रेल्वेको मुख्य स्टेसन महोत्तरीको बर्दिबासमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम/४ जेठ ।मुलुकको एकमात्र रेल सेवाको दुईतर्फका रेल मिलन हुने (जक्सन) महोत्तरीको बर्दिबासमा निर्माण हुने भएको छ। रेलवेको निर्माण हुने बडी लाइन (ब्रोडगेज) रेलमा जनकपुरमा मुख्य स्टेसन नभई बर्दिबासमा रहने र यात्रु चढ्न र ओर्लिन अल्पकालीन विश्रामस्थल (हल्ट) मात्र जनकपुरमा निर्माण हुनेछ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुपुलदेखि साँढे ३ सय मिटर दक्षिण रेलवे पुलको छेउ तथा राजमार्गदेखि करिव एक किलो मिटर दक्षिण जनता उच्च मावि नजिक स्टेशन रहने सरकारले निर्णय गरेको छ।

तर सरकारले टुङ्गो लगाएको स्थानमा स्टेशन स्थापना भएपछि बर्दिवास गाविसको संरचना टुक्रिने छ। गाविसको विकास रोकिने, बर्दिबासको अस्तित्व संकटमा पर्ने, सार्वजनिक भौतिक संरचाना प्रभावित बन्ने, विद्यालय प्रभावित हुने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। बर्दिबासका स्थानीयले रेल्वे स्टेसनलाई राजमार्गभन्दा ४ किलो मिटर दक्षिण मसनघटामा लगेर राख्नु पर्ने माग राखेका छन्।

मानवबस्तीलाई ख्याल मात्र गरिदिए हुन्छ भने हाम्रो साझा माग छ स्थानीय हरिप्रसाद दाहाले रेल्वेको जक्सन स्टेसन बने बर्दिबासको मानवबस्ती धरापमा पर्ने बताए। मसनघटामा रेल्वे स्टेसन राखे सरकार र स्थानीय जनतालाई फाइदा हुन्छ नागरिक समाजका गुञ्जबहादुर खडकाले राजमार्गभन्दा टाढा स्टेसन बनाउनु पर्ने बताए।

भारत सरकारको करिब १० अर्ब रुपैयाँको लागतमा निर्माणाधीन जयनगर (भारत)(जनकपुर(विजुलपुरा र भंगहा (महोत्तरी)(बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा एक दर्जन स्टेसन, हल्ट र जक्सन निर्माणाधीन छन्। रेल सेवा सुरु भएको ८० वर्षदेखि मुख्य स्टेसन रहँदै आएको जनकपुरमा भने अब हल्ट मात्र रहने छ। जनकपुरभन्दा ५ किलोमिटर पश्चिममा अवस्थित कुर्थामा मुख्य स्टेसन निर्माण गरिने छ।

एक कर्मचारीका अनुसार महुवा कपिलेश्वरवासीको अनावश्यक दबाब तथा असहयोगका कारण जनकपुरमा निर्माण हुने भनिएको स्टेसन कुर्थामा सारिएको हो। महुवा कपिलेश्वरवासीले स्टेसनका लागि आवश्यक जग्गा उपलब्ध गराउन अनावश्यक सर्त राखेर बन्दहडताल गरेका थिए।

नेपाल रेल्वे कम्पनी लिमिटेडका इन्जिनियर तथा साइट प्रमुख विनोदकुमार ओझाका अनुसार स्टेसन निर्माण गर्न कम्तीमा एक हजार ३ सय मिटर लामो जग्गा चाहिन्छ। जनकपुरमा ७ सय मिटर जग्गा अपुग भएकाले स्टेसन अन्यत्र सार्नु परेको हो।

निर्माणाधीन रेल मार्गलाई दृष्टिगत गरी इनरुवा, खजुरी, बैदेही, कुर्था, पिपराडी, सिंग्याही र भंगहामा स्टेसन निर्माण गरिने छ भने महिनाथपुर, देउरी परवाहा, जनकपुर र लोहारपटीमा हल्ट बनाइने छ। पूर्वपश्चिम राजमार्ग स्थत बर्दिबासमा जक्सन रहनेछ।

