अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम बैशाख ११ । नेपाली काग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएदेखि नै नेपाली राजनीतिमा सरकार परिवर्तनको विषयले चर्चा पाउन थालेको छ ।सत्ताका माहिर खेलाडीको रुपमा चिनिने देउवा पार्टी सभापतिसँगै संसदीय दलको नेतामा समेत निर्वाचित भएपछि अबको प्रधानमन्त्रीको रुपमा देउवाको चर्चा सुरु भयो ।अझै श्रीमतिको उपचारको नाममा अहिले नयाँ दिल्लीमा रहेर राजनीतिक भेटवार्तालाई तिब्रता दिएपछि यो विषयले अझै मुर्त रुप लिन थालेको छ ।देउवाले आफू विसुद्ध रुपमा श्रीमतिको उपचारमा गएको बताए पनि उनले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटेको र स्वराजले मधेससहित नेपालको समस्या समाधान गर्न देउवालाई नेतृत्व लिन सुझाव दिएको विषयपछि देउवाको भ्रमणपछि मुलुकको राजनीतिमा नयाँ परिस्थिति उत्पन्न हुने निश्चित जस्तै देखिन थालेको छ ।अझै शनिवार नै फर्किने गरी नयाँ दिल्ली गएका देउवा त्यहाँ राजनीतिक भेटवार्ता लम्बिएपछि आफ्नो भ्रमण लम्ब्याई मंगलबार मात्र फर्किने भएपछि अझै त्यस अनुमानलाई बलियो बनाएको छ ।यता प्रचण्ड र उनी निकटहरुले पनि सरकार परिवर्तनको कुरा गर्न थालिसकेका छन । सरकारको बचाउ गर्दै आएका एमाओवादी अध्यक्ष प्रचण्डले हिजो दाङमा पुगेर अबको सरकारको नेतृत्व आफूले गर्ने बताएर सरकार परिवर्तनकोलागि भित्र भित्रै भईरहेको खेलले मुर्त आकार पाउन लागेको अनुमानलाई पुष्टि गरेको छ । केही दि अघि उनी निकट एमाओवादी नेता गोपाल किरातीले रिपोर्टर्स क्लब नेपालमै आएर सरकार विस्थापनकोलागि पार्टीभित्रै आन्दोलनको घोषणा गरे । उनले अब यो सरकार धेरै दिन टिक्न नसक्ने घोषणा पनि गरे । उनले भावी प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई प्रस्तुत गरे । यसले पनि सरकार परिवर्तनकोलागि भईरहेको खेलहरुलाई पुष्टी गर्छ ।
स्रोतका अनुसार नेपाली काग्रेस पनि अब यो सरकारलाई धेरै दिन टिकाईराख्ने पक्षमा छैन । उ जसरी भएपनि केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने योजनामा छ । सकेसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गर्ने त्यो सम्भव हुन नसके एमाओवादी अध्यक्ष प्रचण्डलाई नेतृत्व दिएर भएपनि सरकारलाई विस्थापित गर्ने सोचमा छ ।
यसकोलागि काग्रेसभित्र अहिले स्थानीय निकायको निर्वाचन गराउन्जेलसम्म एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्व र त्यसपछि अर्को निर्वाचन गराउन देउवा स्वयमले नेतृत्व लिने गरी भएपछि सरकार विस्थापित गराउने विषयमा आन्तरिक छलफल सुरु भईसकेको छ ।
देउवा दिल्लीबाट फर्किएपछि यो विषयमा काग्रेसले औपचारिक रुपमा छलफल थाल्ने छ । काग्रेसले मधेसबादी दलहरुको पनि सहमति लिने प्रयास गर्ने छ । केपी ओली सरकारले मधेस समस्या समाधान नगरेको, समानान्तर रुपमा कालोबजारीको अर्थतन्त्र चलाएको, राज्यका अंगहरुलाई एमालेकरण गरेको जस्तो आरोप लगाउँदै समस्या समाधानकोलागि ठोस प्रतिबद्धता मधेसीसँग गर्ने पक्षमा काग्रेस छ ।