जर्नेल–कर्णेलकै प्रमाणपत्र नक्कली!
Advertise Here Book Now

जर्नेल–कर्णेलकै प्रमाणपत्र नक्कली!ऑनलाइन सिरहा डटकम साउन ४/सैनिक सचिव विभागले सबै उच्च सैनिक अधिकृत (जर्नेल, कर्णेल) को शैक्षिक प्रमाणपत्र र नागरिकतामाथि अनुसन्धान गर्ने भएको छ। विभागले प्रमुख सेनानीदेखि माथिल्लो तहका सम्पूर्ण सैनिक उच्च अधिकृतलाई परिपत्र जारी गर्दै सक्कली शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको छ। जंगी अड्डाले पठाएको फाइल रक्षा मन्त्रालयले कडाइका साथ जाँच गर्न थालेपछि विभागले आफैं अनुसन्धान गर्न सैनिक उच्च अधिकृतको शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको हो।

प्रधानसेनापति गौरवशमशेर जबराले केही समयअघि बढुवाका निम्ति सिफारिस गरी पठाएका सैनिक अधिकृतहरूको शैक्षिक प्रमाणपत्र नक्कली र नागरिकतामा जन्ममिति सच्याएको भेेटिएपछि रक्षाले नाम फिर्ता गरेको थियो।

नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने 'सक्कली कागजात बुझाउन' जारी गरेको विभागको परिपत्रलाई सेनाको नियमित कार्य बताए। सैनिक स्रोतका अनुसार यसअघि सम्पूर्ण उच्च सैनिक अधिकृतसँग यसरी एकसाथ सक्कली कागजात मागिएको थिएन।

'कागजात (शैक्षिक प्रमाणपत्र, नागरिकता) नबुझाएका र कागजात अध्यावधिक गर्नुपर्ने सैनिक उच्च अधिकृतसँग विभागले कागजात मागेको हो,' सैनिक प्रवक्ता पोखरेलले नागरिकसँग भने, 'बढुवाका बेला यस्तो कागजात आवश्यक पर्छ।'

विभागले गत साता मात्र सम्पूर्ण सैनिक निकायलाई परिपत्र जारी गर्दै प्रमुख सेनानीदेखि रथीसम्मको सक्कली कागजात मागेको हो। प्रमुख सेनानीदेखि रथीसम्म ४ सय हाराहारीमा उच्च सैनिक अधिृकत छन्। विभागले जारी गरेको परिपत्रमा 'भर्ना मिति र जन्म मिति फरक भए सम्बन्धित निकायबाट प्रमाणीकरण गरी पेस गर्न' भनिएको छ।

सेनामा उच्च सैनिक अधिकृतहरूको बढुवा तथा पदावधि थप्दा सबैभन्दा पहिला सैनिक सचिव विभागले जाहेरी उठाउने गर्छ। विभागको जाहेरीका आधारमा प्रधानसेनापतिको सिफारिस रक्षा मन्त्रालय जान्छ। पदावधि रक्षा मन्त्रालयले थप्छ भने पदोन्नति मन्त्रिपरिषदले गर्छ। पछिल्लो समय अवकाशनजिक पुगेका प्रधानसेनापति जबराले पदोन्नति र पदावधि थपका लागि सिफारिस गरेका उच्च सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली र जन्ममिति तथा भर्ना मिति सच्याएको पाइएको थियो। त्यसपछि यस्ता धेरै नाम रक्षा मन्त्रालयले फिर्ता पठायो।

'प्रधानसेनापतिबाटै नक्कली शैक्षिक प्रमाणपत्र र मिति सच्याएको व्यक्ति बढुवाका लागि योग्य ठहरिएर सिफारिसमा पर्दा र ती नाम मन्त्रालयबाट अयोग्य भन्दै फिर्ता हुँदा सम्पूर्ण सेनाको छविमा आँच आउने देखियो। भविष्यमा सही व्यक्ति मात्र बढुवाका लागि सिफारिसमा परून् भन्ने उद्देश्यले मन्त्रालयमा नाम पठाउनुअगावै सत्यतथ्य थाहा पाउन सक्कली कागजात मागेका हौं,' स्रोतले भन्यो।

पछिल्लो समय सहायक रथीहरू ज्ञानेन्द्रजंग रायमाझी, प्रह्लाद थापा र भुवन खत्री, महासेनानी सुरेन्द्र सिजापतीको बढुवा तथा पदावधि थपका लागि प्रधानसेनापतिले सिफारिस गर्दा रक्षा मन्त्रालयले रोकिदिएको थियो। प्रधानसेनापतिले महासेनानी सिजापतीलाई ३ वर्ष पदावधि थपका लागि सिफारिस गरेका थिए, तर रक्षाले उनको नागरिकता नक्कली भएको भन्दै कारबाही गर्न जंगी अड्डालाई भनेको थियो। जंगी अड्डाले कारबाही नगरेपछि सिजापतीले असार २ गते सेवाबाट अवकाश पाए। उनीसँगै पदावधि थपका लागि सिफारिसमा परेका अन्य ९ जनाको भने पदावधि थपिएको थियो।

उपरथिमा बढुवाका लागि प्रधानसेनापतिले सिफारिस गरेका रायमाझी, थापा र खत्रीमध्ये रायमाझीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै रक्षाले रोकेको थियो। यस्तै, थापा र खत्रीका नाममा बहुविवाहको उजुरी परेपछि बढुवा रक्षाले रोक्यो। यी घटनासँगै रक्षासचिव ईश्वरीप्रसाद पौड्याल र प्रधानसेनापति जबराबीच सम्बन्ध चिसिएको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्