पतिको दीर्घायुको कामना गर्दै सिरहा लागत तराईमा 'वटसावित्री' पर्ब मनाईदै ,
Advertise Here Book Now

यो पर्व मनाउनका लागि महिलाहरु बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर यो पर्व मनाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिनी देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । यो पर्व मनाउनका लागि बेहुलीका लागि घरबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिनी, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ ।
को हुन् सति सावित्री ?
मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सक्नु भएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिनुभयो । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराउनुभयो । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेकोले उनीहरु यतिखेर जंगलमा बस्ने गरेको सावित्रीले जानकारी गराइन् । यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरिसकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो । त्यसपछि निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गर्नुभयो । त्यही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको धार्मिक जनविश्वास रहेको छ ।


