शिक्षक देखी उपराष्ट्रपति सम्म, को हुन् पासाङ ?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकमं /उपराष्ट्रपतिमा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांगे्रस नेता अमियकुमार यादवलाई ११३ मतले पछि पार्दै पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । पासाङले ३२५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार अमियकुमार यादवका पक्षमा २१२ मत खसेको थियो । १० मत बदर भएको छ ।
उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका–संसदमा आज बिहान ११ बजेदेखी दिउसो २ बजे सम्म मतदान भएको थियो ।
उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५४७ मत खसेको छ । संसदमा ५९६ जना सांसद् रहेकामा मतदानमा ४७ जना सांसद् अनुपस्थित भए । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीकालगायतका केही दलका सांसद्ले निर्वाचन वहिष्कार गरेका थिए ।
उनलाई प्रमुख सत्तारुढ दल एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायतका दलको समर्थन थियो ।
एमाओवादी भित्र इमान्दार र राष्ट्रबादी नेताको छबी बनाएका पासाङ तत्कालिन नेकपा मओवादी जनमुक्ति सेनाका कमाण्डर हुन् । उनी पछिल्लो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा कांगे्रसका युवा नेता गगन थापासँग पराजित भएका थिए ।
बुलेटबाट ब्यालेटको यात्रा
जनयुद्धका क्रममा निकै चर्चित पासाङ शान्ति प्रक्रियापछि भने गुमनाम रहे । यसको कारण थियो उनी जनसेना र नेपाली सेना समायोजनको आन्तरिक काममा व्यस्त थिए । तर, जव दुई सेनाबीच समायोजन भयो त्यसपछि सैन्य जीवन नरोजेर राजनीतिमा प्रवेश गरेका उनी सञ्चार माध्यममा त्यती धेरै छाएनन् । उनकै नेतृत्वमा नेपाली सेना र जनसेना समायोजन गर्ने कुरा समेत त्यतिबेला नचलेको होइन । तर, समायोजनबारे दलहरुबीच विवाद भएपछि उनी स्वच्छिक अवकास लिएर राजनीतिमा लागे ।
१० वर्षसम्म बुलेटको लडाइ गरेर पार्टीसँगै २०६३ देखि ब्यालेटको लडाइमा लागेका पासाङ जनयुद्ध पछि जम्मा दुई पटक चर्चामा आए । एक पटक मुत्यसँग पौठेजोरी खेल्दा र अर्को कांगे्रसका आशालाग्दा युवा नेता गगन थापासँग संविधानसभा निर्वाचनमा लड्दा । यस बाहेक अधिकांस समय गुमनाम प्रायः उनी लगबग मौन रहे । पदका लागि चाकडीबाज पार्टीमा चरम चुलिमा उक्लिएका बेला पासाङ भने यसबाट संधै टाढै रहे । नेतृत्वलाई रिझाएर भन्दा पनि आफ्नो क्षमताको प्रदर्शन गर्नु पर्छभन्ने आदर्शबाट उनी कहिल्यै पनि बिचलित भएनन् ।
देशभक्त नेताको छवी बनाएका पासाङ संविधानसभाको दोस्रो निर्वाचनमा गगन थापासँग भारी मतान्तरले पराजित भए । थापाले उनलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचनमा हराएका थिए । पार्टी भित्र इमान्दार नेताको छबी बनाएका पासाङ सादा जीवन उच्च बिचार पक्षपोषक हुन् ।
उनी अहिले पनि राजधानीमा झुपडी मै भेटिन्छन् । भूकम्पले बसेको घर भत्किएपछि छाप्रोमा गुजारा चलाउने सम्भवत उनी मात्रै माओवादी उच्च नेता हुन् ।
पार्टी फुट, गुट र उपगुटप्रति सँधै चिन्ता
शान्ति प्रक्रियामा आएको छोटो समयमै एमाओवादी भित्र अनेक उतारचढाव आए । युद्धकाल बाटै सुरु गुट उपगुटले खुला राजनीतिमा झन फष्टाउने मौका पायो । संस्थापन पक्षमा रहेका पासाङ भने संधै यसको अन्त्यका पक्षमा उभिए । सेना समायोजन होस यात पार्टी नेतृत्वको कार्यशैली र आत्मसमर्पणबाद र नयाँ शक्तिको आबश्यकता भन्दै पटक पटक पार्टी फुटे पनि उनी भने मुल पार्टीमै रहे ।
पार्टी र नेताहरुको यस्ता गतिबिधिबाट असन्तुष्ट पासाङले संचारमाध्यमसँग भनेका थिए “आफुले जीवन भर दुःख गरेर बनाएको पार्टी हो माया लाग्छ, सबै साथीहरु स्वार्थको लागि छिन्न भिन्न भए । यो गलत भयो भन्ने लाग्छ । सबै मिलेर यही सस्थालाइ बनाउन लाग्नु पथ्र्यो । मेरो सबै सँग राम्रै छ । पार्टी बिग्रियो भन्नेमा सबैको चिन्ता र चासो छ । माओवादी आन्दोलन कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता लाग्छ । त्योसँगै दैनिक गुजारा धान्नु त अर्कै पाटो भयो । हामी सबैतिर बाट चेपिएका छौं, मैले यो कुरा प्रचण्ड बाबुरामसँग राख्ने गरेको छु । उहाँहरु पनि चिन्तित हुनुहुन्छ । फेरी अब गर्ने भनेको हामीले नै हो उहाँहरु अवकाश लिने उमेरमा पुगिसक्नु भएको छ । हामी हामीमै पनि फाटो र तिक्तता भएर गर्न केही सकिएको छैन । तर, आशा गरांै हुन्छ केही अवस्य गर्न सकिन्छ ।” उनी संधै पद र पैसाका लागि नभएर देश, जनता र पार्टीका लागि राजनीतिमा लागेको बताउदै आएका छन् ।
