निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा शुरु
Advertise Here Book Now

लहान, कात्तिक २६ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरेको छ ।

सिरहाका ४३६ वटै मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वंयसेवक समूहमा विभाजन गरी तालीम दिन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट नमूना मतपत्रलगायतका मतदाता शिक्षा सामग्री आइसकेकाले तालीम लगत्तै गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने प्रमुख यादवले बताउनुभयो ।

निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगलगायत विभिन्न संघसंस्थाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

मतदाता शिक्षा कार्यक्रममा निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचनसम्बन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्थाबारे स्पष्ट बनाउने, हरेक दलका घोषणापत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्नेलगायतका विषयमा जानकारी दिइने गरिन्छ ।

यसैगरी समग्र विकास सेवा केन्द्रले पनि सिरहा र सप्तरीसहितका जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

युएसएडको सहयोगमा समग्र विकास सेवा केन्द्रले सिरहा र सप्तरीमा मतदाता शिक्षामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई दुई दिने तालीम दिएर गाउँगाउँमा खटाइएको छ ।

निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यका साथ सिरहाको लहान नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकालगायत विभिन्न स्थानीय तहमा मतदाता शिक्षाका लागि मतदाता शिक्षा स्वयंसेवक खटाइएको समग्र विकास सेवा केन्द्रका पूर्वाञ्चल संयोजक दुर्गाप्रसाद महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सप्तरीमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित नगर सभाहलमा शुरु गरेको मतदाता शिक्षा स्वयंसेवकको दुईदिने तालीममा २५ जनाको सहभागिता रहेको समग्र विकास केन्द्र सप्तरीका संयोजक अरुणकुमार चौधरीले जानकारी दिनुभयो ।

यसका साथै मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका विभिन्न स्थानमा नमूना मतदान र सडक नाटकसमेत गरिने संयोजक महतोको भनाइ छ ।

प्रतिनिधिसभाको चार र प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेको सिरहामा कूल तीन लाख ४४ हजार ३७० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्