गच्छदारले भने, ‘आजभोलि नै वार्ता हुन सक्छ
Advertise Here Book Now

‘सत्तापक्ष र विपक्षी दुवैतर्फ सहमति नचाहने उग्रविचारवादीहरु छन्’
काठमाडौं, माघ २७ – मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको वातावरण निर्माणमा प्रधानमन्त्री सुशील कोइराला चुके देश द्वन्द्वमा जाने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीले निर्वाह गर्ने भूमिकाले देश सहमति वा द्वन्द्वमा पुग्ने निक्र्यौल गर्ने बताए । सहमतिकालागि वातावरण बनाउन प्रधानमन्त्री लचक बन्नुको विकल्प नभएको स्पष्ट पारे । उनले सहमतिको लागि एउटै नेताको काँधमा मात्रै जिम्मेवारी नभएपनि प्रधानमन्त्रीको मुख्य जिम्मेवारी भएकोले उनी चुके मुलुकले दुःख पाउने पनि बताए ।
Gachhadar Express his View गच्छदारले देश सहमति कि द्वन्द्वको मोडमा पुगेकाले सबै गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने,‘प्रधानमन्त्रीजीको काँधमा गहन जिम्मेवारी आएको छ, त्यसलाई उहाँले निर्वाह गर्न सक्नुभएन र टुटेको वार्ता प्रक्रियालाई तत्काल जोड्न यो भन्दा बढि लचकता प्रर्दशन गर्न सक्नुभएन भने मुलुक ठूलो द्वन्द्वमा फस्छ ।’ वार्ता र सहमतिको विकल्प नभएकाले विपक्षी गठबन्धनको आशंकालाई मेटाएर सम्वादको वातावरण बनाउनुपर्ने उनले बताए ।
उनले भने–‘प्रधानमन्त्रीद्धारा विपक्षीलाई वार्ताको लागि जारी गरिएको लिखित आह्वान सकारात्मक छ, त्यसले मात्रै निकास दिँदैन, त्यसैले प्रधानमन्त्रीले १२ बुँदे समझादरी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेश आन्दोलन र आदिवासी आन्दोलन लगायत विभिन्न आन्दोलनका सम्झौता अनुुसार अघि बढ्न तयार छु भन्ने पूर्ण प्रतिबद्धता आए र प्रश्नावली समितिले तयार पारेको प्रतिवेदनलाई थाती राखे आज र भोलिमा नै दलहरुवीच सम्वादको वाावरण बन्छ र वार्ता सुरु हुन्छ ।’
औपचारिक वार्ता अगाडि बढिसकेको खुलासा गर्दै गच्छदारले भने,‘मलाई विश्वास छ आज र भोलिभित्र वार्ताको वातावरण बन्नेछ, मैले प्रधानमन्त्री कोइरालाजीसँग तीन पटक टेलिफोनमा कुरा गरेको छु, सत्तापक्षका नेताहरुसँग पनि कुराकानी भैरहेको छ, त्यसैले उहाँहरुले विश्वासको वातावरण बनाउनुपर्छ, उहाँहरुले बडो उदारताका साथ पहल लिनुपर्छ ।’
अध्यक्ष गच्छदारले सत्तापक्ष र विपक्षबीच सेतुको भूमिका खेलेर वार्ताको वातावरण बनाउन खोजेको खुलाए । आफू सधै वार्ता, संवाद र सहमतिको पक्षमा रहेको स्पष्ट पार्दै सबै मिलेर संविधान निर्माण गर्नुको विकल्प नभएको स्पष्ट पारे । विगतमा धेरै चुनौती पार गरेर शान्ति प्रक्रिया अहिलेको अवस्थासम्म बढेको स्मरण गराउँदै सहमति निर्माण भइछाड्ने दाबी गरे । सहमति विरोधीहरू हावी हुन खोजेको तर्फ सचेत हुनुपर्ने बताए । उनले भने,‘सत्तापक्ष र विपक्षी दुवैतर्फ सहमतिबाट संविधान बनोस् भनेर नचाहने व्यक्तिहरु थिए, तिनीहरु उग्रविचारवादीहरु हुन् ।’
आफू आन्दोलनको पक्षमा नभएको स्पष्ट पार्दै देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताए । आन्दोलनको सोचलाई हावी हुन नदिनेतर्फ आवश्यक कदम चालिहाल्नुपर्नेमा जोड दिए । उनले भने–‘मुलुक बन्द, आम हडताल र आन्दोलनमा जानै सक्दैन त्यसलाई रोक्न सहमतिको विकल्पछ छैन ।’ गच्छदारले सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नुपर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा अघि सारेका छन् ।
आफूले राजनीतिक सहमतिका लागि गरेको प्रस्तावलाई बेवास्ता गर्दा अहिले दलहरुवीच सम्वादको तार टुटेको बताए । उनले भने,‘मैंले संविधानको अन्तरवस्तुमा विद्यमान विवाद समाधानका लागि बीचको मार्ग प्रस्ताव गर्दा प्रचण्डजीले त चाहनुभएको थियो तर उहाँले एसर्ट गर्न सक्नुभएन, मेरो कुरा मानिदिएको भए देश सहमतिको बाटोमा निकै अघि बढिसक्थ्यो ।’ एमाओवादी अध्यक्ष प्रचण्डले समयमा सशक्त निर्णय लिन नसकेको भन्दै उनले गुनासो गरेका छन् । उनले भने,‘बेलामा दरिलो निर्णय लिन नसके नेता भइदैन ।’
विजय गच्छदारको राष्ट्रिय राजनीतिमा उच्च मूल्यांकन हुन्छ भनेर देख्न नचाहनेहरुले गतिलो प्रस्तावलाई समेत बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गरे । उनले भने,‘विजय गच्छदारका कारण सहमति भयो भन्ने सन्देश जाला भन्ने पीर धेरैमा छ ।’ मधेशमा तीन वा चार प्रदेश बनाउँदा कुनै फरक नपर्ने तर्क समेत उनले गरे । सहमतिका लागि फराकिलो मन लिएर प्रस्तुत भएमा समस्याको समाधान हुने उनको विश्वास छ ।
अहिलेको सरकार राजनीतिक स्थायित्व र सहमतिको राजनीतिक विकास गर्न चुकेको भन्दै आलोचना गरे । देशमा अस्थिरता बढेर समस्या बढेको आँैल्याए । तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्दै अहिलेको प्राथमिकता सहमतिका साथ संविधान निर्माण भएको बताए । उनले भने,‘सहमति वा अन्य कुनै प्रकारको सरकार निर्माणको विषय उठान गरी अलमलिने बेला होइन । पहिले मिलेर संविधान बनाउनुपर्छ ।’ १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रिया वर्तमान अवस्थामा आइसकेकाले भविष्यमा सहमति बनाउन सकिनेमा आफू विश्वस्त रहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्