जनकपुरमा गुण्डाराजको अन्त्य गर्छु, मधेसविरोधीलाई भगाउँछुः राजेन्द्र महतो
Advertise Here Book Now

१५ मंसिर, धनौजी (धनुषा) । काठमाडौंका केही मिडियामा कांग्रेस र मधेसवादी गठबन्धनबीच राजेन्द्र महतोलाई ब्याक गराएर बिमलेन्द्र निधिलाई जिताउन अन्तिम कसरत भइरहेको समाचार आउँदा राजपा अध्यक्ष मण्डलका सदस्य महतो भने गाउँमा भोट माग्दै थिए ।

धनुषा क्षेत्र नम्बर ३ का मुखियापट्टी मुसरनिया, धनौजी र नगराइनका टोलटोलमा निधिविरुद्ध घृणायुक्त भाषण गर्दै मत मागिरहेका महतोलाई कटरियामा भेटिएपछि हामीले सोध्यौं– भारतीय दूतावासले पनि निधिलाई छाड्न तपाईमाथि दबाव दिएको हो ?
आक्रोशित मुद्दामा महतोले भने– ‘मधेसी जनताको हत्या गर्ने, टाउकोमा गोली बर्साउने, मधेसविरोधी संविधानमा सबैभन्दा पहिले ठप्पा लगाउने अत्याचारीलाई मैले किन छाड्ने ?’
महतो यतिमा मात्रै रोकिएनन्, निधिले सबैतिरबाट हार्ने देखेर बिरामीको नाटक गर्दै काठमाडौंमा शक्तिकेन्द्रहरु गुहारेको आरोपसमेत लगाए ।
चुनाव हार्ने भएपछि राष्ट्रियसभामा जाने गरी निधि आफैं ब्याक हुन लागेको हल्ला आफूले सुनेको महतोले बताए ।
निधिको २ पुस्ताले २५ वर्षदेखि जनकपुरबाट चुनाव जित्दा पवित्र जनकभूमि नरक बनेको र अपराधी तथा गुण्डागर्दीको अखडा बनाएको आरोपसमेत लगाए महतोले ।
राजपा नेता महतोले मधेस आन्दोलनको राप र ताप नै आफ्नो जितको आधार रहेको भन्दै निधिप्रति आक्रोश पोखे । चुनावी सभा र घरदैलोमा समेत निधिलाई मधेसबिरोधी र मधेसीको हत्यारा करार गर्दै हिँडेका महतोले झण्डै कांग्रेसको हाराहारीमा मत रहेको एमालेका बारेमा भने बोल्ने गरेका छैनन् ।
कतिपयले जेलभित्रैबाट सञ्जय साहले विमलेन्द्र निधिलाई समर्थन गरेपछि एमालेको मत आफूतिर तान्न महतोले एमालेविरुद्ध नबोलेको आशंका पनि गरेका छन् । हामीले उनीसँगको कुराकानी यहीँबाट शुरु गर्‍यौंः
एमालेको मत पनि यो क्षेत्रमा उल्लेख्य रहेछ, निधिले ‘सञ्जय कार्ड’ खेलेपछि तपाईंले ‘एमाले कार्ड’ खेल्न खोजेको हो ?
हेर्नुस, मतदाता कसैको गुलाम हुँदैन । मतदाताले आफ्नो विचार समयको मागअनुसार परिर्वतन गर्छ । अहिले यहाँ मधेसवाद उत्कर्षमा छ । मधेस आन्दोलनको केन्द्रविन्दू जनकपुर हो । मधेस आन्दोलनमा के कांग्रेस, के एमाले, के माओवादी सबै पार्टीका मान्छेहरु सहभागी भएका हुन् ।
यो निर्वाचनरुपी मधेस आन्दोलनमा पनि एमाले समर्थक मतदाताहरु सहभागी हुनेछन् र मलाई मतदान गर्नेछन् । एमालेको मात्र होइन, मलाई कांग्रेसको पनि मत आउछ ।
तैपनि तपाईले ती मतदातबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ त ?
तपाई हेरिरहनुभएको छ, जनताको प्रतिक्रिया धेरै राम्रो छ । उत्साहका साथ चुनावी प्रचार अभियान चलेको छ । गाउँगाउँबाट मधेसी जनता आन्दोलनकै रुपमा सहभागी भएका छन् । यो त चुनाव प्रचारभन्दा पनि मधेस आन्दोलन हो भनेर यहाँका जनताले बुझेका छन् । मधेस आन्दोलनलाई अघि बढाउन जनता उत्साहका साथ लागेका छन् । यो राजेन्द्र महतो जित्ने कि नजित्ने भन्दा पनि मधेस आन्दोलनले जित्ने कि नजित्ने भन्ने लडाइ भएको छ ।
भनेपछि, तपाई यहाँ मधेस आन्दोलनको सेन्टिमेन्ट क्यास गरेर चुनाव जित्न सकिन्छ भन्ने दाउमा हुनुहुन्छ होइन त ?
