यसुको प्रार्थना गर्नेहरु राम ! राम ! भन्दै भागे, चर्चमा मात्र ७४ जनाको मृत्यु
Advertise Here Book Now
काठमाडौँ महानगरपालिका–१५ सीतापाइलास्थित
ठाडो भर्याङमा भुवनमान शाक्यको घरमा सञ्चालित मुक्तिको दर्शन मण्डलीका ४८
जना र कामनपा वडा नं– ६ कपन, सरस्वतीनगरमा रहेको नवीनकुमार राजभण्डारीको
साततलेका नामले चर्चित घरमा सञ्चालित सुककोठ प्रार्थना भवनमा २६ जनाको
प्रार्थना गर्दागर्दै भूकम्पमा परी मृत्यु भएको हो ।
सुककोठ प्रार्थना भवनमा भूकम्पकै दिन
घटनास्थलमा २६ जनाको मृत्यु भएको थियो भने सोही भवनमा घाइते भई ओम
अस्पतालमा उपचाररत भीमादेवी भुजेलको २६ गते शनिबार उपचारका क्रममा मृत्यु
भएको प्रार्थनाका क्रममा दुर्घटनामा परी बाँच्न सफल सुवास सुब्बा लिम्बूले
बताउनुभयो ।
“प्रार्थनामा ८५–९० जना थियौँ, एकाएक आएको
भूकम्पले घर ढलेपछि भागदौड भयो, अहिलेसम्म २७ जना मरिसकेका छन्, धेरैको
राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ, म भने मुस्किलले बाँच्न सफल
भएँ”–उहाँले भन्नुभयो ।
इसाई धर्मावलम्बीले प्रत्येक आइतबार
चर्चमा भेला भई प्रार्थना गर्ने प्रचलन संसारभर नै छ । नेपालमा आइतबार नभई
शनिबार सार्वजनिक बिदा हुने भएकाले शनिबारकै दिन नेपालका इसाईले चर्चमा
भेला भई प्रार्थना गर्ने गर्दछन् ।
भूकम्पको दिन पनि शनिबार नै परेकाले
नेपालका अधिकांश इसाईहरू चर्चमा प्रार्थनारत थिए भन्ने बुझिएको छ । तर
भूकम्पमा परी काठमाडौँ बाहिरका चर्चमा कति जनधनको क्षति भयो भन्ने यकिन
विवरण प्राप्त हुन सकेको छैन ।
प्रार्थनाकै क्रममा भूकम्पले हल्लाउन
थालेपछि चर्च बाहिर भाग्न खोज्दा ‘प्रभु येशुले हामीलाई बचाउनु हुन्छ,
भाग्नु पर्दैन’ भनी प्रार्थनारतलाई बाहिर जान नदिएको भन्ने चर्चा पनि
सुनिएको छ ।
यसबारे मिलन टोल सुधार समिति सीतापाइलाका
अध्यक्ष भीमसेन पोख्रेल भन्नुहुन्छ– “प्रार्थना भइरहेका बेलामा भूकम्प
गएपछि चर्चका पाश्चरले येशुले बचाउनुहुन्छ, डराउनुपर्दैन भनेको ९९ घन्टापछि
चर्चबाट जीवितै उद्धार गरिएका विक्रम लामाले बताएका थिए, लामा मनमोहन
अस्पतालमा उपचार गराई स्वस्थ भइसकेका छन्” ।
भूकम्प जाँदा चर्चमा प्रभु येशुको
प्रार्थनामा रहेका नेपाली इसाईले अकस्मात् भूकम्पले हल्लाउन थाले पछि
आत्तिँदै ‘नारायण, नारायण, राम, राम’ भनेर सनातन हिन्दू देवताको नाम लिँदै
चिच्याउन थालेको एक नेपाली इसाईले आफ्नो परिचय सार्वजनिक नगर्न अनुरोध
गर्दै बताए ।
वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी
