केपी ओलीलाई खुल्ला पत्र – ओली कमरेड, झापालीकै बद्नाम गर्नु भो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /आदरणीय एमाले अध्यक्ष केपी शर्मा ओलीज्यू, मलाई थाहा छ, अहिले तपाई कुन मानसिक अन्तरद्वन्द्वबाट गुज्रदै हुनुहुन्छ । तपाईको तन रोगी छ । कसैले नमस्कार गर्यो भने त्यो नमस्कार फर्काउनसमेत तपाईलाई सकस छ । हातमा पिडा छ । आराम गरेर बस्नुपर्ने बेलामा तपाई राजनीतिको धपेडीमा हुनुहुन्छ । मनमा वासना र भोग विलासका रहर अझै मेटिएका छैनन् । पदको मोहले तपाईलाई खर्लप्पै गाँजेको छ ।
तपाईलाई लागेको हुँदो हो, आफूभन्दा जुनियर नेता माधव नेपाल प्रधानमन्त्री भइसके । झलनाथ खनाल प्रधानमन्त्री भइसके । आफ्नो पालो कहिले आउने होला भन्ने तपाईको अभ्यन्तरको चिन्ता एउटा झापालीका नाताले म पनि महसुस गर्नसक्छु । एकपटक प्रधानमन्त्री बन्न पाए राजनीतिक जिवन सार्थक हुन्थ्यो भन्ने तपाईको अपेक्षा एक अर्थमा अस्वाभाविक पनि हैन ।
तर प्रधानमन्त्री पद भनेको ससुरालीले दाइजोमा दिए सरह पाइने कुरा हैन क्यार ओली कमरेड । त्यो त ईतिहास र आफ्नो भूमिकाले प्राप्त हुने कुरा हो । तपाईको उखान टुक्काले तपाईलाई प्रधानमन्त्री बनाउने हैन क्यार, त्यो त नायकत्व चरीत्रले मात्र प्रदान गर्ने हो ।
धन्न तपाई अहिलेको गणतान्त्रिक मुलुकमा सत्तारुढ गठबन्धनको नेता हुनुभएको छ । सत्तामा रजाई गर्न पाइरहनुभएको छ । यो नै तपाईका जिवनको परम उपलब्धी हो । यतिमै चित्त बुझाउनुस् । मनमा पदका अनावश्यक मोह पालेर आफुलाई आत्मग्लानीको अग्नीमा नहोम्नुस् कमरेड ।
यो मुलुकमा गणतन्त्र कसले ल्याइदियो ? गम खाएर सोच्नुस् त । जतिबेला यो मुलुकमा जनयुद्ध चलिरहेको थियो, त्यसबेला तपाई भन्नुहुन्थ्यो, ‘माओवादी ठेटनाहरुले केही थ्रिनट थ्री राइफल पडकाउँदैमा गणतन्त्र आउँदैन । माओवादी आतंककारी हुन । उग्रवामपन्थी भड्कावमा लागेका क्रान्तिकारी रोमाञ्चका खेताला हुन् ।’ आखिर तिनैले जनयुद्ध गरेर देखाए, देशमा नयाँ क्रान्ति ल्याए । तपाईको विश्लेषणले हावा खायो ।
जतिबेला २०६२÷०६३ सालको आन्दोलन चलिरहेको थियो, त्यतिबेला तपाई बालकोटको आफ्नो महलमा बसेर रेड वाईनको चुस्की लगाउँदै आफ्ना केही आसेपासे सामु भन्नुहुन्थ्यो, ‘बानेश्वरमा कोणसभा गरेर गणतन्त्र आउँदैन । यो आन्दोलनको काम छैन । राजा र संसदवादीको मिलाप हुनुपर्छ’ तपाई त्यसबेला राजासँग मिलेर उही पुरानै संवैधानिक राजतन्त्रवाला बासी सडे गलेको संसदीय परीपाटीकै वकालत गर्नुहुन्थ्यो । झलनाथ खनाल र बामदेव गौतमहरुले माओवादीसँग सम्पर्क बढाउँदा तपाईले माओवादीसँग मिलेर आन्दोलन गर्नु आत्मघाती हुन्छ, कुनै हालतमा माओवादीसँग मिल्नु हुँदैन भन्नु हुन्थ्यो । अमेरीकी राजदूत जेम्स एफ मोरीयार्टीसँग दिनहुँ भेटेर संसदवादी दल र माओवादीलाई मिल्न नदिने खेलमा लाग्नुभएको सूचना मैले पनि पाएको थिएँ ।
आखिर तपाईका फत्तुरहरु काम लागेनन् । तपाईका उखान टुक्काहरु मुलुकको राजनीतिमा चरीतार्थ भएनन् । गोंगवुमा आन्दोलनकारीको टाउको फुटाइरहँदा तपाईले भित्र भित्र ज्ञानेन्द्रसँग संवाद गरेको र आन्दोलन चर्किन नसक्ने भनेर भनेको चर्चा पनि बाहिर आएकै हो । ए साँच्चै, ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन आधा सच्चियो भनेर शाही सरकारको खेताला बन्न जाने काम पनि तपाईकै बरद बाहुलीबाट भएको त इतिहासमा दर्ज भइसकेकै छ ।
ओली कमरेड, एउटा झापालीका नाताले मलाई तपाईजस्ता नेता झापाली भएकोमा पनि खेद छ । राष्ट्रवादी चरीत्र त तपाईको महाकाली सन्धीताकै महाकालीमा बगेर गइसकेको थियो । त्यसबेला तपाई भन्नुहुन्थ्यो, ‘टनकपुर सन्धी भएमा देशै झिलिमिली हुन्छ । एक करोड युनिट बिजुली नेपालले पाउँछ ।’ पुलचोकमा प्ररायुसँघले आयोजना गरेको एक गोष्ठीमा एमालेका एक सामान्य समर्थकको हैसियतले म पनि सहभागी थिएँ । त्यो गोष्ठीमा तपाईले भन्नुभएको थियो, ‘महाकाली सन्धीको समर्थन गर्दा के हामीले गाँजा खाएका थियौं र ?’
