बाह्र लाख गरीब घरपरिवारको लगत सङ्कलन
Advertise Here Book Now
गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा विवरण समन्वय बोर्डको सचिवालयले १२ लाख गरीब घर परिवारको लगत सङ्कलन गरेको छ ।
यसै आवभित्र २५ जिल्लामा गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरुप ती जिल्लाका घरपरिवारको लगत सङ्कलन गरिएको मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले दिनुभयो ।
पौडेलले संकलित लागत तथ्यगत आधारमा त्यसको सही पहिचानको अन्तिम तयारी भइरहेको पनि बताउनुभयो ।
बोर्डले गरिब घरपरिवार पहिचानका साथै उनीहरूलाई प्रदान गरिने सेवासुविधा सम्बन्धमा समेत सरकारलाई आवश्यक सुझाव दिन गृहकार्य बढाएको बताउँदै पौडेलले भन्नुभयो–“गरिब घरपरिवारलाई प्रदान गरिने सेवासुविधा सम्बन्धमा सामाजिक सुरक्षाका विभिन्न क्षेत्रमा कार्यरत आठ मन्त्रालयसँग हामीले छलफल गरिसकेका छौँ, अन्य मन्त्रालयसँग पनि चाँडै छलफल गरिने छ ।”
जिल्लाहरूमा स्थलगत रूपमा गरिएको लगत सङ्कलनलाई सफ्टवेयरमा राखिसकिएको जानकारी गराउँदै उहाँले उक्त विवरणले व्यक्तिका समाजिक र आर्थिक विभिन्न पक्षको चित्रण गर्ने बताउनुभयो ।
संकलित विवरण तथा तथ्यअनुसार ती जिल्लामा लगभग चार लाख परिचयपत्र वितरण गर्ने अनुमान गरिएको उहाँको भनाइ छ । विवरण अद्यावधिक गरिएको सफ्ट्वेयरका माध्यमबाट व्यक्ति एवम् परिवारका धेरै विवरण एकै ठाउँबाट पउन सकिने भएको र उक्त तथ्याङ्कलाई अन्य विभिन्न प्रयोजनका लागि पनि उपयोग गर्न सकिने सफ्टेक कम्पनीका कार्यकारी प्रमुख राजन दाहालले जानकारी गराउनुभयो ।
गरिब घरपरिवारका नाममा विभिन्न किसिमबाट सहयोगका कार्यक्रम आइरहे पनि पहिचान र परिचयपत्र वितरणसँगै ती कार्य एकद्वार प्रणालीबाट अघि बढ्ने बोर्डको सचिवालयका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । सचिवालयका उपसचिव रमेशप्रसाद पुडासैनीले परिचयपत्र वितरणले गरिब तथा विपन्न वर्गका व्यक्ति लक्षित कार्यक्रमको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरणका लागि प्रथम चरणका लागि छनोट गरेका जिल्लामा अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, जाजरकोट, बर्दिया रुकुम र रोल्पा छन् । त्यस्तै अन्य जिल्लामा प्युठान, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिरहा, खोटाङ र भोजपुर जिल्ला छन् ।