प्रभावित सिन्धुपाल्चोक जिल्लामा सरकारको समेत राहत नपुगेका बेलामा राहतका
नाममा चामलको बोराभित्र बाइबल राखेर पीडितलाई बाँडिएको सिन्धुपाल्चोकका
भूकम्पपीडित स्थानीयवासीले जानकारी दिएका छन् ।
“धर्म परिवर्तन गरेर क्रिश्चियन बनेमा
भत्केको कच्ची घरलाई निःशुल्करुपमा पक्की बनाइदिने प्रस्ताव आउन थालेको छ,
यस्तो प्रस्ताव राख्ने समूह भूकम्पपछि पटकपटक गाउँगाउँ घुमेको छ ” – धर्म
परिवर्तनको प्रस्ताव आएको सुनाउँदै सिन्धुपाल्चोक जिल्लाको मध्यभेगस्थित
बाडेगाउँ गाविसका कुलप्रसाद कोइरालाले रासससँगको टेलिफोन सम्पर्कमा
भन्नुभयो ।
दुई वर्षअघिसम्म काठमाडौँका होटेलमा
मजदूरी गरी जीवनयापन गर्ने समुदायका मानिस एकाएक लाखौँ रुपैयाँको राहतका
साथमा गाउँमा आइरहेका फटकशिला गाविसका श्यामकाजी श्रेष्ठले बताउनुभयो ।
धर्म निरपेक्ष घोषणा गरिए पनि २०६३ माघ १
गते जारी भएको नेपालको अन्तरिम संविधानको धारा २३ मा कसैले कसैको धर्म
परिवर्तन गराउन नपाउने व्यवस्था गरेको छ । त्यस धारामा भनिएको छ– ‘कसैले
कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी
कुनै काम व्यवहार गर्न पाइने छैन’ भन्ने वाक्यांश उल्लेख भएको छ ।
बाह्रबिसेका स्थानीयवासी चेतमणि
न्यौपानेले भन्नुभयो – “हिन्दू र बौद्ध धर्मावलम्बी गरी ९७ प्रतिशतभन्दा
बढी जनसङ्ख्या रहेको जिल्लामा आर्थिक प्रभाव र लोभलालचकै आधारमा धर्म
परिवर्तन गराउने काम नरोकेमा सहेर बस्दैनौँ, हामी सहनशील छौँ, धर्म
निरपेक्षता स्वीकारेका छौँ, तर यसलाई धर्म परिवर्तन गराउने लाइसेन्सका
रुपमा प्रयोग गरिए जस्तोसुकै कदम चाल्न तयार छौँ ।”
जिल्लाको दुर्गम र ऐतिहासिक धार्मिक गाविस
गुम्बामा गरिबीको रेखामुनि रहेका स्थानीय बौद्ध धर्मावलम्बीलाई लोभलालचमा
पारी धर्म परिवर्तन गराउने क्रम भूकम्पबाट राष्ट्र शोकमा डुबेको अहिलेको
बेलामा धेरै बढेको गुम्बा गाविसका स्थानीय लामा धर्म गुरु ग्याल्जेन लामाले
प्रतिक्रियामा बताउनुभयो ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला
अधिकारी सूर्यप्रसाद उपाध्याय संवेदनशील अवस्थामा संविधान र कानुनविपरीत
कसैले धर्म परिवर्तन गराउने उद्देश्यले कुनै काम गरेमा कानुनी कारबाहीको
दायरामा ल्याइने बताउनुहुन्छ ।
“भूकम्पबाट घरबार गुमाएकालाई राहत प्रदान
गर्न प्रशासन अथक प्रयासमा जुटिरहेका बेलामा मानवीय संवेदनालाई समेत
ध्यानमा नराखी यस्ता गतिविधि सञ्चालन गर्ने छुट कसैलाई छैन” – उहाँले
भन्नुभयो ।
यस सम्बन्धमा क्रिश्चियन महासङ्घका महासचिव सिबी गहतराजसँग प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।