यो निर्वाचन पनि एउटा आन्दोलन हो । हामीले आन्दोलनकै रुपमा स्वीकार गरेको हो । सडक आन्दोलन हामीले गरेका हौं, यो अब संसदीय आन्दोलनको तयारी हो । निर्वाचनलाई कडीका रुपमा प्रयोग गरेको हो । त्यसैले मधेस आन्दोलनको भावनात्मक मत त मलाई आउछ नै ।
तर, तपाईलाई ब्याक गरेर विमलेन्द्र निधिलाई समर्थन गराउने हल्ला एकाएक चल्यो नि ? माथि केही न केही त हुँदैछ कि ?
यो मधेस बिरोधी संविधान बनाउनेमा अहम् भमिका निधिजीको छ । मधेस आन्दोलनमाथि गोली चलाउने आदेश उहाँले दिनुभएको हो । मधेसीलाई गोली चलाउने र जनताको अधिकार खोस्ने उहाँ नै हो । वास्तवमा भन्नुहुन्छ भने सबैभन्दा ठूलो मधेस बिरोधी र मधेसीको हत्यारा त बिमलेन्द्र निधि हो भनेर यहाँका जनताले भनिरहेका छन् ।
यस्तो व्यक्तिलाई मधेस आन्दोलनको केन्द्रविन्दू, मधेसको राधजानी जनकपुरबाट अब चुनाव जिताउन मैले ‘ब्याक’ हुने भन्ने त सोच्नै सकिन्न ।
२५ वर्षदेखि यो क्षेत्रका जनताको मत लिएर न जनताले विकास पाए, न अधिकार पाए । जनता मधेस आन्दोलनको पक्षमा छन् । परिवर्तनको पक्षमा मधेसी जनता छन् । कसले के दुस्प्रचार गर्छ, त्यो उनीहरुलाई थाहा होला । हामी जनताका बीचमा छौं । सायद निधिजी आफैं हार्ने भएर ‘ब्याक’ हुने कुरा सुनेको छु ।
तर, उहाँ यसबीचमा काठमाडौंमा हुँदा शक्तिकेन्द्रका मान्छेहरुले पनि भेट गरे, यसबीचमा सञ्जय कुमार साहले जेलबाटै समर्थन पनि गरे, यसले तपाईलाई दबाव त बढ्यो नि ?
हा हा हा । यो सबै पराजित मानसिकताको द्योतक हो । जुन व्यक्तिलाई बिमलेन्द्र निधिले आफैंले अपराधी घोषित गरेको हो, जसलाई निधि आफैैंले जेल पठाएको हो, त्यही व्यक्तिको सहाजार लिइरहेको छ अहिले । यसबाट के प्रमाणित हुन्छ भने जनकपुरमा अपराधीकरणलाई बढावा दिने व्यक्ति निधि नै हुन् । अपराधीकरण र गुण्डागर्दी कसले चलाएको रहेछ भन्ने पुष्टि भयो ।
होइन, मैले सोध्न खोजेको के हो भने तपाईलाई ‘ब्याक’ गराएर लोकतान्त्रिक गठबन्धन अझै पनि बनाउन सकिन्छ भन्ने कुरा आएको हो कि हैन ?