तर खै त न त त्यो सन्धीबाट बिजुली आयो, न पञ्चेश्वर परियोजना बन्यो । आखिर तपाइहरुले गाँजा खाएकै ठहरियो कमरेड । तपाईहरुको हर्कतकै कारण एमाले पार्टी नै फुट्यो । कम्युनिष्ट आन्दोलनमा क्षती भयो । एमालेलाई तपाईहरुले भाई काँग्रेस बनाउनुभयो । एनजिओको दास बनाउनुभयो । एमालेलाई तपाईहरुले नेपाली राजनीतिमा लिंग नछुट्टीएको उभयचरमा परिणत गरिदिनुभयो । त्यो देख्दा आफूलाई एमाले समर्थक हुँ भन्न पनि मलाई लाज लाग्न थालेको थियो कमरेड, त्यसबेलादेखि नै ।
माओवादीहरुले हामी जस्ता राजवंशी, धिमाल, मेचे, कोचे आदि उत्पीडित सिमान्तकृत वर्गको उत्थानकै कुरा गरिरहेका थिए । त्यसकै लागि बलिदान दिएका थिए । आज आएर तपाई किन परिवर्तनका एजेन्डाको खिलाफमा उत्रनु भएको कमरेड ? हामी राजवंशी हौं । कुनैबेला झापाको भुभागमा हाम्रै पुर्खाहरु बस्थे । मधेशको भुमिमा हाम्रै आफ्नो संस्कृती, भाषा, भेषभुषा थियो । जमिनहरु हाम्रै थिए । पछि तपाईका पुर्खाहरु भारतको कन्नौज, कर्नाटक, कुमायु, गढवालतीरबाट मधेशतिर आए । हाम्रा पुर्खाको सोझोपनको फाइदा उठाएर हाम्रा जमिनहरु हडपियो । हामीलाई आफ्नै भूमिबाट विस्थापित गरियो । अहिले झापाका हामी आदिबासीहरु त्यहाँबाट धेरै विस्थापित भइसकेका छौं । हाम्रो भूमिमा तपाईहरु आएर अड्डा जमाएर बस्नु भएको छ । अनि हामीमाथि
नै हैकम जमाउन खोजिरहनुभएको छ । तपाईहरु सामन्त चरीत्रका मानिसहरु कसरी कम्युनिष्ट हुनुभयो ? त्यो त पाखण्ड मात्र रहेछ, आखिर तपाईहरुले जमिनदारी चरीत्र देखाएरै छाडनु भयो कमरेड ।
२०५२ सालमा माओवादीले हामीजस्ता शोषित वर्गकै पक्षमा र सामन्ती शासनका खिलाफमा जनयुद्ध छेड्यो । त्यसबेला मनमनै त्यो जनयुद्धमा लागौं की भन्ने इच्छा थियो । तर, त्यसबेलासम्म तपाईहरु यति सारै बिग्रिसक्नुभएको थिएन । यतिसारै प्रतिगामी कित्तामा गईसक्नुभएको थिएन । महाकाली सन्धीको जव तपाईले समर्थन गर्नुभयो, अनी बल्ल मेरो मनमा चिसो पस्यो । जव तपाईले जनयुद्धको विरोध गर्नुभयो, माओवादीलाई आतंककारी भन्नुभयो, मेरो मनमा चिसो पस्यो । हैन, झापा विद्रोहका नेता ओली कमरेड कसरी शाही कित्तामा लाग्नसक्छन् ? भन्ने भयो । अनी विस्तारै तपाईप्रतिको मेरो मोह भंग भएर आयो ।
आज म कुनै पार्टीमा छैन । एमालेमा पनि छैन । तटस्थ भएर परिस्थिति नियालीरहेको छु । कसरी झापाको एउटा विद्रोही नेता स्खलीत भएर एउटा खलनायकमा परिणत हुँदोरहेछ, इतिहासमा व्यक्तिका चरीत्रहरु कसरी बदलीदारहेछन्, कसरी सुर, सरा र सुन्दरीले इतिहास निर्माण गरेका चरीत्रहरुसमेत पतन हुँदारहेछन् भन्ने दृश्यहरु आफ्नै आँखाले देखीरहेको छु ।
