बालुवाटारमा लगेर राखियो’, दाहालले भने।
प्रधानमन्त्रीको हैसियतमा प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय संवैधानिक राष्ट्रपति रामवरण यादवले उल्ट्याइदिएको प्रसंग पनि दाहालले कोट्याए। ‘म सिंहजस्तो प्रधानमन्त्रीलाई मुसाजस्ता राष्ट्रपतिले फालिदिए।
त्यो सेना, प्रशासन र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको तामेलीबाहेक केही थिएन’, उनले भने। प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेपछिका ६ दिन आफूले आफ्नो सुरक्षाका लागि माओवादी लडाकुलाई एलएमजी र मेसिनगनसहित रातिको समयमा बालुवाटारमा लगेर राखेको पनि दाहालले स्वीकार गरे।
प्रमुख प्रतिपक्षी दल एमाओवादीले बाघजसरी गर्जेर जनतालाई आन्दोलनमा उतार्न अगुवा कार्यकर्तालाई निर्देशन दिएको छ। कांग्रेस-एमालेले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने प्रक्रिया थालेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएको एमाओवादी नेतृत्वले नेवा र ताम्सालिङका अगुवा कार्यकर्तालाई बुधबार काठमाडौंमा त्यस्तो निर्देशन दिएको हो।
दाहालले भने, ‘संविधानसभामा म हेपिएको छु, गाउँघरमा तपाईंहरू हेपिनुभएको छ। हामीलाई यति धेरै हेपिएको छ कि सहनसक्ने स्थिति नै छैन।’ संविधानसभामा आफ्नो टाउको फुटाउन खोजिएको भए पनि त्यो सम्भव नभएको दाहालले बताए। ‘मेरो टाउको फुटाउन खोजिएको थियो, फुटाएको भए राम्रो हुन्थ्यो। मेरो एकचोटि टाउको फुटाउन जरुरी छ’, दाहालले भने।
कांग्रेस-एमालेप्रति लक्षित गर्दै उनले भने, ‘विषालु सर्प दूध खुवाएर आफ्नो हुँदैन भन्थे। विषालु सर्पलाई लाठीले हानेर मार्नुपर्ने रहेछ। दयालु हुनु हाम्रै गल्ती हो।’ संविधानसभामा तोडफोड आफूहरूले नभएर कांग्रेस-एमालेले गरेको पनि उनले बताए। उनले भने, ‘संविधानसभामा हिंसाको सुरु कांग्रेस-एमालेले गरेका हुन्। हामीले त प्रतिवाद गरेकामात्रै हौं।’
प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई संविधानसभाबाट धकेलेर जनतातिर फर्काइदिएको भन्दै उनले त्यसका लागि धन्यवाद दिए। उनले भने, ‘हाम्रा लागि यो अवसर र चुनौती दुवै हो।’गणतन्त्र प्राप्तिको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको भूमिका खेलेर सफल बनाइदिएजस्तै अहिले ओली र कोइरालाले भिलेनको भूमिका निर्वाह गरेर आफ्नो आन्दोलन सफल बनाइदिने विश्वास पनि दाहालले व्यक्त गरे।
दाहालले आन्दोलनको प्रतिकार गर्न आउने सत्तापक्षका कार्यकर्तासँग प्रतिरोध गर्न पनि निर्देशन दिए। ‘आन्दोलनमा प्रतिकार गर्न भिजिलान्ते आएमा इँटको जबाफ पत्थरले दिनुको उपाय छैन।
प्रहरीलाई भिजिलान्तेको सुरक्षाका लागि राख्छन्। तर अहिले प्रहरी, सेना र प्रशासन कांग्रेस-एमालेका बफादार सिपाही होइनन्, हाम्रा पनि हुन्’, उनले भने, ‘ठूला हतियार लिएर हामीलाई मार्न नै आए भने हावाकावा भएर भाग्न हुँदैन। लाखौंलाख जनतालाई नयाँ सेना बनाएर प्रतिरोध गर्ने हो। स्याल मार्न बाघको खजाना लिएर जानुपर्छ।’
आन्दोलनको पहिलो निर्णायक मोर्चा नेवा र ताम्सालिङ, दोस्रो मोर्चा मधेस र तेस्रो मोर्चा लिम्बुवान र किराँत हुने पनि उनले बताए।आफूलाई संवैधानिक राष्ट्रपति बनाएर जेल पठाउन खोजेको भन्दै दाहालले आफू त्यसका लागि तयार नरहेको बताए। ‘जनता र क्रान्तिबाट विमखु बनाउनुपर्‍यो भने खोपीको देउताजस्तो राष्ट्रपति बनाउने हो’, दाहालले भने।
वरिष्ठ नेता बाबुराम भट्टराईले पनि एमाओवादीलाई बाघ र कांग्रेस-एमालेलाई स्यालको संज्ञा दिए। ‘हामी व्यक्तिवादी, अहंकारी, लोभीपापी भएर बिग्रिएका हुन सक्छौं तर कांग्रेस-एमालेजस्ता स्यालभन्दा हामी माथि नै छौं। जति बिग्रिए पनि बाघको बच्चा बाघ नै हुन्छ’, भट्टराईले भने, ‘संवैधानिक कु गरेर मारिएको संविधानसभाको आत्मालाई बचाएर जनताका पक्षमा संविधान बनाउने सम्भावना अत्यन्तै न्यून छ।’
संविधानसभालाई जनताका पक्षमा ल्याउन संघर्ष गर्नुपरेको पनि उनले बताए। ‘केही महिनाभित्रै फैसला हुनेवाला छ’, उनले भने, ‘म त संघर्षका लागि पश्चिमका पहाडमा झोला बोकेर हिँडें, तपाईंहरू पनि नेवा-ताम्सालिङमा आन्दोलन उठाउन लाग्नुहुनेछ।’ त्यति भनेर भट्टराई झोला बोकेर हिँडिहाले।
यो समाचार अन्नपुर्ण पोष्टको हो |

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्