वीरगञ्जमा एकको मृत्यु, प्रहरीसहित अठारजना घाइते
Advertise Here Book Now

प्रहरीको गोली लागेर वीरगन्जमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट मिर्जापुरका एक प्रदर्शनकारीको मृत्यु भएको हो ।
उनको पहिचान अझैसम्म खुल्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुरसार उनको टाउकोमा गोली लागेको छ । उनको शव नारायण उपक्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ ।
आइतबार मधेशी मोर्चासंगको वार्ता सकारात्मक भएको र यसले नाकाहरु केही सहज हुने अपेक्षा विपरीत आन्दोलनकारी र भारतीय पक्षले गम्भीर षड्यन्त्र गरेको सोमबार बिहान वीरगञ्जको घटनाले देखाएको छ ।
सोमबार झिसमिसे नहुँदै प्रहरीले नाकामा धर्ना दिएकाहरुलाई लखेटेर नेपालमा रोकिएका भारतीय गाडीहरु पठाएपछि भारतीय प्रहरीले पनि धर्नाकारीहरुर्ला लखेटेकोमा ती गाडीहरु भारत छिरेलगत्तै वीरगञ्जमा तनाव उत्पन्न भयो ।
भारतीय सुरक्षाकर्मीहरुले दशगजामा पुगेका धर्नाकारीलाई केही गरेन । भारतीय भूमिबाट नेपालतिर ढुंगामुडा भैरहँदा मौनदर्शक बनेर बसे ।
भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सवारी छिरेलगत्तै आन्दोलनकारीलाई दशगजामा छिर्न दिएका थिए ।
भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा फेरि आन्दोलनकारी जम्मा भएका हुन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगञ्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन गरेका थिए ।
विहानैदेखि तनावपूर्ण रहेको वीरगन्जमा विभिन्न स्थानमा झडप हुँदा ८ सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनालाई रवरको गोली लागेको छ ।
वीरगन्जका भुलन सराफ, शिवजी साह, राहुल दास, रामराज मुखिया र एक जनाको परिचय खुल्न सकेको छैन। भुलनको पिठ्यू र खुट्टा, शिवजीको टाउको, रामजीको खुट्टा र राहुलको हातमा रवरको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ ।
त्यस्तै प्रहरीको लाठीबाठ वीगरन्जका रवि यादव, राकेश गुप्तालगायत प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्नकारीले चलाएको ढुंगा लागेर सशस्त्र र नेपाल प्रहरीतर्फ ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
गाउँगाउँबाट आएका प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन् ।
वीरगञ्जमा जस्तै अन्य नाकाहरुमा पनि कडाई गरिएको छ । सीमावर्ती क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई देखाएर जोगवनी नाकामा कडाई गरिएको छ भने, पश्चिम नेपालका दुई ठूला नाका रुपैडिया–नेपालगञ्ज र सुनौली–भैरहवा पनि बन्द गरिएका छन् ।
अचानक रुपैडिया नाका बन्द भएको केहीबेरमा सुनौली–भैरहवाको बेलहीया नाका पनि बन्द भएको छ ।
ती नाकाहरुमा आन्दोलन, प्रदर्शन र धर्ना नभए पनि भारतीय सीमा सुरक्षा बलले माथिको आदेश भन्दै सुरक्षाको कारण देखाएर नाका बन्द गरेको जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्