प्रदेश २ मा कर्जन्हा नगरपालिकाका जनप्रतिनिधिलाई सुट किन्न बाँड्यो १०–१० हजार
Advertise Here Book Now

असोज २ । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन् । दसैँसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा चढाएका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन् ।  सुट सिलाउन उधारोमा कपडा दिने गुरुशरण साधुशरण वस्त्रालयका मालिक लक्ष्मण साह भने पैसा फस्ने चिन्तामा छन् । उनका अनुसार नगरपालिकाले ३६ पुरुष जनप्रतिनिधि र मेयरका चालकका लागि कोट, पाइन्ट र सर्टको कपडा तथा २३ महिला जनप्रतिनिधिका लागि कोटको कपडा उधारोमा लगेको छ । सुटको कपडा डोनियर ब्रान्डको हो । मेयर गंगा पासमानको वचन हार्न नसकेर उधारो दिएको उनले बताए । उधारो रकमबारे भने उनी बोल्न चाहँदैनन् ।
 कपडा उधारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए । तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत लिलामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् । पसलको ह्यांगरमा झुन्ड्याइएका कोटमा सम्बन्धित जनप्रतिनिधिको नामसहितको ट्याग लगाइएको छ । दसैंसम्म लिन आएनन् भने बढीभन्दा बढी जति पैसा पाइन्छ त्यतिमा क्रमशः बेच्दै गएर आफ्नो रकम उठाउने मण्डलले बताए ।  मेयरसहित पाँच जनाले लगे, ३५ जनाको सुट अझै सिलाइ सेन्टरमै पुरुष जनप्रतिनिधिका लागि कोट, पाइन्ट र सर्ट तथा महिला जनप्रतिनिधिका लागि कोट, सारी र ब्लाउज दिने निर्णय गरेर मेयर गंगा पासमानकै अग्रसरतामा गत चैतमा जनप्रतिनिधिको सुटका लागि कपडा खरिद गरिएको थियो । त्यतिवेला रकम भने निकासा नगरेकाले मेयरले नै कपडा पसलमा उधारो मिलाएका थिए । ३९ जनप्रतिनिधि र मेयरका चालकले टेलर्समा पुगेर नापो पनि दिए । २० जनाले अझैसम्म नापो दिएका छैनन् । अहिलेसम्म मेयर गंगा पासमान, चालक हरि पासमान, वडा ५ का अध्यक्ष भूषण खाती, वडा ८ का अध्यक्ष प्रकाश अधिकारी र वडा ११ का अध्यक्ष कपिल यादवले मात्रै टेलर्सबाट सुट लगेका छन् । ३५ कोट–पाइन्ट टेलर्समै छन् । वडा ३ का अध्यक्ष कपलेश्वर यादव, वडा ४ का अध्यक्ष टेकबहादुर सिंगार, वडा ९ का अध्यक्ष बहादुर महरा, वडा १० का अध्यक्ष जगदीश साहलगायत ३५ जनाको कोट, पाइन्ट र सर्ट तयारी अवस्थामा छन् ।
सबै जनप्रतिनिधिको पोसाकको रकम भने असारमै व्यक्तिगत खातामा निकासा भइसकेको छ । ५९ जनप्रतिनिधि र एक चालकसहित ६० जनाका लागि ६ लाख निकासा भएको हो । कपडा लिएर कोट सिलाउन नापो दिएका अधिकांश जनप्रतिनिधिले पनि कपडा पसल र टेलर्समा पैसा तिरेर कोट ल्याउने नैतिकता देखाएका छैनन् । उपमेयरले नै सिलाइनन् कोट नगर सभामा सहभागी हुँदा एउटै ड्रेस कोड होस् भनेर पुरुषलाई कोट–पाइन्ट र महिलालाई कोट–सारीको योजना ल्याइएको हो । यो नराम्रो होइन । मेरो खातामा पनि १० हजार हालिदिएको छ । तर, कोट सिलाउन पाएको छैन । अब सिलाउने हो । कपडा साहु लक्ष्मण साह भन्छन्–मेयरको वचनले उधारो दिएँ, पैसा फसेको छ मेयर गंगा पासमानसँग पहिल्यैदेखि मेरो व्यवहार चल्दै आएको छ । उहाँले कपडा दिनुपर्‍यो भनेपछि मैले सुटको डेढ सय मिटरजति कपडा दिएँ । सबै उधारोमै दिएको हो । तर, त्यसको पैसा पाएको छैन । यसबारे मेयरसँग कुरा गरिरहेको छु । धेरै कुरा अहिले नै नबोलौँ होला । