गुदयाल अपहरणको गुरुयोजनाबारे विशेष खुलासा : जुवामा सम्पति हारेपछि अपहरण गरेर फिरौती असुल्ने दाउ
Advertise Here Book Now

अपहरणमुक्त भएपछि गुरुदयाल लहानस्थिट शिव मन्दिरमा पूजापाठ गरिदै ।  
सप्तरी, २७ माघ । सिरहाको लहान–३ का ३५ वर्षीय गुरुदयाल महतोको अपहरण गर्ने योजना उनकै मामाले बनाएको खुलासा भएको छ।

प्रहरीको अनुसन्धानअनुसार महिलाको प्रयोग गरी मामाकै योजनाअनुसार उनी अपहरणमा परेका थिए। गुरुदयालको अपहरणमा उनका मामा (काकीका भाई) भारत विहार मधुबनी डुमरबाना थाना लौकही–१ का ३९ बर्षीय महेन्द्र महतो मुख्य योजनाकार रहेको सप्तरीका प्रहरी नायव उपरिक्षक केदार ढकालले बताए।

प्रहरीका अनुसार लहान–२ का २७ वर्षीय जीतेन्द्र यादव र राजविराज–४ की ६० वर्षीया दुधैलाबाली भनिने रामसुन्द्री जैन यादवले अपहरणमा सहयोग गरेका थिए । यादव सुमो गाडी भाँडामा चलाउने चालक हुन् भने दुधैलाबाली तत्कालिन राजविराज नगर पञ्चायतका प्रधानपञ्च भिखमचन्द जैनकी रखौटी पत्नी हुन्।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीका अनुसार लहान–७ का कवाडी व्यापारी ३८ वर्षीय राजा भनिने राजकुमार ठाकुर जुवामा घरसम्पति हारेपछि कार्तिक २३ गते महेन्द्रलाई लहान बोलाई अपहरणको योजना बनाए।

कार्तिक २८ गते बि आर ०६ पी १०२८ नम्बरको भारतिय गाडीमा आएका महेन्द्रको राजा, जीतेन्द्र, दुधैलाबालीसँग लहानस्थित मालपोत कार्यालय अगाडि भेट भयो र कार्तिक २९ गतेका दिन अपहरण गर्ने योजना बनाए।योजनाबमोजिम २९ गते अपरिचित तीनजना गुरुदयालको को. १ च. ६६४१ नम्बरको सुमो गाडी भाँडामा लिई इटहरी लागे।

यता जीतेन्द्रको स. १ च. ७९० नम्बरको सुमो गाडीमा राजा, खडकपुर बेल्ही भवानीपुर लौकहीका उमेश यादव, राजु गुप्ता र फुलकुमार साह इटहरी पुगे भने लौकहीका उदय साहको बि आर ०६ पी १०२८ नम्बरको भारतिय गाडीमा महेन्द्र, उनका भाई बिरेन्द्र महतो र दुधैलाबाली इटहरी पुगे ।

इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि सिटी स्क्यानको फायल बोकी बिरामीको बहाना बनाई बसेकी दुधैलाबालीसहितका चारजनाले लहान फर्किन लागेको गुरुदयालको गाडी भाँडामा मागे ।रित्तै फर्किने गाडीलाई भाँडामा गोलबजार जाने सवारी मिलेपछि खुशी हुँदै यात्रु लिई फर्केका गुरुदयाल एक घण्टापछि पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको पंसेरा–७ अमहा चोकबाट अपहरणमा परे ।

दुधैलाबालीसँगै आएका उमेश, राजु र फुलकुमारले गाडि भित्रको बत्ती बन्द गर्न लगाई बन्दुक देखाउँदै गुरुदयाललाई गाडिबाट ओरालेर भारतको मझौरा पुर्‍याए । पिछा लागेर आएको राजा चढेको स. १ च. ७९० र महेन्द्र चढेको बि आर ०६ पी १०२८ नम्बरको भारतिय गाडी योजना सफल भएपछि लहान फर्किए र त्यहाँबाट सबैजना भारतिय गाडीमा भारततर्फ लागे ।

मामा महेन्द्रकै निर्देशनबमोजिम उमेशले गुरुदयाललाई बेहोस हुने सुई लगाई मझौरामा सात दिन राखे र फिरौतीका लागि उनका दाजु रामदयालसँग एक करोड मागे । उनिहरुले ठाउँ परिवर्तन गर्दै भारतिय नम्बर ९१७२०९४२५३५६ का साथै बिरेन्द्रले प्रयोग गर्ने एनसेल नम्बर ९८१९७०३४९१ र गुरुदयालबाट खोसिएको ९८०४७२८६५३ नम्बरबाट समेत फिरौतीका लागि वार्गेनिङ गरे । प्रहरी अनुसन्धानलाई अन्यत्र मोडन अपहरणकारीहरुले लहानका अफजलमार्फत डुमरवानाका नौसाद र जाकिरलाई समेत फिरौति रकम माग्न लगाएको सप्तरीका प्रनाउ ढकालले बताए।

नेपालको मोबाइल नम्बर प्रयोग भएपछि प्रहरीले ‘कल डिटेल्स’, ‘लोकेशन’, ‘कल तथ्यांक’, ‘भ्वाइस रेकर्ड’ संकलन गरेको आधारमा भारतिय प्रहरीले पुस १ गते बिरेन्द्रलाई पक्राउ गर्‍यो । बिरेन्द्रकै वयानका आधारमा भारतको सुपौल जिल्ला कुरिवनबाट पीडितलाई ३२ दिनपछि गत पुस २ गते प्रहरीले सकुशल उद्धार गर्‍यो ।

प्रहरीले आरोपितहरुमध्ये महेन्द्रलाई सोही दिन तथा दुधैलाबाली र जीतेन्द्रलाई गत पुस ४ गते पक्राउ गर्यो । बिरेन्द्रलाई भने भारतको लौकही थानाले नै कारवाही थालेको प्रहरी निरीक्षक कामतीले बताए। पक्राउ परेका तीनजना सप्तरी जिल्ला अदालतको आदेशले गत पुस ३० गतेदेखि कारागारमा थुनामा छन् भने फरार ११ जनाका नाममा वारेण्टसहितको म्यादी पुर्जी जारी भएको छ ।         -इ-सिरहा 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्