लोकतान्त्रिक गठबन्धन त अब नारामा मात्रै सीमित भयो । यो निधिजीकै कारण भएको हो । कांग्रेसबाट लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास नै भएन ।
गठबन्धन बनाउँदा लोकल इलेक्सनको परिणामलाई आधारका रुपमा लिन सकिन्छ भनिएको पनि हो । त्यसो गर्दा मधेसी गठबन्धनले यो मधेसमा सम्मानजनक स्थान पाउनुपर्ने हो । तर, त्यसका लागि कांग्रेस तयार भएन ।
खासगरी धनुषा–३ नम्बर क्षेत्रको कुरा गर्दा राजपा कांग्रेसभन्दा अगाडि छ । जो अगाडि छ, उसले नै गठबन्धनमा सिट पाउने हो । यो धनुषा ३ नम्बर क्षेत्र राजपा र मधेसी गठबन्धनले पाउने हो । तर, उहाँ (निधि) को व्यक्तिगत आकांक्षाका कारण लोकतान्त्रिक गठबन्धन बन्न दिनुभएन । नदिएको पनि ठिकै भयो । त्यस्तो अत्याचारी, मधेस बिरोधी व्यक्ति, जसले हामीलाई धोका दियो भनेर निधिको बारेमा यहाँका जनताले भनिरहेका छन अहिले ।
मधेसी जनतालाई ठग्ने, मधेसीको टाउकोमा गोली ठोक्न आदेश दिने, मधेसबिरोधी संविधान बनाउने व्यक्तिलाई हराउने उपयुक्त मौका यहाँका जनताले पाएका छन् । यो मौका जनता गुमाउन चाहँदैनन् ।
तपाईको सम्पूर्ण आरोप निधि मधेस बिरोधी हुन् भन्नेमै केन्द्रित देखिन्छ । तर, उहाँले त म मधेस र पहाडको मध्यस्थकर्ता हुँ, मेरो भूमिकालाई न्याय हुनुपर्‍याे  भनिरहनुभएको छ नि ?
हो, उहाँको भूमिका त प्रष्टै देखिएको छ । संविधान बनाउनेमा अग्रणी भूमिका निर्वाह गर्नुभयो । मधेसीको अधिकार कुण्ठित गराउन उहाँको भूमिका देखियो । मधेसी जनताको हत्या गराउन त उहाँले आफैं गृहमन्त्री भएकाले बेला आदेश नै दिनुभयो । मलेठमा बिनाकारण गोली हान्न आदेश दिएर ६ जना मधेसी जनताको हत्या गरेको त उहाँले नै हो नि । मधेसी जनताको अधिकार खोस्ने मामिलामा उहाँ मध्यस्थकर्ता बन्नुभएकै हो ।
र, त्यही उहाँको भूमिकाप्रति यसपटक यहाँका जनताले न्याय गर्नेछन् । जस्तो करनी, उस्तै भरनी भन्छन् नि ।
तपाईकै पार्टीबाट निर्वाचित सांसद सञ्जयकुमार साह, जो जेलमा छन् उनी नै यो क्षेत्रका चुनावमा निर्णायक हुने हल्ला चलिरहेको छ, अर्कोतिर जीवनाथ चौधरी जो सञ्जय साहका विपरीत ग्याङ चलाउँछन् उनी त निधिकै दाहिने हात भइहाले, यसबाट तपाई डराउनुभएको छैन ?
योचाहिँ चिन्ताको विषय हो । मलाई अरु डर त होइन, जनकपुरमा फेरि दुईटा ठूला अपराधिक गिरोह एक ठाउँमा आउने हुन् कि भन्ने चिन्ता छ । यसले गर्दा जनकपुरका शान्ति खल्बलिन सक्छ । मधेसको राजधानीलाई अपराधीकरण गर्ने उद्देश्यबाट यस्तो भएको हुन सक्छ । निधिजी मधेसको राजधानी जनकपुरलाई अपराधीकरण गर्नतर्फ लाग्नुभएको छ । तर, जनताले कुनै हालतमा स्वीकार गर्दैनन् । अहिलेको हाम्रो लडाई अपराधिकरण विरुद्धको लडाइ पनि हो ।
मधेसको राजधानी जनकपुरलाई सांस्कृतिक, पवित्र भूमिको रुपमा जोगाइराख्न पनि यसपटक निधिलाई परास्त गर्नुपर्छ भन्ने जनताको आवाज छ । यहाँ निधिको होइन, विधीको शासन लागु हुनुपर्छ भन्ने जनताले मलाई जिताउने छन् ।
जनकपुर भनेको विद्धान ऋषिमुनिहरुको तपोभूमि हो, गुण्डा र अपराधीको राज्य स्थापित गर्न खोज्ने र दुईटा गुण्डा मिलाउने निधिजीको प्रयास बेकार हो ।
तर, उनीहरुले तपाईको चुनावी परिणामलाई त हेराफेरि गराउन सक्छन् नि होइन र ?
होइन । बिल्कुल होइन । यस्ता अपराधी र गुण्डाहरु एक ठाउँमा आएका हुन् भने त्यसबाट मलाई फाइदा छ । यसबाट उनीहरुको, विशेष गरी बिमलेन्द्र निधिको अनुहार उदांगो भएको छ । जनकपुरका अपराधीहरुको एकता देखिएको छ । चोर चोर मौसेरा भाइ भन्छन् नि, आखिर गुण्डा र अपराधीहरुको संरक्षक को हो, उनीहरुलाई कसले चलाइरहेको छ भन्ने जनताले छर्लङ्ग बुझ्न पाए । जनकपुर बमकाण्ड कसले गराएको रहेछ ? मिथिला राज्य बन्न नदिने को रहेछ ? यहाँ हत्या आतंका मच्चाउने को रहेछ ? सार्वजनिक र मठ मन्दिरका सम्पत्ति हडप्ने को रहेछ ? सबै कुरा बुझियो नि ।
तर, जेलबाटै १० हजार भोट निधिलाई दिलाउने सञ्जय साहसँग हैसियत छ रे नि ?
