भारतीय प्रहरीद्वारा ३५ नेपाली पक्राउ, छजनामाथि मुद्दा चलाइँदै
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम चैत २० । भारतीय प्रहरीले छजना नेपालीलाई मानव तस्करीमा संलग्न रहेको अभियोगमा भारतीय अदालतमा मुद्दा चलाएको छ । उनीहरुले पाँचहजार रुपियाँको दरले रकम दिएर २९ जना नाबालिगलाई कामका लागि भारतको मद्रास लिएर जान लागेको अभियोगमा भारतको बिहारस्थित मुझफ्फपुर अदालतमा मुद्दा चलाइएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बुधबार भारतको मद्रास काम गर्न जान लागेका ३५ जना नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । पक्राउ परेकामध्ये २९ जना नाबालिग रहेको भन्दै प्रहरीले मुजफ्फरपुरस्थित बालगृहमा राखेका छन् भने उनीहरुका परिवारलाई ५–५ हजार रुपियाँ दिएर भारतको मद्रास काममा लग्न खोजेको भन्दै ६ जनाविरुद्ध मानव तस्करीको मुद्दा लगाएर जेलमा राखिएको चाइल्ड लाइन संस्थाका प्रतिनिधि रविन्द्रकुमारले बताए । ५१ औं बटालियनका सहायक सेनानायक सास्वत पाण्डेयले नेपाली किशोरहरुलाई विभिन्न प्रलोभन देखाएर भारतको मद्रास लान थालिएको गोप्यसूचना प्राप्त भएको र सोही सूचनाका आधारमा कार्यकारी सेनानायक जय गोपाल नामासुद्राको निर्देशनमा भिठ्ठामोड चेकप्वाइन्टका प्रभारी सबईन्सपेक्टर अनिलकुमारको कमाण्डमा मुख्य आरक्षी रतन चन्द, महिपाल तथा आरक्षीहरु रोहतान, वाणी सिंह मिना र प्रवीण पाठकको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।सुरुमा २४ जनालाई नियन्त्रणमा लिइएको र पछि पुनः थप ११ जनालाई नियन्त्रणमा लिइएपछि पक्राउ पर्नेहरुको सँख्या ३५ पुगेको हो ।भारतीय एसएसबीले पत्रकारहरुलाई दिएको उमेर र अदालतमा पेश गरेको उमेरमा भने फरक देखिएको छ । सुरुमा १३ जना नाबालिग भनिए पनि उमेरको हिसाबले ७ जना मात्र नाबालिग देखिएको तर बिहीबार अदालतमा २९ जना नाबालिग रहेको दाबी भारतीय प्रहरीले गरेका थिए ।हाल बालगृहमा रहेका बालकहरुको अभिभावकसँग सम्पर्क स्थापित हुँदै गरेको र चाइल्ड कोर्टले बोलाएको मितिमा अभिभावहरुलाई समेत बोलाइने चाइल्ड लाइन नामक संस्थाका प्रतिनिधि रविन्द्रकुमारले फोन सम्पर्कमा बताए ।