विज्ञानलाई चुनौती दिंदै सन्तान प्राप्तिको लागि मधेश र विहारका महिलाहरुको पतारी पोखरीमा भिड्
Advertise Here Book Now


नवसंग्राम दैनिक दिनेश्वर गुप्ता  लहान, १ बैशाख । सिरहाको सलहेश फुलवारीको भोलीपल्ट लाग्ने पतारी मेलामा यस बर्ष पनि भव्यताका साथ श्रद्धालभक्तजनहरुको भिड् बढ्न थालेको छ । यो मेलाको विशेषता सन्तान प्राप्तिको लागि पोखरीमा डुबुल्की लगाउंनेहरुको भिड् लाग्ने गरेको हो ।
सिरहाको शक्तिपीठ मानिने ऐतिहासिक, पौराणिक र धार्मिक महत्वको पाताल पोखरीमा निसन्तान महिलाहरुले राजा हरिसिंह देवको पूजा र भाकल गरेपछि पोखरीमा डुबुल्की लगाउंदा जीवित जीव भेटिए सन्तानप्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।भारत विहारका श्रवण पासवानका ’बिहे भएको ७ वर्ष वितिसक्दा पनि सन्तान नभएपछि भाकल गरी उनकी पत्नि पोखरीमा डुबुल्की लगाउंदा जीव भेटियो’ आज फेरी ’ ढेड बर्षको छोरो लिएर पतारी मेला हेर्न आएका छन् । भाकल गरेअनुरुप यसवर्ष बोको बलि दिने छु ’ उनी बताउंछन् । भारतको पटना दरभंगासहित विभिन्न स्थानमा गएर चिकित्सकीय जाँच गराउँदा पनि सन्तान नभएपछि अन्तिममा दैवीय शक्तिको साहारा लिएको उनले सुनाइन् ।
भारतको मधुवनी जिल्ला ग्राम पञ्चायत तेनुवाही ५ की कलावती पासवानले तीन वर्षअघि सोही पोखरीमा डुबुल्की मार्दा ’घोङ्गी’ (एक प्रकारको शंखेकीरो) फेला पारिन् । बिहे भएको तीन वर्ष बितिसक्दा पनि उनका सन्तान भएनन् । भाकलपछि जन्मिएकी अढाई वर्षकी छोरी साथैमा ल्याई उनले यसवर्ष पाठी बलि दिने तयारी छीन् । हरेक वर्ष वैशाख २ गतेमात्र पूजा हुने पाताल पोखरी किनारमा राजा हरिदेव सिंहको मन्दिर छ । वैशाख २ गते मात्र कर्णाटवंशी राजा हरिसिंहदेव प्रकट हुने विश्वासका साथ सोही दिन भाकल गरी पोखरीमा डुबुल्की मार्दा जीवित जीव भेटिए सन्तान हुने गरेको सुनाउँछन् पुजारी फुलधरसिंह । उनका अनुसार पोखरीमा डुबुल्की मार्दै पार गरिसकेपछि ५ सय मिटर पर गई भिजेको कपडा फुकाली त्यहीँ छोडी भेटिएको जीव लिएर घर लैजानुपर्छ ।
उनका अनुसार सन्तान प्राप्ति नभएसम्म भेटिएको जीवबारे दम्पतीबाहेक कसैलाई जानकारी दिन नहुने चलन छ । पौराणिककालदेखि नै यहाँ हरेक वर्ष वैशाख २ गते भाकल गर्न र बलि चढाउन धर्मावलम्वीहरु आउने गरेको उनले सुनाए । यो पोखरीमा महिलाहरुले मात्र डुबुल्की मार्ने चलन छ । बिहे भएको ९ वर्ष वितिसक्दा पनि बालबच्चा नभएपछि मधेशा १ सुनसरीकी चन्द्रकला चौधरीले बाबा हरिसिंहदेवको मन्दिरमा गत बर्ष पूजा गरी पोखरीमा डुबुल्की मारिन् । सिरहाको व्यापारिक केन्द्र लहानबाट १८ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पाताल पोखरीमा भाकल गर्न र मेला भर्न सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोतरी र काठमाडौं तथा भारतको विहारबाट समेत सर्वसाधारण आउँछन् । राजा हरिसिंहदेव र दनुवार जातिको इतिहासबारेमा खोज गरिरहेका शोधकर्ता रामदेव राय दनुवारले ऐतिहासिक शक्तिपीठमा वर्षको एकदिन मेला र बलि चढदै आएपनि सन्तानप्राप्तिबारे खोज अनुसन्धान गर्नुपर्ने बताए ।
सलहेश गाथामा उल्लेख गरिएअनुसार पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको मानिन्छ । विज्ञानको चामत्कारिक युगमा पनि पतारी पोखरीमा लाग्ने मानिसहरुको भीडले केही खोज अनुसन्धान गर्नुपर्ने देखाउँछ । यो पोखरी राजा सलहेशकै बेला वि.सं. १३२५ देखि अस्तित्वमा रहेको सलहेश गाथामा उल्लेख छ । ’ऐतिहासिक शक्तिपीठमा भाकल गर्ने परम्परा पौराणिक हो, यो अथाहा आस्था बोकेको शक्तिपीठ हो’, उनले भने, ’सन्तानप्राप्ति हुने जनविश्वास चिकित्साशास्त्रका लागि चुनौती हो । सन्तान प्राप्ति भइरहेको छ, त्यहीअनुरुप बलि चढाइन्छ, । सन्तान प्राप्तिको लागि आज अबेर रातीसम्म भारतको विहार र मधेशका हजारौ महिलाहरु पतारी पुगिसकेका छन् । उनीहरु विहानै पोखरीमा डुबल्की मार्ने भएका छन् । विज्ञानले अझै पनि सत्यताको खोजि गरिरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्