मोर्चामा प्रचण्डको विश्वास गुम्दै
Advertise Here Book Now

madhesi-dal-netaसामूहिक राजीनामाको प्रस्तावपछि सबै आशंकित काठमाडांै, २१ माघ/१७ माघ शनिबारका लागि पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक स्थगित गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मोर्चामा रहेका १८ दलसँगको अनौपचारिक छलफलमा भने, सत्तापक्षलाई अब संविधान निर्माण गर्नबाट रोक्ने एउटै अस्त्र भनेको ‘संविधानसभाबाट सामूहिक राजीनामा’ हो । अब हामी त्यसका लागि तयार हुनुपर्छ । अन्यथा दुईतिहाइले संविधान बन्छ ।’ एकाएकसंविधानसभा नै छाडेर बाहिरिने प्रचण्डको प्रस्ताव सुनेपछि मोर्चामा आवद्ध धेरैको ओठतालु सुक्यो । विभिन्न स्वार्थ पूर्तिका लागि एमाओवादीको फेरो समातेर पछि लागेका दलले संविधानसभा नै छाड्नुपर्ने अवस्था आउने कल्पनासम्म गरेका थिएनन् । प्रचण्डले संविधानसभा त्यागेर सडकमा निर्णायक आन्दोलनमा उत्रिनुपर्ने बताए पछि उनीहरू सहमत हुन सकेनन् । तत्कालै कुनै प्रतिक्रिया दिएनन्, बरु धेरैले पार्टीभित्र छलफल गर्ने भनेर प्रचण्ड प्रस्ताव ‘पेन्डिङ’मा राखिदिए । १८ माघ आइतबार बिहान पनि प्रचण्डले सोही प्रस्ताव मधेसवादी दलका नेताहरूसमक्ष राखे । अब संविधानसभाभित्रै बसेर कांग्रेस–एमालेलाई रोक्न नसकिने उनको भनाइ थियो । मधेसवादी दलका नेताले आइतबार दिउँसो मोर्चाको बैठक रहेको र त्यसमा यस विषयमा छलफल गर्ने आश्वासन प्रचण्डलाई दिए । तर आइतबार दिउँसोको मोर्चाको बैठकमा कुनै पनि नेताले संविधानसभाबाट बाहिरिने विषय उच्चारणसम्म गरेनन् । बरु मोर्चाको बैठकमा एमाओवादीको पुच्छर भएर हिँडिरहँदा मोर्चा नै मधेसमा अलोकप्रिय हुन लागेको भन्दै चर्चा भयो । कार्यशैलीका विषयलाई लिएर मोर्चाका संयोजक विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भनाभनकै अवस्था आयो । संविधानसभाबाट बाहिरिने आफ्नो प्रस्ताव सबैबाट अस्वीकृत भएको बुझेपछि प्रचण्डले आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले संविधानसभाबाट बाहिरिने निर्णय गरेका छैनौं । तर सत्तापक्ष बहुमतीय प्रक्रियाबाटै संविधान निर्माण गर्न अघि बढिरह्यो भने हामी संविधानसभामा नफर्कन सक्छौं ।’ मोर्चामा अविश्वास बढ्यो संविधानसभाबाट बाहिरिने प्रचण्ड प्रस्तावपछि मोर्चाका नेताहरूबीच नै प्रचण्डको नियतबारे प्रश्न उठ्न थालेको छ । ‘आखिर प्रचण्डले के चाहेको हो भन्नेबारे हामी पनि अब अन्यौलमा परेका छौं,’ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका एक वरिष्ठ नेताले भने, ‘पहिलो संविधानसभा जस्तै दोस्रो संविधानसभालाई पनि असफल बनाउने खेलमा प्रचण्ड लागेको हामीलाई पनि अब महशुस हुन थालेको छ ।’ ‘मधेसी जनतालाई अधिकार दिने मामलामा कांग्रेस–एमालेभन्दा एमाओवादी बढी सकारात्मक रहेकोले मात्र हामी एमाओवादीको मोर्चामा बसेका हौं,’ ती नेताले थपे, ‘तर एमाओवादी हामीलाई बलिको बोको बनाएर संविधानसभा नै असफल बनाउन लागिपरेको भान भइरहेको छ ।’ मोर्चाको आइतबारको बैठक खुलेरै एमाओवादीको नियतबारे कुरा नचले पनि सांकेतिक रुपमा नेताहरूले विषय उठान गरेको बताइएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतका समिति बहिस्कार गर्ने एमाओवादी निर्णय मान्न आवश्यक नभएको भन्दै मोर्चाका अधिकांश नेताले माओवादीको नियतमाथि आशंका व्यक्त गरेका थिए । मोर्चाका संयोजका गच्छदारदेखि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसम्मले समिति बहिस्कार गलत हुने धारणा राखेका थिए । तर उपेन्द्र यादवले भने एमाओवादीले झैं आफूहरूले पनि बहिस्कार गर्नुपर्ने प्रस्ताव गरेका थिए । यादवले संसदीय समितिहरू समेत बहिष्कार गर्नुपर्छ भनेपछि गच्छदारले ‘एमाओवादीले जेजे गर्‍यो हामीले त्यही गर्नुपर्छ भन्ने छैन’ भन्ने जवाफ दिएको स्रोतले जनाएको छ । बैठकमा चर्काचर्की प्रचण्डको प्रस्तावको प्रभावका कारण मधेसी मोर्चामै नेताहरूबीच अविश्वास बढेको छ । आइतबारको बैठकमा मोर्चाकै नेताहरू चर्काचर्कीमा उत्रिए । केही नेताहरूले तपाईंकै बारेमा अनेक हल्ला चलिरहेछ भनेर गच्छदारबारे टिप्पणी गरेपछि चर्काचर्कीको वातावरण बनेको थियो । उपेन्द्र यादवले अहिलेको अन्यौल चिर्न सबै विषय क्लियर हुने गरी विज्ञप्ति जारी गरौं भन्ने प्रस्ताव राखे पनि गच्छदारले राजनीतिमा अनौपचारिक हल्लाको खण्डन औपचारिक रुपमा गर्नुको अर्थ नहुने बताएपछि केहीबेर दुई नेताबीच चर्काचर्की नै चलेको थियो । गच्छदार नरम नभएपछि यादव बैठक छाडेरै हिडेको स्रँेतको भनाइ छ । गच्छदारलाई कसिकसाउ आन्दोलन र मुठभेड रोक्न सम्वादको सूत्रधार बन्ने दाबी गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजय गच्छदारलाई उनकै मोर्चाभित्रबाट कित्ता क्लियर गर्न दबाब परेको छ । गच्छदारले आन्दोलनको साटो सहमतिको प्रयास थालेपछि मधेसी मोर्चामा स्पष्ट दुई धाँजा देखिएको छ । मोर्चाको बैठकमा गच्छदारलाई कित्ता स्पष्ट पार्न दबाब दिइएको एक नेताले बताए । बैठकमा गच्छदारलाई आफ्नो बाटो प्रष्ट पार्न आग्रह गरिएको एक नेताले जनाए । ‘मधेसी मोर्चाको लाइन भनेको निर्णायक आन्दोलनबाट मधेस स्वायत्त प्रदेशसहितको संघीय संविधान जारी गराउने हो, ती नेताले भने, ‘यसबारेमा गच्छदारजीले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।’ स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतो सत्तापक्षसँग सम्झौताहीन आन्दोलन गर्नुपर्ने पक्षमा गच्छदार ढलपल भएको आरोप लगाएका थिए । गच्छदार पछिल्लो समय कांग्रेस एमालेसँग निकट बनेको आरोप मोर्चाभित्रैबाट लागेको हो । तर, फोरम लोकतान्त्रिकका महासचिव रामनजनम चौधरीले भने गच्छदारले मुलुकलाई मूठभेड र गृहयुद्धमा जानबाट रोक्न जिम्मेवार नेताको भूमिका निर्वाह गर्न खोज्दा मोर्चाभित्रैबाट षड्यन्त्र भइरहेको बताएका छन् । ‘विजय दाइले सहमतिका लागि सबैलाई मान्य हुने विकल्प ल्याउँदा मधेसी मोर्चाभित्रैबाट प्रचण्डलाई दबाब दिएर असफल बनाइयो’ चौधरीले भने ‘गृहयुद्ध रोक्न उहाँले वार्ताको कुरा गर्दा अनेक आरोप लगाउन थालिएको छ ।’

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्