सन २०१७ सम्म रेल स्तरोन्नतिको काम सकिने लक्ष्य लिएर दुई ठेकेदारले प्रारम्भिक कार्य सुरु गरेका छन। महुवा कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको करिब २७ किलोमिटरको निर्माण कार्य भारतीय निर्माण कम्पनी नायक इन्फ्रास्ट्रक्चरले थालेको छ भने महुवा कपिलेश्वरदेखि भंगहासम्मको २२ किलोमिटरको काम नेपाली कम्पनी कालिका रमण कन्स्ट्रक्टर जनकपुरले सुरु गरेको छ।

इन्जिनियर ओझाका अनुसार दुवै ठेकेदारले पुराना लिक, ट्रयाक हटाएर माटो पुर्ने तथा सानाठूला पुलपुलेसा निर्माण कार्य द्रुत गतिमा भईरहेको छ। माटो र पुल पुलेसाको काम पूरा भएपछि ब्रोडगेज ओछ्याउन थालिने छ। स्टेसन निर्माणसमेत सुरु भइसकेको ओझाले बताए। भवन निर्माण भने अर्कै ठेकेदारको जिम्मामा जयनगर–जनकपुर–बर्दिबास रेल्वे विस्तारले पछिल्लो समयमा गति लिएको छ।निर्धारित समयमा काम पूरा गर्नको लागि निर्माण कम्पनीहरुले रेल्वे विस्तार कार्यलाई गति दिएको हो।

ठेक्का पाएको कम्पनीहरुले तीन वर्षभित्र जयनगर–जनकपुर–बर्दिबास रेलको सम्पूर्ण कार्य पूरा गर्नुपर्ने छ।

ठेक्का भइसकेको कामहरु तीव्र गतिमा भइरहेको रेल विभाग साइट कार्यालय जनकपुरले जनाएको छ।

भारतीय सीमामा पर्ने जयनगर स्टेशन निर्माणको काम करिब तीन चौथाई पूरा भइसकेको छ। भारत सरकारकै सहयोगमा नेपालमा भइरहेको निर्माण कार्यले केही महिना यतादेखि गति पाएको छ। ठेकेदार कम्पनीहरु नेपाली भएपनि कन्सलटेन्ट कम्पनी भने भारतको इरिकन इन्टरनेशनल रहेको छ। इरिकन इन्टरनेशनलको निगरानीमा रेल्वे विस्तार कार्य अघि बढिरहेको रेल विभाग जनकपुर साइटका प्रमुख ईन्जिनियर विनोद कुमार ओझाले बताए। निर्माण कम्पनीहरुले  तोकिएको समयमा काम पूरा गर्नको लागि भ्याएसम्मको प्रविधि प्रयोगमा ल्याएको छ।

रेल्वे विस्तार कार्यमा मजदूरको प्रयोग कम गरिएको छ साइट प्रमुख ओझाले अधिकांश काम प्रविधिको प्रयोग भइरहेको बताए। विस्तार कार्यको रेखदेखसंँगै जग्गा उपलब्ध गराउने लगायतका कार्यहरु रेल विभाग साइट कार्यालयले गरेको छ जग्गा उपलब्ध गराएको मुआब्जा वितरण कार्य साइट कार्यालय जनकपुरले जारी राखेको छ।

हालसम्म धनुषामा ८० प्रतिशत बढी मुआब्जा वितरण भइसकेको साइट प्रमुख ओझाले बताए। उनका अनुसार मुआब्जा वितरण कार्य अहिले पनि भइरहेको छ। जग्गाधनीहरुले आवश्यक कागजातका साथ आएपछि मुआब्जाको लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने गरेको छ।