१० हजार भोट हाल्छ कि घटाउछ हेर्दै जानुस् ।
हामीले यस क्षेत्रका गाउँतिर पनि भ्रमण गर्‍यौं, कतिपय मान्छेले तपाई अधिकारको मात्र कुरा गर्नुहुन्छ, तर निधिले विकासको कुरा गर्छन् भन्दा रहेछन् नि ? अधिकारको मात्रै कुरा गरेर जनकपुरको विकास हुन्छ ?
खै विकास गरेको त ? दुईपुस्तादेखि निधि परिवारले यहाँका जनताको मत लिएको छ । पटक–पटक जनताको मत लिएर सांसद भयो, मन्त्री भयो । तर, जनकपुरलाई नरक बनाएर राखेको छ । यही हो विकास ? रोडको अवस्था हेरिहाल्नुभयो, खानेपानीको अवस्था देखिहाल्नुभयो । यहाँ विकास होइन, अपराधीकरण बढाइएको छ ।
अधिकार प्राप्तिपछि विकास स्वतः हुन्छ । अधिकार प्राप्त भएन भने केही पनि विकास हुँदैन । २५ वर्षदेखि उहाँहरुले नै जितेको हो, विकास त केही भएको छैन । अहिले आएर विकासको कुरा गर्ने फटाहाले ? हामी विकास पनि दिन्छौं, अधिकार पनि दिलाउँछौं ।
विमलेन्द्र निधिले मधेसकै पक्षका बोल्दा पहाडेबाट गाली खाए, अहिले तपाईहरुको निशाना पनि उनीमाथि नै छ, यो त अन्याय भएन र ?
मधेसीको भोट लिएर मधेसीमाथि गोली हानेको छ । त्यो त कुनै पहाडेले होइन, म मधेसीको छोरो हुँ भनेर हिजो लिएको व्यक्ति बिमलेन्द्र निधिले नै हो । मधेसी जनताले एक–एक हिसाब पाई–पाई लिनेवाला छ ।
हिजो निधिले बुलेटले मधेसीलाई मारेको हो, अब मंसिर १ गते जनताले ब्यालेटले मार्नेवाला छ । मधेसीको टाउकोमा गोली हानेको त निधिले हो नि, त्यसको हिसाब जनताले स्वस्तिक छापबाट उनको टाउकोमै हानेर लिनेछ । अनि त राम नाम सत्य हो भन्ने अवस्थामा पुग्नेछन् । मधेस र मधेसीको सबैभन्दा ठूलो सत्रु र अत्याचारी नै बिमलेन्द्र निधि हुन् ।
तर, निधिजी पुस्तौंदेखि यही क्षेत्रबाट चुनाव लडेका छन्, तपाई चाहिँ सर्लाहीबाट भागेर यहाँ आएको आरोप रहेछ नि ?
म भाग्नेवाला होइन, भगाउन आएको हुँ । पुस्तौंदेखि जनकपुरको जनतामाथि शासन गर्ने, मधेसविरोधी संविधान बनाउने, मधेसीको टाउकोमा गोली ठोक्ने निधिलाई भगाउन आएको हुँ । जनकपुर मेरो घर हो, म किन भाग्ने ? मधेस आन्दोलन गर्दा कहिले जोगवनी नाकामा पुगेर ज्यानको बाजी थापेँ, कहिले वीरगञ्ज त कहिले सुनौली पुगेँ । म कहाँको हुँ ? म मधेसी धर्तीपुत्र हुँ । यो जनकपुर मधेस आन्दोलनको केन्द्र हो, मधेसको राजधानी हो, त्यसैले मधेस आन्दोलनको अनुमोदनका लागि म यहाँबाट उम्मेदवार बनेको हुँ । मेरो लडाई त निधिजीका मालिकसँग हो, जो काठमाडौंमा छन् ।
निधिको शासन अब सकियो । अब विधिको शासन लागु हुनेछ जनकपुरमा । यो उनको अन्तिम एपिसोड हो । साभार अनलाइनखबर डटकम

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्