उपेन्द्र यादव भन्छन्, शिर्ष नेता यस्ता
Advertise Here Book Now
सुशील कोइराला सुस्त मनस्थितिका नेता हुन् । कुनै गुण, विशेषता उहाँमा छैन । आजको दिनसम्म उहाँले कुनै प्रतिभा देखाउन सक्नुभएको छैन । उहाँको पार्टीभित्र त पहिले नै कस्ता मानिस हुन् भन्ने जानकारी थियो । पार्टीका नेताहरुले बुझेका थिएन होलान् । तर, सरकारको नेतृत्व गरेपछि सर्वसाधारण जनताले पनि जानकारी पाए कि सुशील कोइराला कस्ता मानिस रहेछन् भन्ने ।
विचार, चिन्तन, दर्शन केही पनि छैन् । सुस्त मनस्थितिका नेता । पार्टीभित्र आफुभन्दा प्रतिभाशाली व्यक्तिलाई थिचेर, दबाएर राख्न सफल भएका छन्, त्यो चाँही मान्नुपर्छ ।
प्रस्तुती हेर्दा लाग्छ उहाँमा हुती नै छैन । अधिकार आफ्नो हातमा हुँदा पनि केही गर्न नसक्ने हुतिहाराको रुपमा प्रस्तुत हुनुभयो । उहाँसँग म निक्कै पटक छलफल, बैठकमा बसेको छु । तर, मैले उहाँको कुनै विचार नै सुनेको छैन, कुनै तर्क सुनेको छैन । विचार, चिन्तन, दर्शनका आधारमा सुशील कोइरालाबाट कुनै कुरा आएको मैले पाएको छैन । उहाँ अडान विहीन नेता पनि हो । ‘यति गर्नुस्, मेरो सहयोग रहन्छ’ भनेर कसैले भन्यो भने पनि उहाँ त्यो काम गर्न सक्नु हुन्न ।
तर, एउटा कुरा भने मान्नुपर्छ, उहाँले पार्टीभित्र रहेका आफु भन्दा निकैै प्रतिभाशाली व्यक्तिहरुलाई थिचेर, दबाएर राख्न सफल हुनुभएको छ । मैले कांग्रेसमा धेरै क्षमतावान, उर्जावान व्यक्तिहरु पनि देखेको छु । तर, ति सबैलाई सुशिल कोइराला दबाउन सफल हुनुभएको छ ।
केपी ओली, एमाले अध्यक्ष
एमाले नेताहरुको बारेमा के भन्नु ? कम्युनिष्टका नाममा कमाउनिस्टमा लागेकाहरु धेरै छन् । नाम कम्युनिष्ट छ तर, नेताको चरित्र पुँजीवादी, अवसरवादी छ ।
विचार नै छैन, उखान तुक्का मात्रै रटेका हुन्छन् । अडान भन्दापनि हठमा बढी रमाउँछन् । अहिलेको परिवर्तन विरोधी नेतामध्येको एक । नवधनाढ्य वर्गको प्रतिनिधि ।
एमाले अध्यक्ष केपी ओली पछिल्लो समय नकारात्मक प्रतीक बनेर उदाउनु भएको छ । उहाँसँगको मेरो संगत सामान्य छ । जति संगत भयो, ती सबै उटपट्याङ खालका मात्रै भए । उहाँमा विचार नै छैन । ओली र विचार निक्कै टाढा–टाढा छन् । उखानका तुक्का बाहेक उहाँमा अरु केही विचार छ जस्तो मलाई लाग्दैन ।
उहाँ अडानमा भन्दापनि हठमा बढी रमाएको देख्छु । अहिलेको परिवर्तनका विरुद्धमा रहेका नेताहरुमध्ये उहाँ एक हुन् । उहाँले नवधनाढ्य वर्गको प्रतिनिधित्व गरेको देखिन्छ ।
पुष्पकमल दाहाल प्रचण्ड, एमाओवादी अध्यक्ष
तेस्रो आन्दोलन हाँकेका क्रान्तिकारी मानिस हुन् । तर, पछिल्लो समय उनमा स्थिरता देखिएन, अडान देखिएन । जुन क्रान्तिको अगुवाई गर्नु भएको थियो, त्यसलाई निरन्तरता दिन सक्नुभएन । पछि, सम्झौतामा आउनु भयो र ‘यू टर्न’ हुनुभयो । पछिल्लो समयमा उहाँको प्रस्तुती, अडान देख्दा लाग्छ, पहिले जनयुद्ध गर्ने यिनै प्रचण्ड हुन या अरु नै कुनै ।
