चलचित्रले समाज परिवर्तनमा सघाउँछ ः मुख्यमन्त्री गुरुङ
Advertise Here Book Now

पोखरा २२ चैत ।।
 प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहिबार मिडटाउन सिनेमाजमा पुगे । महिला हिंसाको कारकका रुपमा विद्यमान दाईजोप्रथामाथि बनेकोे नेपाली कथानक चलचित्र भोर को प्रिमियर सो मा सहभागि हुन मुख्यमन्त्री हलमा पुगेका हुन् । सिनेमाको बारेमा जानकारी लिँदै मुख्यमन्त्री गुरुङले राज्यले गर्नुपर्ने काम सिनेमाको माध्यमबाट गरिएको भन्दै चलचित्रका निर्माता निर्देशक एवं कलाकारहरुलाई हौसला प्रदान गरेका छन् । समाज परिवर्तनमा सिनेमा साधन बन्न सक्ने भन्दै उनले भोर पनि समाज परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गरे ।
सिनेमा हेर्न प्रदेश नं ४ का सांसदहरु, बुद्धिजिवी, सामाजिक अभियन्ता, पत्रकार लगायत पनि हलमा पुगेका थिए । सिनेमाले निकै गहन विषयलाई उठाएको र यस किसिमका सिनेमाले नेपाली समाजमा जरा गाडेर बसेको कु–प्रथालाई हटाउन सहयोग गर्ने उनीहरुको धारणा छ ।
चलचित्र प्रर्दशनपछि आयोजित पत्रकार सम्मेलनमा सिनेमाले नेपाली दर्शकको मन जित्नेमा निर्देशक यादव भट्टराई विश्वस्त देखिए । १ वर्ष अध्ययन र १ वर्ष छायाङ्कनमा खर्चेर फिल्म तयार पारेको उनले बताए ।
 चलचित्रमा नेपालको तराई क्षेत्रलाई आधार मानेर समग्र देशको सामाजिक कुरिति अन्र्तगत रहेको दाईजो प्रथाका कारण महिलामाथि हुने अनेक किसिमका हिंसाका बारेमा मनछुने गरी प्रस्तुत गरिएको छ । निर्देशक भट्टराईले यसअघि सतिप्रथामा आधारित ऐतिहासिक सिनेमा झोला निर्देशन गरिसकेका छन् ।  चलचित्रमा अधिकांश कलाकारहरु जनकपुरका स्थानीय छन् । कृष्ण धारावासीको कथा रहेको सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी हुन् भने राज तिमिल्सना र रामगोपाल थापा चिलचित्रका निर्माता हुन् ।  चलचित्रमा करिब १ करोडको लगानी रहेको निर्माणपक्षको दावी छ । चलचित्र आउँदो २१ बैसाखमा देशभर प्रर्दशनमा आउने बताईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्