बम पड्काउँदै, कुटपिट गर्दै लुटपाट
Advertise Here Book Now
झापा, फागुन २ : भारतबाट हातहतियार सहित नेपाल प्रवेश गरेको डाका समूहले झापाको दक्षिणी पथरिया गाविसमा आज विहान सुत्ली बम पड्काउँदै लुटपाट मच्चाएको छ । पथरिया गाविस ४ स्थित बगान बजारमा रहेको बिष्णु खतिवडाको घरमा आएको १२–१५ जनाको भारतीय डाका समूहले घरधनी खतिवडा र खतिवडाको परिवारलाई निर्धात रुपमा कुटपटि गर्दै लाखौंको धनसम्पत्ती लुटेर लगेको छ । डाका समूहको कुटपिटबाट खतिवडा परिवारका चार जना घाइते भएका छन । घरधनी विष्णु खतिवडाको निधार, आँखा र पेटमा चोट लागेको छ । यस्तै तारा खतिवडाको बायाँ हात भाँचिएको छ भने तुलसा खतिवडाको ढाड र द्रोपदा खतिवडाको कानमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ । कालो पोशाकमा मुख छोपेर हातहतियार सहित आएको डाका समूहले बिष्णु खतिवडाको घरबाट नगद पाच लाख र ५ तोला सुन लुटेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डाका समूलले ढोकाको ग्रिल काटिरहेको आवाज थाहा पाएपछि घरबाट बाहिर निस्किन साथ बिष्णुलाई डाका समूहले निर्धात कुटपिट गरेका थिए । डाका समूहको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । ५ बर्ष अगाडी पथरियामा भुमिप्रसाद राजवंशीको घरमा लुटपाट मचाउन भारतीय डाका समूह आएका थिए । स्थानीयले प्रतिकार गर्दा तीन जना डाकाको मुत्यु भएपछि त्यस क्षेत्रमा केही समय लुटपाटका घटनाहरुमा कमि आएको थियो ।