नेपाल वायुसेवाको नयाँ विमान दोहामा, आइतबार बिहान काठमाडौं आइपुग्दै
Advertise Here Book Now

mainphotoकाठमाडौँ : फ्रान्सेली कम्पनी एयरबससँग किनेको विमान आज दोहा विमानस्थल आइपुगेको छ। दोहाबाट भोलि बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रिँदैछ यो विमान। अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमका लागि यो विमान माइलस्टोन नै हुनेछ।

स्थानीय समयअनुसार १८:२२ मा विमान दोहा विमानस्थलमा ओर्लिएको छ। ९ एनएकेडब्लु – ३२० कल साइन भएको विमान दोहाबाट बिहान ४ बजे काठमाडौंका लागि उड्ने छ।


​राससका अनुसार जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने छ। आइतबार बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ। जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिए।

निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरुप पाँच लाख अमेरिकी डलर (त्यसबेलाको रु ४ करोड ३५ लाख ) एयरबसलाई पठाएको थियो। त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच रु १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।

साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने भएको छ। नयाँ जहाज अवतरण भएको दुई महिनापछि दोस्रो जहाज पनि आइपुग्ने छ।

सम्झौताअनुसार एउटा जहाजको अङ्कित मूल्य (क्याटालग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर (रु ७ अर्ब २० करोड) रहेको छ। निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको अङ्कित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो।
पाँच वर्षअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (रु तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो। त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो।

निगमले ल्याउने सो जहाजमा १५० सिट हुन्छन्। निगमले भने यसमा सिट बढाएर १६४ बनाएको छ। निगमलाई जहाज किन्न कर्मचारी सञ्चय कोषले एकमुष्ठ रु १० अर्ब ऋण दिएको थियो। कोषलाई जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याजदर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखिएको छ।

हाल निगमको जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ। दुबई उडान स्थगन गरेको छ भने भारतको राजधानी नयाँदिल्ली उडान पूर्णरुपमा बन्द छ। नयाँ जहाज आएपछि ती स्थानमा उडान सङ्ख्या बढाउने निगमको योजना रहेको छ।
 
जहाज अभावमा झन्डै रु एक खर्बको अन्तर्राष्ट्रिय उड्डयन बजारमा निगमको हिस्सा ३ दशमलव ८ प्रतिशतमा झरिसकेको छ। अब नयाँ जहाज आएपछि निगमको हिस्सा बढ्ने विश्वास लिइएको छ। निगमले हाल सञ्चालनमा ल्याइरहेको जहाज २०४३ र २०४४ सालमा किनेको थियो। त्यसयता निगमले आधादर्जन पटक जहाज ल्याउने प्रयास गरेपनि सफल भएको थिएन। 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्