पैसा र प्रचण्डको चर्चा
Advertise Here Book Now

काठमाडौं, माघ २६– केहि दिनअघि अर्थात माघ २१ गते राजधानीको भृकुटीमण्डपमा आयोजित विशेष कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले भनेका थिए–कतिले हामीलाई भन्ने गरेका छन्, एमाओवादी बिग्रियो । हो हामीलाई पनि कताकता त्यस्तै अननूति भएको छ, तर  हामी अब फेरि बिग्रने होइन । सच्चिन चाहन्छौं, त्यसको थालनी पनि भइसकेको छ ।’
प्रचण्डले प्रशिक्षण कार्यक्रममा कार्यकर्तामाफ हौसिँदै  भनेका थिए –टाउकोमा रगत बगाएर भएपनि शुद्ध हुन चाहन्छु ।  समाचार संकलनका लागि पुगेको यो संवाददाता सामु प्रचण्डले कार्यकर्ता सामु यस्तो बताएपछी केहि  अगुवा नेता कार्यकर्ताले अव भने केहि आश गर्न सक्ने अवस्था रहेको भन्दै साँच्चै नेतृत्व सच्चिए पार्टी फेरि बलियो हुने विस्वास व्यक्त गरेका थिए ।

तर, कार्यकर्तालाई हौस्याउँदै पार्टी अब जनतामा गई राम्रो छाप छाड्ने नेतृत्वले  प्रतिबद्धता जनाएको केहि दिनमै विवादास्पद व्यक्ति ल्हारक्याल लामालाई सभासदमा नियुक्ति गरेसँगै  नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।   संविधानसभामा प्रक्रियालाई अस्वीकार गर्दै आन्दोलनमा होमिएको एमाओवादीले एकाएक कार्यकर्तालाई नै चिढ्याउने गरी लामालाई आइतबार सभासदमा निर्वाचन आयोग मार्फत मनोनित गराएको थियो ।
निर्वाचन आयोगले एमाओवादीको सिफारिसमा लामालाई सभासदमा मनोनय गरेको सार्वजनिक गरेसँगै सो विषय सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भाइरलै बन्यो ।   सामाजिक सञ्जालमा आएका अधिकांश टिप्पणीहरु एमाओवादीविरुद्ध नै थिए । यसरी टिप्पणी गर्नेहरुमा एमाओवादीकै नेता कार्यकर्ताहरु अग्र पंक्तिमा देखिन्थे । समग्रमा उनिहरुले पैसाको बलमा नेतृत्वले लामालाई सभासद बनाइएको आरोप लगाएका थिए । कतिले त सिधै प्रचण्ड पैसामा बिकेको आरोप लगाउँदै लामाजस्तो विवादास्पद व्यक्तिलाई सभासद बनाएर पार्टीले गम्भीर गल्ती गरेको आरोप लगाएका थिए ।
संविधानसभामा सत्ताधारी  दलले प्रक्रिया अघि बढाएपनि आन्दोलन थालेकै बेला नेता कार्यकर्तालाई नै निराश र चकित पार्ने ढंगले लामालाई नियुक्ति गरेको स्वयम् नेता कार्यकर्ताहरुको भनाई छ ।
एमाओवादी पोलिटब्यूरो सदस्य आहुतीले टाउको फुटाएर गल्ती सच्याउन चाहन्छु भन्ने नेतृत्वलाई टाउको फुटेपनि कुनै समस्या नहुने भन्दै लामाले उपचार गरिदिने भन्दै कटाक्ष गरेका छन् । उनले फेसबुकमा कटाक्ष गर्दै भनेका छन्–‘टाउको फुटाएर गल्ती सच्याउन चाहन्छु, घाउको चिन्ता छैन लारक्यालले उपचार गरिदिनेछन्, ’
यसैगरी विद्यार्थी नेता जागृत रायमाझीले पनि पैसाको आडमा लामालाई समासद बनाइएको आरोप लगाएका छन्
उनले  कवितात्मक शैलीमा विरोध लेखेका छन्–
बिट्टाको अगाडि बगिहाल्छ र्याल !
अनि लालसलाम कमरेड ल्यारक्याल !
किन गर्नुपर्योर बिबेकको ख्याल !