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह भन्छन्–एकपटक पैसा दिएपछि फेरि दिने भन्ने कुरै हुँदैन जनप्रतिनिधिलाई पोसाक भत्ताको नाममा १०–१० हजार निकासा भइसकेको छ । उहाँहरूले कोट–पाइन्ट ननिकालेपछि टेलर्सले सेलमा राखेको भन्ने मैले पनि थाहा पाएँ । अब कसरी पोसाक निकाल्ने जनप्रतिनिधिकै जिम्माको विषय हो । एकपटक निकासा भइसकेपछि पुनः रकम दिने भन्ने हुँदैन । 
जनताको घरमा चर्पी र पानी छैन जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्नेमा कर्जन्हा नगरपालिका नै सिरहाको पहिलो स्थानीय तह हो । यही नगरका कैयौँ विपन्न बस्तीमा नागरिकले पिउने पानी पाएका छैनन्, घरमा चर्पीसमेत छैन । भएका फुसको घर पनि हावाहुरी र बाढीले भत्काएको वडा नं. ६ को भागपुर मुसहर बस्तीमा खानेपानी र चर्पीको समस्या छ । दसैया सदा, श्रीचन सदा, रामप्रसाद सदा, कारिचन सदाको घरमा खानेपानीको हातेकल छैन । दसैयाको घरमा चर्पीको प्यान छ, तर बारबन्देज छैन । ‘खानेपानीका लागि अर्काको धारामा जानुपर्छ । अनाहकमा विवाद पनि हुने गर्छ । आफ्नै घरमा भइदिएको भए सजिलो हुन्थ्यो,’ शिवशक्तिदेवी सदाले भनिन् । स्थानीय युवा प्रभात महतोले जनतालाई पानी पनि नदिएर जनप्रतिनिधिले कोट पाइन्टमा पैसा खर्च गर्नु मतदातामाथिको अपमान भएको बताए । 
कर्जन्हा नगरपालिकामा अहिलेसम्म केन्द्र कहाँ राख्ने भन्ने विवादसमेत छ । केन्द्र विवादकै कारण बगहामा रहेको कार्यालयमा आगजनी भएको थियो भने मेयर चढ्ने गाडीमा ढुंगामुढा भएको थियो । नगरपालिकाले चार ठाउँमा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । सनलाइट टेलरका सञ्चालक विश्वेश्वर मण्डल भन्छन्– ६ हजारदेखि माथि जति पाइन्छ बेचिदिन्छु पाँच महिना भयो मैले सुट सिलाएको । केही जनप्रतिनिधिले लिएर गएका छन् । अहिले मेरो पसलमा तयार गरिएका ३५ वटा सुट ह्यांगरमा झुन्डिएका छन् । फोन गरेर बोलाउँदा पनि लिन आउँदैनन् । मेरो कम्तीमा डेढ लाख फसेको छ । अब पनि लिन नआए दसैँमा प्रतिसुट ६ हजारदेखि माथि जति पाइन्छ लिलाममा बेच्छु । फेसबुकमा सूचना हालिसकेको छु । मेयर गंगा पासमान भन्छन्–जमानाअनुसार चल्न ब्रान्डेड सुट सिलाउन दिएका हौँ नगरका सबै जनप्रतिनिधिको पोसाक समान होस् भनेर नगरसभाका ५९ सदस्यलाई सुट सिलाउन १०–१० हजार रकम दिने निर्णय गरेका हौँ । त्यसले जनप्रतिनिधिलाई मर्यादित र व्यवस्थित पनि देखाउँथ्यो । अरू वेला नभए पनि नगरसभाको बैठक बस्दा सबै सदस्य एउटै ड्रेसमा हुँदा राम्रो देखिन्थ्यो । स्कुलमा त एउटै ड्रेस बनाइएको हुन्छ भने हामीले किन नबनाउने ?

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्