ओली कमरेड, हामी राजवंशी समुदाय जसरी पनि संघर्ष गरेर आफ्ना अधिकार त लिएरै छाडनेछौं । हामी सीमान्तकृत वर्गको हितका लागि जसले संघर्ष गर्छ हामी उसकै पक्षमा लाग्नेछौं । तपाई २०४७ सालको संविधान ब्युताउँने खेलमा लाग्नुभयो । नयाँ संविधानमा तपाईले झापालाई पहाडमै गाभ्ने खेल खेल्नुभयो । २०४७ सालको संविधान नै ब्युताउँनु थियो भने किन संविधानसभामा प्रकृयाको नाटक गरेको ? २०४७ सालको संविधान त बनी बनाउ नै थियो, त्यसैलाई बल्खु दरबारबाट जारी गरे हुन्थ्यो । संविधानसभाबाट संविधान बनाउने भनेको त नयाँ नेपाल बनाउनका लागि हुनुपर्ने हो । पुरानै नेपालमा फर्कने हो भने तपाईहरु संविधानसभामा हैन, निर्मल निवास वा नागार्जुन दरबारतीर गएर ज्ञानेन्द्रसँग साउती मारे भैहाल्यो नी कमरेड ? २०४७ सालकै संविधान ब्युताउँने हो भने कमरेडहरुले कमल थापालाई नेता माने भैहाल्यो । फेरी ज्ञानेन्द्रलाई दाम राखेर ढोगे भैहाल्यो, संविधानसभा किन चाहियो ?
तपाईको अचेलको भूमिका देख्दा झापाका निम्न वर्गीय राजवंशी, मेचे, कोचे, धिमाल सबैले धिक्कारिरहेका छन् । तपाई नायक बन्नसक्ने मान्छे, आज आफ्ना कुत्सीत स्वार्थहरुका कारण खलनायक बन्नुभयो । झापाको एउटा राष्ट्रियस्तरको नेता खलनायक बनेको देख्दा यो झापाली खिन्न छ ।
हुन त झापा विद्रोहबाट उदाएका तपाई केपी ओलीले पछि झापा विद्रोहलाई नै गलत बताउनुभयो । मदन भण्डारीको रहष्यमय मृत्युपछि एमालेमा हावी हनुुभयो र तपाईमा विस्तारै पश्गामी सोचको विकास भयो । महाकाली सन्धीमा राष्ट्रघातदेखी ज्ञानेन्द्रको शासनमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सरकारमा जाने काममा तपाईको विशेष भूमिका रह्यो । २०६२÷६३ को आन्दोलनमा आन्दोलनकारीको विरोधमा अभिव्यक्ति दिदै हिंडने तपाई पार्टीमा अलोकप्रिय हुँदै जानुभयो र तपाईको अलोकप्रियताकै कारण झलनाथ अध्यक्ष भए । अहिले तपाईको छवी संघीयता विरोधी, परिवर्तन विरोधी र अग्रगमनविरोधीको रुपमा स्थापीत भएको छ ।
तपाई संघीयताका कट्टर विरोधी हुनुहुन्थ्यो । तपाईले नै विदेशीको चलखेलमा नेपालमा संघीयता थोपरीएको बताउँदै आउनुभयो । केही समयअघि आफनो निवास बालकोटमा भेला भएका साप्ताहीक संजालका पत्रकारलाई भन्नुभएको थियो, ‘विदेशी छौंडाहरुले सँघीयता लादेर बर्बाद गरे । देश टुक्रयाउने भए । पहिचान भन्दै हिंडछन, देश बिगार्ने भए ।’ थुक्क आज त्यही संघीयताको बुई चढेर तपाई हामी मधेशीलाई हेप्दैहुनुहुन्छ ।
तपाईले हामी नेपाली मधेशीलाई उत्तर प्रदेश र बिहारको भन्नुएछ । हामी मधेशीको भोटबाट चुनाब जित्नुभयो, अहिले आएर हामीलाई यूपी बिहारको भन्ने तपाई ? यो मधेशीमाथिको अन्याय हो । अत्याचार हो । तपाईको कृतघ्नता हो । आज सारा मधेश आन्दोलित छ । तर तपाई काठमाडौंमा लुकेर बस्नुभएको छ । धिक्कार छ, ओली कमरेड, धिक्कार छ ।
सक्नुहुन्छ भने समय छँदै सुध्रनुस् र सहमतीय राजनीतिको माध्यमबाट उदार छाती लिएर सबैलाई मिलाएर सबैको सहमतीमा परिवर्तनका एजेन्डालाई समेटदै संविधानमा आवश्यक संशोधन गर्नुस् । हैन भने झापालीहरुले तपाईकै विरोधमा जुलुस निकाल्नेछन् । झापामा आब छिर्ने हिम्मत नगरे हुन्छ, ओली कमरेड ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्