संविधान राम्रो छ भन्ने कुराको प्रतिफल व्यवहारबाट पाउनुपर्छः मन्त्री राई
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम op मंसिर २७/सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले संविधान राम्रो छ भन्ने कुराको प्रत्याभूति जनतालाई सेवा प्रवाहका माध्यमबाट गराइनुपर्ने बताउनुभएको छ । मन्त्रालय र सोअन्तर्गतका विभागीय प्रमुख बीचमा भएको मन्त्रालयको दुई वर्षीय कार्ययोजनासम्बन्धी छलफल कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री राईले “जनताले संविधान राम्रो छ भन्ने कुराको प्रतिफल व्यवहारबाट पाउनुपर्छ, संविधानको पाना पल्टाएर होइन, यसो गर्न सकिए मात्र राष्ट्रिय भावनाको जग बलियो हुन्छ”–भन्नुभयो । सार्वजनिक सेवासुविधालाई छिटो र सरल ढङ्गबाट जनतामा पु¥याएर नयाँ संविधानले व्यवस्था गरेका प्रावधान बुझाउन सरकारले दुई वर्षीय कार्ययोजना ल्याएको हो । “यसलाई सरोकारवाला निकायले छिटो कार्यान्वयनमा लैजानुपर्छ, यो कार्ययोजना मन्त्रिपरिषद्को बैठकले हालै पारित गरेको हो” सरकारका प्रवक्ता राईले भन्नुभयो । सम्बन्धित कार्यालयलाई तोकिएकै समयमा कार्ययोजनामा उल्लेख गरिएका काम सम्पन्न गर्नका लागि जनशक्ति परिचालन गर्न पनि उहाँले निर्देशन दिनुभयो । सचिव सुनिलबहादुर मल्लले कार्ययोजनामा समावेश भएका कार्यक्रम समयमा सम्पन्न गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । सहसचिव कविराज खनालले मन्त्रालय अन्तर्गतका निकायको कार्ययोजनामा छुटेका विषयलाई क्रमशः समावेश गरी कार्यान्वयनमा लगिने बताउनुभयो । उपसचिव देवी शर्माले मन्त्रालय र अन्तर्गतका निकायका दुई वर्षीय कार्ययोजनामा समावेश भएका विषयका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले विराटनगरबाट चालु आवको असार मसान्तसम्म क्षेत्रीय संस्करण प्रकाशन गर्न सकिने र नवलपरासीमा संस्थानले प्रक्रिया अगाडि बढाएको जग्गा भोगाधिकारमा पाएमा सोही समयमा क्षेत्रीय संस्करण प्रकाशन गर्न सकिने बताउनुभयो । राससले दृश्यसेवा दिने कार्ययोजनामा राष्ट्रिय समाचार समिति (रासस) मा दृश्य सेवा एकदेखि दुई वर्षभित्रमा सुरु गरिने तथा व्यावसायिक दृष्टिले महत्वपूर्ण रहेका राससका सम्पत्ति र स्थानको व्यावसायिक रुपमा उपयोग गरिने उल्लेख छ । तीन महिनाभित्र प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइन मार्फत प्रदान गरिने र नेपाल टेलिभिजनको सेवा कोहलपुरबाट क्षेत्रीय प्रसारण गरिने लगायत ५६ वटा मन्त्रालयका कार्ययोजना छन् । सो अवसरमा राससका अध्यक्ष कुलचन्द्र वाग्ले र महाप्रबन्धक निर्मला आचार्य, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईँलगायतको सहभागिता थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्