राष्ट्रबादी नेता
मृगौलाका रोगि उनले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई समेत राष्ट्रको अस्मितासँग जोडेर आफ्नो स्वास्थ्य अवस्था चिन्ताजनक हुँदापनि विदेश नगई नेपालमै उपचार गराएका थिए । पासाङको उक्त अडान सम्झँदै पूर्व राखेप सदस्य सचिव तथा चलचित्रकर्मी युवराज लामा सामाजिक सञ्जालमा लेखेका छन्,“पासाङ जी अस्पताल भर्ना भएको खबर सुनें, तत्कालै अस्पताल पुगें । समस्या किड्नीको र अलि गम्भिर भएकाले सबै साथीहरु विदेश उपचारका लागि जान अनुरोध गरिरहेका थिए । म र सिद्धार्थले भेट्न पालो मिल्यो, आखाँभरी आँसु गर्दै भन्नुभयो, “दाई अझै देशको लागि लड्नुछ । प्रचण्डलाई इमान्दारिताको साथ दिने धेरै कम छ । म मर्छु तर विदेश उपचार गर्न जान्न भन्नुभएको हिजो जस्तो लाग्छ ।”
उपचारमा संलग्न डाक्टर, आफ्नै पार्टी माओवादी र सरकारी तर्फबाट थप उपचारका लागि बाहिर जान आग्रह आइरहेका बेला आफूलाई भने स्वदेशमै उपचार गर्ने चाहाना रहेको जनाउदै उनले प्रेस विज्ञप्ति नै जारी गरेका थिए । अस्पतालबाटै उनले देशभित्र उत्पन्न राजनीतिक अवस्था देख्दा साहै्र चिन्ता लागेको भन्दै केही यथास्थितिवादी तथा प्रतिगामी नेताहरुले जनताले चाहेको संविधान लेख्नमा सहमति नगरी देश र जनताका लागि ठूलो धोका दिएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका थिए ।
आफ्नै मृत्युको खबरको आफैँ खण्डन
सानै देखी राजनीतिमा चासो राख्ने पासाङ २०५१ सालसम्म शिक्षक थिए । स्थायी शिक्षक पासाङ गाउँकै स्कुल जनसेवा मावि, राङ्सीमा पढाउँथे । त्यसबेला उनी तत्कालिन जनमोर्चामा पनि सक्रिय थिए । गाउँमा राजनीतिका कुरा हुन्थे । राजनीतिका गफमा गफिदा गफिदै मतमतान्तर हुन्थ्यो । सहभागीहरु राजनीतिक आस्था अनुसार पक्ष विपक्षमा उभिन्थे र सुरु हुन्थ्यो झगडा । उनी पनि त्यसमा सहभागी भएका कारण झगडामा नचाहेर पनि सामेल हुन्थे । कतिपटक कुटिए भने पटक पटक कुटाई पनि खाए । कांगे्रस कार्यकर्ताले सिद्याउने योजना बनाउदा पनि आँफु बाच्न सफल भएको उनले आफ्नो विगत खोतल्ने क्रममा संचार माध्यमहरुसँग बताएका छन् ।
यसरी सुरु भएको राजनीतिक यात्राका क्रममा उनको कयौं पटक मृत्युसँग जम्काभेट भएको छ । युद्धको समयमा त उनले मृत्युसँग पौंठेजोरी खेल्नु पर्यो नै खुला राजनीतिमा लगबग सकुशल अबतरण भएपछि पनि उनलाई मत्युले पछ्याउन छाडेन । पासाङ आफ्नै मृत्युको खबर आफैँ खण्डन गर्दै हिड्न बाध्य भए । दुबै मृगौला काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पतालको बेडमा जीवन र मृत्युसँग साक्षात्कार गरिरहेका बेला मृत्युको हल्ला चलेपछि पासाङले आफैले हस्ताक्षर गरेर आँफु ज्युदै रहेको प्रष्टिकरण दिनु परेको थियो ।
पासाङकै कारण गिरिजाप्रसाद कोइरालाको राजीनामा
माओवादी युद्धका सैन्य कमान्डर पासाङ सेना समायोजन नहुँदासम्म माओवादी सेनाको प्रमुख रहे । युद्धका वेला माओवादीले गरेको रोल्पाको होलेरी आक्रमण, अछामको मंगलसेन, डोल्पाको दुनै, म्याग्दीको बेनी, अर्घाखाँचीको सन्धिखर्क, जुम्लालगायत चार दर्जनजति ठूला तथा सयौं साना फौजी आक्रमणको कमान्ड सम्हालेका पासाङ ती प्रत्यकजसो आक्रमणमा सरकारी सुरक्षाकर्मीको प्रतिकारमा मारिएको सरकारले दाबी गथ्र्यो ।
उनको नेतृत्वमा भएको होलेरी आक्रमणले यति धेरै चर्चा पायो । तत्कालिन सरकारको चौतर्फी आलोचना भयो । सरकार राष्ट्रिय–अन्तराष्ट्रिय दबाब थेग्न नसक्ने अवस्थामा पुग्यो । होलेरी आक्रमणलगत्तै नेपाली सेना परिचालन गर्ने आफ्नो योजना असफल भएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिए । माओवादीका लागि यो अभुतपूर्व सफलता थियो भने पासाङका लागि पनि ।
को हुन् पासाङ् ?
