पूर्वाधार विकासको क्षेत्रमा रणनीतिक रुपमा काम सुरु : प्रधानमन्त्री
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम चैत्र
१५। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि
कृषि, जलविद्युत् भौतिक पूर्वाधार विकासको क्षेत्रमा रणनीतिक योजनाका साथ
काम सुरु भएको बताउनु भएको छ । राष्ट्रिय योजना आयोगले राजधानीमा आज गरेको
गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानसभाबाट नेपालको संविधान
जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको
उल्लेख गर्नुभयो ।
सहस्राब्दी विकास लक्ष्यले निर्धारण गरेका कतिपय विषयमा मुलुकले सफलता
प्राप्त गरेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि सबैको साथ, सहयोग र
सहकार्यको जरुरी रहेकोमा जोड दिनुभयो । औद्योगिक क्षेत्रको विकास र
उत्पादनलाई बढावा दिन एक वर्षभित्र जनताले अनुभव गर्ने गरी विद्युतभार
कटौती अन्त्य गर्ने र दुई वर्षमा जलविद्युतबाटै पूर्णरुपमा विद्युत्
आपूर्ति गर्ने गरी कार्ययोजना बनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबै वर्ग, क्षेत्र, समुदायलाई
अधिकारसम्पन्न बनाएकाले लगानीमैत्री वातावरण बनेको र एकाध वर्षभित्रै मुलुक
समृद्धिको दिशामा अगाडि बढ्ने बताउनुभयो । चीन र भारतको हालैको भ्रमणपछि
द्विपक्षीय र बुहपक्षीय साझेदारीको प्रारम्भ भएको र विकासका लागि समेत
मार्ग प्रशस्त भएको भन्दै उहाँले लगानीका लागि नेपाल स्वर्णभूमि रहेको
टिप्पणी गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले गत वैशाख
१२ को भूकम्प र पाँच महिनाभन्दा लामो समयको अघोषित नाकाबन्दीका कारण
नेपालको अर्थतन्त्रमा ठूलो समस्या पारेको भए पनि सन् २०२२ सम्म मुलुकलाई
विकासशील राष्ट्रका रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।