तीन बुँदे सहमतिपछि मधेसी मोर्चाको समर्थन दाहाललार्इ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन १९ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकमा लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चालाई अब बन्ने सरकारको समर्थन रहने गरी ३ बुँदे सहमति भएको हो। सहमतिअनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई शहिद घोषणा गरिनेछ । त्यस्तै मधेसी दलहरुले राख्दै आएको संविधान संशोधनको मागलाई सुनुवाई गर्न संविधान संशोधनको प्रकृया अघि बढाइनेमा सहमति भएको छ । तेस्रो सहमतिअनुसार मोर्चाले प्रचण्डको नेतृत्वमा बन्ने गठबन्धन सरकारलाई समर्थन दिने रहेको नेताहरुले जनाएका छन् । तीन बुँदे सहमति भए पनि तत्काल मोर्चा सरकारमा भने नजाने मोर्चा आवद्ध दलका नेताहरुले जानकारी दिएका छन् । कांग्रेस-माओवादीको गठबन्धनले मधेसी मोर्चा सहितको संघीय गठबन्धनबीच सहमतिको साझा रोडम्याप तयार पार्न बैठक शीर्ष नेताहरु सम्मिलित बैठक संविधानसभाकै शंकर हलमा भएको थियो । तीन पक्षीय कार्यदल स्तरमा सोमबार अबेर रातिसम्म बसेको बैठक केही विषयमा सहमति नजिक पुगेपनि कतिपय विषय टुंग्याउन सकेको थिएन । शीर्ष तहमा भएको बैठक कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चा तथा संघिय गठबन्धनका उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका शीर्ष नेता सहभागी थिए । निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ । निर्वाचन कार्यक्रमअनुसार मंगलबार साँझ नै उम्मेदवारको सूची प्रकाशित हुनेछ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ । संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्या (दुई निलम्बितसमेत ५ सय ९५) को बहुमत (२ सय ९८ सदस्यको समर्थन) प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ । संसद भित्रको दोस्रो प्रमुख दल नेकपा एमालले प्रधानमन्त्री पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने भएको छ । स्थायी समितिको मंगलबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । ‘एमाले अब जिम्मेवार प्रतिपक्षमा बस्छ उनले भने । पार्टी भित्र उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलको उपनेता सुवास नेम्वाङ कसैलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेर २६ मिनेटमा प्रचण्डले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहनुभएको छ । समर्थकमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित नेकपा संयुक्तका सांसद जयदेव जोशी, अखण्ड नेपालका सांसद कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा रहेका छन् । मधेसी मोर्चासँग तीन बुँदे सहमति भएपछि उनीहरुले पनि समर्थनमा हस्ताक्षर गरेका छन् । प्रचण्डले आफ्नो जीवनकालमा तेस्रो पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।यसअघि २०६५ सालमा उहाले पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको थियो । जसमा ४६४ मत पाएर प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । २०६७ मा भएको निर्वाचनमा प्रचण्डले दोस्रो पटक उम्मेदवारी दिनुभएको थियो ।तत्कालीन संसदको नियमावली अनुसार कसैले पनि बहुमत पाउन नसक्ने स्थिति नभएपछि सात पटक निर्वाचन हुँदासम्म पनि कसैले बहुमत ल्याउन नसकेपछि उहाले उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।दोस्रो पटकको उम्मेदवारी असफल भए पनि तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएको छ । यस पटक एमालेले पनि आफ्नो उम्मेदवार नदिने निर्णय थियो । बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र मतदानका आधारमा निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । संसदमा कांग्रेसको २ सय ७ र माओवादीको ८० (सभामुखले मतदान नगर्ने, एक निलम्बितबाहेक) सिट छ । गठबन्धनलाई आन्दोलनरत मधेसी मोर्चा (३९ सिट) ले समर्थन गर्ने जनाइसकेकाले दाहालका पक्षमा सहज बहुमत देखिन्छ । गठबन्धनलाई नेकपा (संयुक्त) लगायतका साना दलहरूले पनि समर्थन छ । बुधबार हुने निर्वाचनबाट दाहाल प्रधानमन्त्री चयन हुने निश्चित छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्