टुडेपाटी अन्लाईन परिवार द्वारा २५ असिना पीडितलाई राहत बितरण
Advertise Here Book Now

वैशाख २३ गते । धनुषाको वटेश्वर गाउँपालिकास्थित आजपाटी मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाईन न्यूज पोर्टल टुडेपाटी डटकमले धनुषाको बटेश्वर गाउँपालिकाका २५ घरपरिवार असिना पीडितलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनकै बेलामा गएको वैशाख १२ गते हावाहुरीसंगै आएको असिनापानीले घरको छानो फुटेपछि कष्टपूर्ण गुजारा गरिरहेका बटेश्वर गाउँपालिका १ चित्रपुरका २५ घरपरिवारलाई टुडेपाटी मिडियाले घर-घरमै पुगेर राहत उपलब्ध गराएको हो । टुडपाटीकै पहलमा बटेश्वरका रामनाथ महतोले आईतबार ती परिवारहरुलाई ओत लगाउन त्रिपाल प्रदान गरेका थिए । सोमबार टुडेपाटीका सञ्चालक आनन्द शर्माको नेतृत्वमा घर–घरमा टुडेपाटीको टोली पुगेर अति विपन्न एवं असहाय २५ परिवारलाई राहत उपलब्ध गराएको हो । लकडाउनकै बेला खसेको ठुलठुलो असिनाले घरको छानो फुटेपछि पानी आउँदा छिमेकीको घरमा शरण लिनु पर्ने तथा भिजेरै बस्नु पर्ने र खरमा खाद्यान्न नहुँदा भोकै बस्नु पर्ने अवस्था भएका कारण त्यस्ता २५ परिवारलाई खाद्यान्न वितरण गरेको टुडेपाटीका सञ्चालक शर्माले जानकारी दिए । सञ्चालक शर्माका अनुसार प्रति परिवारलाई १२ किलो चामल, एक किलो खाने तेल, एक किलो दाल, दुई किलो आलु, एक किलो प्याज, एक किलो नुन र एउटा सावुन गरी १८ किलोको खाद्यान्न प्याकेट उपलब्ध गराइएको हो । तीनै सरकार मुकदर्शक भएपछि टुडेपाटी समाचार सम्प्रेशन गरी सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराएको र आफ्नो क्षमताले भ्याए अनुसार असिना पीडित अति विपन्नलाई तत्काल केहि राहत उपलब्ध गराएको सञ्चालक शर्माले बताए । राहत वितरणमा टुडेपाटीका सम्पादक शैलेन्द्र महतो क्रान्ति, टुडेपाटीका सह-सम्पादक रोहित महतो, टुडपाटीका प्रतिनिधि नितेश यादव लगायत चित्रपुरका स्थानीय युवा देव महतो र दिपेन्द्र महतो, अमरेश महतो लगायतले सहयोग गरेका थिए । असिना परेको भोलीपल्टै बटेश्वर गाउँपालिका अध्यक्ष, प्रदेश तथा संघीय सांसद, मन्त्री लगायतले निरिक्षण गरी चाँडै ओतको व्यवस्था गर्ने आश्वासन दिएर गएको १० दिन बितिसक्दा समेत अहिलेसम्म फर्केर हेर्न नआएको स्थानीयहरुको गुनासो छ । लकडाउनमा प्रदेश सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न गाउँपालिकालाई दिएको १० लाख रुपैँयाले कम मात्रामा गुनस्तरहीन खाद्यन्न वितरण गरेको एक साता नबित्दै सो राहत सकिएको स्थानीय विपन्न परिवारको गुनासो छ । पहिलो चरणमा स्थानीय तहले राहत वितरण गर्ने क्रममा गरिब परिवारलाई छुटाएर धनीमनीलाई दिएको भन्दै विवाद समेत भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्