ठुलो जुवा हारेको जुवाडे जस्तै भएका छन् । छिनछिनमा कुरा फेर्छन् । प्रचण्डको स्थानमा पुष्पकमल दाहाल आएको छ, प्रचण्ड हरायो । निर्णय भने गर्नसक्छन् ।
प्रचण्डले हिजो युद्ध गर्दा महान योद्धाको रुपमा देखा पर्ने, उनको एक निर्देशनमा हजारौं मानिसले ज्यानको आहुती दिने । तर, दिल्लीमा १२ बुँदे सम्झौता भइसकेपछि ति सबै सेलाए । त्यसैले लाग्छ, अहिले प्रचण्डको स्थानमा पुष्पकमल दाहाल आएको छ र प्रचण्ड हराएको छ । प्रचण्डको स्थानमा आएको पुष्पकमल दाहालसँग राजनीतिक स्थिरता नै छैन । उहाँले छिनछिनमा आफ्नो कुरा बदलिरहने बुझाई मेरो होइन, एमाओवादी कार्यकर्ताकै हो । एमाओवादीकै कार्यकर्तामा नेतृत्वले दरिलो अडान लिन सकेन, सही दिशा पहिल्याउन सकेन भन्ने गुनासो छ ।
अहिले मेरो प्रचण्डसँग भेट हुन छाडेको छ । जति भेट हुन्छ, पुष्पकमल दाहालसँग मात्रै हुन्छ । भेट हुँदा उहाँलाई निक्कै ठुलो जुवा हारेको जुवाडेको जस्तै भएको पाउँछु । उहाँको कुरा अरुले मात्र होइन, उहाँ आफैलाई पनि विश्वास नलागेको जस्तो लाग्छ । तथापि, उहाँ निर्णय भने गर्न सक्ने मानिस हो । त्यसमा उहाँलाई अन्य नेताले भेटाउन सक्दैनन् । उहाँ केही निर्णयमा राजनीतिमा माथि आउन निकै संघर्ष गर्नुपर्ने गरी चुक्नुभयो । उदारणकालागि सेनापति काण्ड लिए पुग्छ । ‘सेनापातिलाई अहिले नचलाउँ’ भन्दाभन्दै चलाउनु भयो । सेनापतिलाई हटाउन नसक्दा प्रधानमन्त्री पदबाट आफैले राजीनामा दिनुभयो, त्यो उहाँको रणनीतिक भूल थियो । त्यसको मेकअप गर्न सकिरहनु भएको छैन । यसो हुँदाहुँदै पनि नेपाली आन्दोलनमा प्रचण्डको ठुलो खाँचो छ । प्रचण्ड परिवर्तनको बाहक हुनुपर्छ । हो, प्रचण्डले जुन परिवर्तनका लागि लडेका थिए । शान्ति प्रक्रियामा आएपछि भएका परिवर्तनलाई संस्थागत गरेर अघि बढाउने कार्यमा चुके । र, ठुलो गल्ती गरे । अब पार्टी र देशलाई जोगाउन पुष्पकमल दाहाल फेरी पुरानै प्रचण्ड बन्नुपर्छ ।
शेरबहादुर देउवा, वरिष्ठ नेता, कांग्रेस
शेरबहादुर देउवा पश्चिम नेपालको प्रभावशाली नेता हुन् । उनको पश्चिम नेपालमा अझै पनि दबदबा छ । कांग्रेसको पनि प्रभावशाली नेता हुन् । बेलाबखत विचार पनि दिनुहुन्छ । प्रजातान्त्रिक समाजवादका कुरा धेरै गर्नुहुन्छ । विपीका कुरा गर्नुहुन्छ । समाजशास्त्रको कुरा गर्नुहुन्छ । उहाँलाई जायज लाग्यो भने ती कुरामा अडान पनि लिनुहुन्छ । ‘यस्तो गर्नुप¥यो’ भन्ने लाग्यो भने निर्णय गराएरै छाड्नु हुन्छ । त्यसैले कांग्रेसका अरु नेताको तुलानामा उहाँलाई सक्षम नेताको रुपमा लिन सकिन्छ । उहाँले कार्यकर्तालाई पनि संरक्षण दिएको देखिन्छ । उहाँसँग राजनीति गर्ने कला पनि छ । कहिले कही बिफल हुनु बेग्लै कुरा हो ।
माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा एमाले नेता
माधवकुमार नेपाल एमालेका अन्य नेताको तुलनामा बढी व्यवाहारिक हुनुहुन्छ । ‘बीचको बाटो समातेर अघि जाउँ’ भन्नुहुन्छ । वस्तुस्थितलाई सही रुपमा विश्लेषण गरी त्यसलाई हल गर्नेमा केन्द्रीत हुन्छन् । उहाँमा कुनै उत्ताउलोपन देखिदैन । विचार गरेर, निकै बुझेर मात्रै अघि बढ्ने बानी देखिन्छ ।
