अपराधी समूहकै सूचनामा खुल्‍दै अपराध
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम/जेठ २ - डेढ वर्षभन्दा लामो समयदेखि हराएकी दुलारीदेवी साहको कंकाल सप्तरीको जन्डौल ८ मा फेला परेको छ। हत्या, बलात्कारका घटनामा संलग्न आरोपितहरूको समूह आपसमा विभाजित भएपछि उनीहरूबाटै प्रहरीले पाएको सूचनाका आधारमा उत्खनन गर्दा मानव कंकाल फेला पर्न थालेको हो। तीन महिनाअघि पनि सुनसरीको इनरुवामा एकै परिवारका तीन सदस्यको कंकाल फेला परेको थियो।
२०७० मंसिरको अन्तिम सातादेखि हराएकी जन्डौल ६ की दुलारीदेवी साहको कंकाल उत्खनन गरी फेला पारिएको प्रहरीले जनाएको छ। सुराकीको कथनअनुसार कंकालको हातमा घडी, चाँदी र काँचका राता चुरा, खुट्टामा मोजा, कपालमा चिम्टी भेटिएकोले दुलारीदेवीकै कंकाल रहेको आधार बलियो भएको प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले बताए।
प्रहरी उपरीक्षक कर्माचार्यका अनुसार कंकालको पहिचान पुष्टि गर्न डीएनएलगायतको परीक्षण गरिनेछ। डीएनए परीक्षणका लागि उक्त कंकाल धरान पठाइने उनले जनाए। जन्डौल गाविस-८ मा करिब अढाइ वर्षअघि भएको भट्टराई दम्पती हत्याको आरोपमा जिल्ला अदालतले साहलाई दुई वर्ष कैदको फैसला गरेको थियो।
२०६९ पुस १६ गते राति ३६ वर्षीय डम्बरप्रसाद भट्टराई र उनकी पत्नी ३१ वर्षीया कौशिला भट्टराईको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले २०७१ जेठ २८ गते साहलाई दुई वर्ष कैद सजाय गर्नुका साथै उनका पति धीरेन्द्र साह र प्रेमी हरिहरपुर गाविस-६ घर भई बकधुवा गाविस-७ बस्ने रामचलितर यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
धीरेन्द्रसँग विवाह गर्नुअघि सकरपुरा ९ माइत भएकी दुलारीदेवीको डिमन ४ मा विवाह भएको थियो। जिल्ला प्रहरी कार्यालयले २०६९ पुस २८ गते हत्याका आरोपित यादवलाई गिरफ्तार गरेकोमा तत्कालीन जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलाशले २०६९ माघ २६ गतेदेखि पुर्पक्षका लागि थुनामा पठाएको थियो।
फरार आरोपित धीरेन्द्र साह भने तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलाशले २०७० जेठ ६ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।
आरोपित दुलारीदेवीलाई तत्कालीन न्यायाधीश आचार्यको इजलाशले २०६९ फागुन ३० गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएकोमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टेकराज नेपालको संयुक्त आदेशले २०७० जेठ २३ गते साधारण तारेखमा रिहा गरेको थियो।
दुलारीदेवीले जिल्ला अदालतबाट २०७० मंसिर २० गतेसम्म तारेख लिएको देखिन्छ, त्यसपछि उनी सम्पर्कविहीन रहेकी थिइन्। जंगलछेउमा रहेको बकधुवा गाविस-७ स्थित ब्रह्मनारायणथान मन्दिर नजिकै झाडीमा ज्यान मार्ने धम्की दिई दुलारीलाई बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले यादवलाई २०६९ साउन १७ गते पक्राउ गरेको थियो।
२०६८ सालमा पनि छिमेकीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमाओवादी कार्यकर्ता यादव उ बेला उम्किएका थिए। पछि एमाओवादीले उनलाई कारबाही गरी पार्टीबाट निष्काशन गरेको थियो।
बलात्कार मुद्दामा दुलारीदेवीका तर्फबाट साक्षी रहेका डम्बरप्रसाद भट्टराई दम्पतीको हत्यामा यादवसँगै दुर्भाग्यवश बलात्कारपीडित भनिएकी दुलारीदेवी र उनका पति धीरेन्द्र साहको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
दुलारीदेवीले अदालतमा रामचलितरविरुद्ध जबरजस्ती करणीको मुद्दा दिए पनि पछि आरोपितसँग मेलमिलाप गरेकी थिइन्। जसको न्यायका लागि भट्टराई दम्पतीले पहल गरी उनीहरूले नै बलात्कारीसँग मिलेर हत्या गरे।
हत्या घटनामा संलग्नमध्ये रामचलितर र धीरेन्द्र हाल कारागारमा छन् भने दुलारीको पनि हत्या भएको रहस्य सार्वजनिक भएको छ।
हत्या घटनामा संलग्न बाँकी अपराधीहरूले उनको हत्या गरी माटोमा गाडेको प्रहरीले जनाएको छ। यिनी संलग्न रहेको अपराधीहरूको समूहले जन्डौललगायत त्रिकोल, टिकुलिया र सुनसरीको इनरुवामा हत्या गरेको आशंका गरिएको छ।
यसैगरी २०७० सालको पुसमा हराएका जन्डौल गाविसका ५० वर्षीय इद्रिस नट मिया, उनकी ४५ वर्षीया पत्नी जैतुन खातुन र १७ वर्षीया छोरी सेरुन खातुन मियाको हत्यामा यही अपराधी समूहको संलग्नता रहेको बताइएको छ।
गत फागुन २ गते सुनसरीको इनरुवा-७ स्थित सकिल अन्सारी डेरामा बसेको सियाराम यादवको घरबाट प्रहरीले मिया परिवारका तीनजना सदस्यको कंकाल उत्खनन गरी फेला पारेको थियो।
इद्रिसका छोरी-ज्वाइँ सप्तरी बकधुवाका सकिल अन्सारीले ससुरासँग भएको पाँच कट्ठा जग्गा हडप्न सासू जैतुन, ससुरा इद्रिस र पत्नी सेरुनको हत्या गरी शव गाडेको अनुसन्धानमा खुल्न आएको छ।
त्रिकोल गाविस-५ की संविधानसभाको पछिल्लो निर्वाचनमा जनतान्त्रिक तराईमधेस मुक्ति टाइगर्स पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार एवं टाइगर्सका जिल्ला सदस्य ३९ वर्षीया निर्मला साहको २०७० चैत १ गते राति भएको हत्यामा समेत यही समूहको संलग्नता रहेको छ।
निर्मलाका पति जयनारायण साहको समेत २०६७ जेठ १ गते रहस्यमय ढंगले मृत्यु भएको थियो। प्रहरीका लागि चुनौती बनेको निर्मला हत्याकाण्डको अनुसन्धानका सिलसिलामा थुप्रै हत्या घटनाको कडी एउटै रहेको प्रहरीले पत्ता लगाएको छ।
गत २०६९ असोज १० गतेदेखि हराइरहेका टिकुलियाका सबुद मिया र उनकी बुहारी सगिरा खातुनको समेत यही समूहले हत्या गरी माटोमा गाडेको आशंका गरिएको छ। अनुसन्धानका लागि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्