अब नाकाबन्दी हुँदैनः महतो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम बैशाख १ ।सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने प्रष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले विगतको नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारले भन्दा पनि जनताले सास्ती पाएको उल्लेख गर्दै वैशाख ६ गतेबाट हुने आन्दोलन कुनै किसिमको नाकाबन्दी नहुने बताएका हुन् । ‘अब हामी नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैर्नौं’, महतोले भने, ‘आन्दोलन सिंहदरबार केन्द्रित हुन्छ, यो आन्दोलन कसैको विरुद्धमा होइन, अधिकारप्राप्तिको लागि हो ।’ अध्यक्ष महतोले विगतमा मधेस केन्द्रित आन्दोलन गर्दा आफूहरुलाई गलत आक्षेप लगाएको उल्लेख गर्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित रहेर देशव्यापी रुपमा सशक्त बनाउने बताए । उनले भने, ‘अबको आन्दोलन जनता कम प्रभावित हुने र सरकारलाई अधिकतम दबाब पुग्ने खालको हुन्छ ।’ महतोले विगतमा सरकारलाई दबाब दिनका लागि बाध्य भएर आफूहरुले नाकाबन्दी गरेको भएपनि सरकारले सुनुवाई नगरेकाले अब हुने आन्दोलनले सरकारको घुँडा टेकाएर छाड्ने दाबी गरे । उनले थपे,‘हामी सिंहदरबार घेर्छौं, हाम्रा माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म हामी आन्दोलन गरिरहन्छौं ।’ महतोले प्रधानमन्त्रीले जनताको नाममा गरेको सम्बोधनवारे टिप्पणी गर्दै भने, ‘ओलीको सम्बोधन बकवास छ, यो औचित्यहिन छ, यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ ।’ ओलीले वार्ताको लागि आह्वान गरेर आन्दोलन तुहाउने नाटक मञ्चन गरेको भन्दै उनले थपे,‘हामीले वार्ताको लागि आन्दोलन स्थगित् गर्दा उहाँहरु कानमा तेल हालेर बस्नुभयो तर हामीले वार्ताको लागि फेरि अल्टिमेटम दिँदा कुनै वास्ता गर्नुभएन, त्यसैले उहाँहरु मुलुकलाई निकास दिने पक्षमा हुनुहुन्न, त्यसैले अब वार्ताको कुनै सम्भावना छैन ।’ नयाँ वर्षको सम्बोधनमा आफूहरुले प्रधानमन्त्री ओलीको राजिनामाको उपहार खोजेको बताउँदै सम्बोधनको नाममा सरकारले जनतालाई उपहास गरेको उनले बताए । मधेशीको माग नै नबुझेको भन्ने प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा जानु भनेको ओलीको अनुहार हेर्न जाने काम मात्रै हुने उनले बताए । यद्धपी अध्यक्ष महतोले आन्दोलन आफूहरुको कुनै चाहना नभएको स्पष्ट पारे । उनले थपे,‘आन्दोलन हाम्रो बाध्यता हो, दुई महिनासम्म पनि आन्दोलन स्थगित गर्दा वार्ता गरिएन, अल्टिमेटम दिएको अन्तिम दिनमा आएर सरकारले हामीलाई वार्तामा बोलाउनु भनेको जनतालाई झुक्याउने काम हो, यो वार्ताको नौटंकीमात्रै हो ।’ उनले बैशाख ६ गते पहिचान पक्षधरहरु मधेशी, जनजाती, आदिवासीलगायत सबै शक्तिहरुसँगको छलफलपछि बृहत्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए । क्लबका अध्यक्ष ऋषि धमलाले एकता, सहकार्य र सहमतिका साथ अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् । धमलाले भने,‘‘नयाँ वर्षसँगै मुलुकमा सहमति कायम गरेर अघि बढ्ने दिशातर्फ प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लाग्नुपर्छ, यसो भयो भने मात्रै मुलुक र जनताको भलो हुन्छ ।’ उनले शीर्ष नेताहरुलाई मुलुक र जनताको सुख, समृद्धि र विकासको लागि केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्