यति हुँदा हुँदै पनि उहाँले केही गर्न सक्नु भएको छैन । त्यो किन सकिरहनु भएको छैन, मैले बुझेको छैन । उहाँ सरकारको नेतृत्वमा पनि पुग्नुभयो, त्यहाँ रहेर पनि केही गर्न सक्नु भएन ।
बाबुराम भट्टराई, वरिष्ठ नेता एमाओवादी
बाबुराम भट्टराई आफ्नो भिजनमा ‘क्लियर’ हुनुहुन्छ । आफुले बोलेको कुरामा अडान लिन सक्छन् । पार्टी बाहिर पनि विद्धान नेताका रुपमा चिनिनु हुन्छ । तर्क गर्न सक्ने शैली छ । बैठकमा कुनै पनि विषयमा कुरा गर्दा तर्कका साथ प्रस्तुत हुने गर्नुहुन्छ । तर, समस्या के हो भने विद्वान हुने बित्तिकै सबै काम गर्न सकिँदैन । उहाँमा पनि त्यही समस्या देखिन्छ ।
नेताले पार्टी संगठनलाई पनि ध्यान दिनुपर्छ । कार्यकर्ताको संरक्षण पनि गर्न सक्नुपर्छ । कार्यकर्ताको समस्या बुझ्न सक्नुपर्छ । तर, एउटा विद्धानले ती सबै काम गर्न सक्दैन र भ्याउँदैन । उ पार्टीको विचार सिद्धान्त निर्माणमै केन्द्रीत हुनुपर्छ । त्यसलै मलाई लाग्छ, भट्टराई पार्टीको नेता हुन सक्दैनन् । नेता त प्रचण्ड नै हुन् । भट्टराईमा नेतामा हुनुपर्ने गुण देखिदैनन् । प्रचण्डले गर्ने काम बाबुरामले गर्न सक्दैनन् । मलाई लाग्छ, प्रचण्डको स्थानमा बाबुराम वा अरु कुनै नेता भएको भए एमाओवादी यो भन्दा बढी दुर्दशामा जान्थ्यो ।
मोहन वैद्य किरण, अध्यक्ष नेकपा–माओवादी
मोहन वैद्य किरण ठुलो त्याग, तपस्या र लामो संघर्ष गरेर आएका मानिस हुन् । तर, देशकाल, परिस्थिति अनुसार उहाँले आफुलाई परिमार्जन गर्न सक्नु भएको देखिदैन । उहाँ अझै माक्र्सवादी किताबकै दुनियाँमा हुनुहुन्छ, त्यसबाट माथि उठ्न सक्नु भएको छैन । आफुलाई समय अनुसार चलाउन सक्नु भएको छैन । हकिकतको दुनियाँ र अहिलेको दुनियाँ फरक छ । उहाँ हकिकतको दुनियाँमै हुनुहुन्छ । संसार बदलिएको छ, तर उहाँले त्यसको कुनै अनुभुति नै गर्न सक्नु भएको छैन ।
वैद्यजीको प्रस्तुती हेर्दा लाग्छ, उहाँहरु आजको दुनियाँमा आउन अझै लामो समय लाग्छ । तथापि, उहाँ परिवर्तन चाहने, त्यागी र इमान्दार नेता हो । निष्कलंक व्यक्ति हो । परिवर्तन चाहिन्छ भन्ने भावना उहाँमा देखिन्छ तर, आफैलाई परिवर्तन गर्न सक्नु भएको छैन । समस्या यहीँनिर छ ।
झलनाथ खनाल, वरिष्ठ नेता, एमाले
झलनाथ खनाल निर्णय गर्न नसक्ने मानिस हुन्, स्पष्ट विचार पनि नभएको । आदर्शको कुरा बढी गर्ने, अरुलाई अर्ति दिने गर्नुहुन्छ । तर, आफु भने अरुको बहकाउमा लाग्नुहुन्छ । जोखिम मोलेर कुनै निर्णय गर्न सक्नुहुन्न ।
उहाँले कार्यकर्तालाई पनि खुशी राख्न सक्नुहुन्न । उहाँका सबै कार्यकर्ता रिसाएको मात्र देखिन्छ । पहिले जति कार्यकर्ता थिए, अहिले ति सबै छन् जस्तो लाग्दैन । पार्टीभित्र उहाँको पक्षमा कार्यकर्ता नै छैनन् भन्ने गत वर्षको महाधिवेशनले नै देखाएको छ । एक्लो नेताको रुपमा अघि बढ्दै गएको देखिन्छ ।
– रामहरि पाण्डे