अपराध न्यूनिकरणका लागि ‘समुदाय—प्रहरी साझेदारी’ अभियान
Advertise Here Book Now


लहान, १९ कात्तिक । अपराध न्यूनिकरणका लागि नेपाल प्रहरीले समुदायसँगको सहकार्यको लागि ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सुरु गरेको छ । शान्ति र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय लहानले नगरपालिकासँग सहकार्य गरि स्थानीयतहमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्न आज सरोकारवालाहरुबीच छलफल गरि २१ सदस्य समिति गठन गरिएको छ । लहान नगरपालिकाका मेयर मुनि साहका प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गर्दै लहान नगरपालिका समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्याउने मेयर साहले बताउँनुभयो । ‘भ्रष्ट, तस्कर, गुण्डा र अपराधीको जरै उखेलेर फाल्नुपर्छ । नागरिकले अपराधीका सूचना उपलब्ध गराउने वातावरण यो अभियानबाट हुनेछ,’ मेयर साहले बताउँनुभयो ।
उहाँले दिगो शान्ति कायम गरी लहानका २४ वटै वडालाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने बताउँदै शान्तिपूर्ण र सुरक्षित समाजका लागि कार्यक्रम ऐतिहासिक हुने मेयर साहले बताउँनुभयो । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम लहान नगरपालिकाका टोल टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले कार्यक्रम सञ्चालन गरेको हो ।

प्रहरीले अघि सारेका कार्यक्रममा आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सहयोग, सिसिटिभीलगायत प्रविधिको विस्तार, महिला बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा नियन्त्रण, दाइजो, बालविवाह, छाउपडी, बोक्सी प्रथाको नियन्त्रण आदि समेटिएको छ ।यस्तै प्रहरीले नागरिकसँगकै सहकार्यमा मानव बेचबिखनको नियन्त्रण, एकीकृत घुम्ती शिविर सञ्चालन, सडक सुरक्षा, लागु औषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा र प्राकृतिक स्रोतसाधनको दोहन र दुरुपयोगमा पनि विशेष ध्यान दिने ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताउँनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्