१०–१५ जना जग्गाधनीहरु दैनिक मुआब्जाको लागि कार्यालय आउने गरेको उनले बताए। मुआव्जा वितरण कार्य महोत्तरीमा बाँकि छ। कार्यालयका अनुसार महोत्तरीको महदैया तपनपुरदेखि भंगहासम्ममा हालसम्म ८५ प्रतिशत जग्गाधनीले मुआव्जा प्राप्त गरिसकेको छ। दुवै जिल्ला गरी हालसम्म करिब २४ करोड रुपैया मुआब्जा वितरण गरिएको कार्यालयले जनाएको छ। महोत्तरीको भंगहादेखि बर्दिबाससम्म जग्गा अधिग्रहण भइसकेको छैन। भंगहादेखि बर्दिबाससम्म नयाँ सर्वे भएको र जग्गा अधिग्रहण प्रक्रिया अघि बढिसकेको छ साइट प्रमुख ओझाले बताए।

महदैया तपनपुर गाविसदेखि भंगहा गाउँसम्म निर्माण कार्य भइरहेको छ। लोहारपट्टी, सिंग्याही र खुट्टा पिपराढी गाउँमा माटो पुर्ने, कलभर्ट निर्माण कार्य भइरहेको छ। केही स्थानमा कलभर्ट निर्माण कार्य पूरा भइसकेको छ रेल विभाग साइट प्रमुख ओझाले बताए।

जिल्ला प्रशासन कार्यालयले महदैया तपनपुरदेखि भंगहासम्मका जग्गाधनीहरुलाई ७१ लाख ७५ हजार १ सय २५ रुपैयाँ मुआब्जा वितरण गरेका छन। रेल्वेबाट जिल्ला प्रशासन कार्यालयमा महदैया तपनपुरदेखि बर्दिवाससम्म रेल्वेका लागि अधिग्रहण गरिएका जग्गाहरुका मोवावजाका लागि २४ करोड ४९ लाख ७२ हजार ७९ रुपैया आएको छ।

पुल निर्माणको काम पनि केही स्थानमा सुरु भइसकेको छ। उनका अनुसार इटहर्वा गाविस अन्तर्गत वैदेहीदेखि पूर्व विमला नदीमा पुल निर्माण कार्य भइरहेको छ। ठाढीझिझा र देउरी परबाहामा पनि पुल निर्माणको लागि निर्माण  कार्य भईरहेको बताए।

माटो पुर्ने कार्यमा धनुषा र महोत्तरी गरी करिब दुई सय ट्रयाक्टर संचालन भइरहेको साइट प्रमुख ओझाले बताए। माटो पुरिएपछि मात्रै लीक ओछ्याउने काम थालिने छ। नेपाल रेल्वेले संचालन गरेको जनकपुर–जयनगर रेलको लीकको तुलनामा ब्रोडगेज रेलको लीकको उचाई बढाउने भएको छ।

रेल्वे विस्तार भएपछि भारतबाट भित्रिएको मालसामानहरु काठमाण्डौ लगायत देशको मुख्य बजार र शहरहरुमा पुर्याउन ढुवानी खर्च कम लाग्ने भएको छ। भारततर्फ जयनगर र नेपालमा महोत्तरीको बर्दिबास मुख्य जक्सन हुने भएको छ।

विसं १९९४ को रामजानकी विवाह महोत्सवको दिनदेखि विधिवत् प्रारम्भ भएको जनकपुर रेल्वेको निर्माण भारत सरकारको सहयोगमा भएको थियो। भारतका तत्कालीन अंग्रेज शासकले नेपालको तराईको जंगलबाट गोलिया साखु काठ ओसार्न नैरोगेज रेलसेवा प्रारम्भ गरेका थिए।

मर्मत सम्भारको आभावमा जीर्ण भएपछि २०५० देखि २०५३ सालको बीचमा भारतको राइटस नामक कम्पनीले ४ डिजल इन्जिन तथा १८ यात्रुवाहक कोच प्रदान गरेर टाट पल्टिइसकेको रेल सेवालाई पुनः सञ्चालनमा ल्याएको थियो। विगत दुई वर्षदेखि रेल सेवा पुनः बन्द छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्