मन्त्रीको टुंगो लगाउन माधव नेपाल बालुवाटारमा
Advertise Here Book Now

आजै मन्त्रालयको टुंगो लगाउने सत्तापक्षको तयारी

ऑनलाइन सिरहा डटकम १९ कात्तिक / एमालेबाट क-कसलाई मन्त्री बनाउने भन्ने विषय टुंगो लगाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।
ओलीसँग छलफल गर्न नेपाल प्रधानमन्त्री निवास विहीबार बिहान बालुवाटार पुगेका छन् । स्थायी कमिटीले तय गरेको मापदण्डअनुरुप मन्त्री बनाउने व्यक्तिबारे ओलीले नेपालसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
पार्टीमा सन्तुलन मिलाउन र सबैलाई न्याय गर्ने आफ्नो बचनअनुसार ओलीले मन्त्री तय गर्नुअघि पार्टीभित्रका आफ्ना प्रतिद्धन्द्धी नेपालसँग अन्तिम छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
नेताहरुसँग आवश्यक परामर्शपछि आजै मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । मन्त्रालयमा सहमति जुटाउन सत्तापक्षका नेताहरुले आजै बालुवाटारमा छलफल गर्दैछन् ।
एमालेले पाउने ८ मन्त्रीमध्ये ३ जना नियुक्त भइसकेका छन् । बाँकी ५ मन्त्री र केही राज्यमन्त्रीहरुको टुंगो लगाउने जिम्मा स्थायी कमिटीले प्रधानमन्त्रीले ओलीलाई दिएको थियो ।
प्रादेशिक सन्तुलन मिलाउनका लागि केही प्रदेशबाट राज्यमन्त्री बनाइने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘प्रादेशिक सन्तुलन,समावेशी, योग्यता क्षमता र प्रत्यक्ष निर्वाचितलाई प्राथमिकता दिने भनिएको छ’ गुरुङले भने ।
एमालेले पाँच मन्त्री नियुक्त गर्नु पर्ने भए पनि दर्जनौंको दाबी छ । माधव नेपालले पशुपति चौलागाईलाई एक नम्बरमा राखेका छन् । त्यस्तै श्रीमाया थकाली र सत्रुघन महतो पनि नेपालको लिष्टमा छन् ।
झलनाथ खनालले प्रेम आलेको नाममा दबाब दिएका छन् । पार्टीभित्र शेरवहादुर तामाङ, आनन्द पोखरेल, यज्ञराज सुनुवार, सत्रुघन महतो लगायतको नाममा छलफल भएको महासचिव ईश्वर पोखरेल निकट स्रोतले जनाएको छ ।
त्यस्तै वामदेव गौतमले रविन्द्र अधिकारीलाई मन्त्री बनाउन चाहेका छन् भने प्रधानममन्त्री ओली निकटका शेरधन राई, भानुभक्त ढकाल प्राथमिकतामा छन् ।
राज्यमन्त्रीमा मन्जु चौधरी, रामदयाल मण्डल, जनार्दन ढकाल, दलबहादुर सुनार र अमरबहादुर थापा वा लक्ष्मी पोखरेलमध्ये एकको नाम छलफलमा आएको स्रोतले जनाएको छ ।
अर्थमन्त्रीमा विष्णु पौडेल र उपप्रधानमन्त्रीसहित रक्षा वा सञ्चारमा भीम रावलको नाममा भने सहमति भइसकेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्