एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट चोरी, सम्बन्धित निकाय मौन
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, २३ चैत्र ।प्रवेशिका परिक्षा एसएलसीमा भाइबर र म्यासेन्जरबाट सिरहामा शिक्षक
तथा अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि
सम्बन्धित निकाय मौन देखिएको छ । परीक्षा हलमा सहभागी
विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट
प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका
शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट
गर्ने गरेको पाइएको छ । उक्त प्रश्नपत्रका आधारमा उत्तर तयार
गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा
केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट गर्नका लागि पठाउने
गरिएको छ । एसएलसी परीक्षाको पहिलो दिन देखिनै सिरहाको
अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जर मार्फत प्रश्न
आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तर विद्यार्थीसम्म पुर्याउने
गरिएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा
सदरमुकामकाको साथै लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा,
बन्दिपुर, फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा
केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चिट चोराउने गरिएको श्रोतको
दाबी रहेको छ । सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी
विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको
नाममा परिचय पत्र वनाई गार्ड वस्ने गरेको पाइएको छ । यसअघि पनि
जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट फर्जि गार्ड फेला
परेपनि सम्बधित निकायको मौनताको कारण उक्त कार्य रोकिएको
छैन् । परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम
रहेपनि जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५
जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि
परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ । परिक्षा
केन्द्रहरुका केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जि गार्ड
नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र परिक्षार्थी
परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको
सहजै अनुमान लगाउन सकिन्छ । यता, सिरहाका जिल्ला शिक्षा अधिकारी
महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही
गर्ने बताउनु भयो । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट
१३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुँदै छन् ।