यस्तै तालले त डमरु बन्छ स्याल !
माओवादीको भातृ संगठन वाइसियलका प्रवक्ता दीपशिखाले पार्टी सच्चियो भन्ने लागेपनि त्यो भ्रममात्रै रहेको प्रश्न भएको रुष्ट हुँदै प्रतिक्रिया जनाएका छन् । उनले फेसबुकमा लेखेका छन् –सच्चियो भनेको होइनरहेछ ’  उनले रुष्ट हुँदै यससँग सम्बन्धित  थुपै प्रतिक्रियाहरु लेखेका छन् ।
एमाओवादी कार्यकर्ता सुदर्शन खतिवडाले जति नै आलोचना गरेर पार्टीलाई सुझाव दिए पनि नसुध्रिएको भन्दै लेखेका छन् – लेखेकै हो, भनेकै हो । यहाँ हामी सुनिँदैनौं, तर ल्यारक्याल सुनिन्छन्  । पुराना त्यागी कार्यकर्ता लाजिम्पाट दरबारलाई प्रजा लाग्न थाले । प्राथमिकतामा नयाँ सुकिला मुकिला र धेरै खरानी घसेकाहरु पर्न थाले । युद्धकालीन कार्यकर्ताका लागि नेतृत्व राजदरबारमा घेरिएका ‘महाराज’ जस्तै दुर्लभ बन्न थाले ।
एमाओवादी  नेता कार्यकर्ताले मात्रै होइन,  गैरमाओवादीहरुले पनि लामालाई सभासद बनाइएकोमा अनेकन टिप्पणी गरेका छन् ।  किशोर दाहालले लेखेका छन्– ‘एमाओवादी क्रान्तिकारितास् ल्हारक्याल लामा सभासद। आन्दोलनको बिगुल बजाएर ल्हारक्यालको खेती १ भिरबाट हामफाल्ने गोरूलाई पहिले ‘राम राम’ भनिन्थ्यो । अब माओवादी भने हुन्छ ।’
किशोर श्रेष्ट लेख्छन्–नक्कली नागरिकता,बिदेशीका निम्ति डबल क्रस एजेण्टको भूमिका,यूरोपबाट हरिया नोटको ओइरो लगाउनमा प्रख्यात,पहिले एमाले–(ल्हारक्याल लामा) अहिले एमाओवादीबाट सभासद मनोनीत ? लौ घरबार छाडेर,जनयुध्दमा भिडेर नयाँ नेपाल बनाउन हिंडेका कमरेडहरु ! भोलिदेखि नै पार्टीको ह्विपअनुसार आन्दोलनमा हिंड्नु छ । उर्जा बढाउन अब एक पेग पिएर,हाँस्ने कि रुने छाति चिरेर ?
विवादस्पद छवि बनाएका ल्यारक्याल लामा पनि एमाओावादीको सभासद बनेको भन्दै जीवन  कुँवर लेख्छन्– अचम्म ! वाह प्रचण्ड, वाह बाबुराम ।

लामालाई सभासदमा नियुक्ति गरिएकोमा चौतर्फी विरोध भइरहेपनि केहि नेता कार्यकर्ताले भने बचाउ समेत गरेका छन् ।
सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि बनेको रिक्त स्थानमा एमाओवादीको  सिफारिस अनुसार लामालाई  आइतबार  निर्वाचन आयोगले सभासदमा  मनोनित गरेको थियो ।
निर्वाचनको केही दिनअघि मात्र एमाओवादी अऋध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर एमाओवादीमा प्रवेश गरेका उनलाई पार्टीले समानुपातिक सूचिमा समेत राखेको थियो । उनलाई समानुपातिक सूचिमा राखेको भन्दै त्यतिबेला पनि तीब्र विरोध भएको थियो ।
दोहोरो नागरिकता र पासपोर्ट बोकेको आरोप लागेपछि झलनाथ खनालको मन्त्रिमण्डलबाट निकालिएका उनलाई माओवादीले पार्टीमा भित्र्याएर समानुपातिक सूचिमा राखेपछि पार्टीभित्रै बाट विरोध भएको हो ।
तर, लामाले आफूसँग दोहोरा नागरिकता र पासपोर्ट नभएको दाबी गर्दै आएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्