पासाङको जन्म रोल्पा जिल्लाको लिवाङ स्थित राङ्सीमा भएको हो । नागरिकतामा नन्द बहादुर पुन नाम भएपनि माओवादीले भूमिगत कालमा उनको नाम पासाङ राखिदियो ।
पासाङले २०३६ सालबाट राजनीतिक जीवनसुरु गरेका हुन् । त्यसको एकवर्षपछि उनी राङ्सी माध्यमिक विद्यालयको इकाई कमिटिका अध्यक्ष बनेका थिए । लिवाङ् पढ्दा नै पासाङ रोल्पा, जिल्लाको विद्यार्थी प्रतिनिधि बनेका थिए ।
लिवाङमै रहेको विद्यालयमा पढ्दै राजनीतिमा लागेको भन्दै उनलाई तत्कालीन प्रहरीले राजनीति नगर्न को दबाब दिन्थ्यो । प्रहरीको दबाब थेग्न नसकेपछि लिवाङमा उनले पढाइ छाडेर थवाङ गए । थवाङम प्रहरीले पासाङलाई तीन दिन सम्म थुनेर यातना दिएको थियो ।
२०४२ सालमा थवाङबाट एसएलसी पास गरेका उनी एक वर्षपछि शिक्षक बनेर आफ्नै गाउँ लिवाङको राङ्सी फर्किए । त्यस्तै गरी ०४७ सालमा संविधान जारीभएको एक वर्ष नबित्दै उनलाई लिवाङ प्रहरीले १३ दिन थुन्यो ।
पासाङ दाङमा रहेको क्याम्पसमा अध्ययनरत रहँदा अखिल क्रान्तिकारीको अध्यक्षमा चुनिएका थिए । २०४६ सालमा पार्टी सदस्यता लिइसकेका उनी युवा संगठनमा पनि आबद्ध थिए । जनयुद्ध सुरु हुनुभन्दा ३ वर्षअघि नै पासाङ कम्युनिस्ट राजनीतिमा फुलटाइमर कार्यकर्ता भइसकेका थिए ।
पासाङलाई तत्कालीन प्रहरीले जनयुद्धकै क्रममा गोली हानेको थियो । देब्रे हातमा गोली लागेपनि उनी बाँच्न सफल भएका थिए । उनलाई बचाउन गएका लोकबहादुर घर्ति र मनबहादुर पुनले त्यतिबेलै ज्यान गुमाएका थिए । पासाङका भाइ कमल पुनले जनयुद्धमा ज्यान गुमाएका थिए ।
जनयुद्ध कालमा उनीमाथी ३० वटाभन्दा बढी मुद्दा लगाइएको थियो । जनयुद्धकै दौरानमा सरकारले अन्य माओवादी नेताहरुको टाउकाको मूल्य तोक्ने क्रममा पासाङको टाउकाको माले पनि तोकिएको थियो ।
नेकपा एकता केन्द्र बनेपछि रोल्पामा ५ जनाको जिल्ला कमिटि बनको थियो । उक्त समिटिका सदस्य थिए । जनयुद्धको तयारीकै क्रममा पासाङ रोल्पा जिल्लाको वाइसिएलको कमाण्डर थिए भने सैन्य प्रशिक्षक समेत थिए । जनयुद्धमा लडाकु दलको कमाण्डर पासाङ २०५५ सालमा टास्क फोर्सको कमाण्डर बनेका थिए । २०५६ सालमा बनेको छापामारको पहिलो कम्पनि कमाण्डर पनि पासाङ नै हुन् । शान्ति प्रक्रियासम्म आउँदा उनी जनसेनाको सर्वोच्च कमाण्डर समेत बनेका थिए ।

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्