अन्तर्राष्ट्रिय ‘भैँंसी’ सम्मेलन चितवनको सौराहामा, ११ देशका वैज्ञानिक सहभागी
Advertise Here Book Now

चितवन । भैँंसीपालन र व्यावसायिक उत्पादन क्षेत्रमा काम गरिरहेका विभिन्न देशका वैज्ञानिकको सहभागितामा ‘भैँंसी’ बारे चितवनको सौराहामा बुधवारदेखि अन्तर्राष्ट्रिय संगोष्ठी भइरहेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवम् नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन भइरहेको आयोजकले जनाएको छ । ‘खाद्य एवम् आर्थिक वृद्धिका लागि भैंँसी उत्पादनमा वृद्धि’ भन्ने नारासाथ जारी सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी छन् ।
सम्मेलन मूलआयोजक समिति अध्यक्ष एवम् कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरका डीन प्रा.डा. शारदा थपलियाले सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी रहेको दिए ।
सम्मेलनमा भैंँसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । भैँसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवम् व्यवस्थापन विधि, अनुवांशिक प्रविधि विषयमा करिब ९० कार्यपत्र प्रस्तुत गरिने उनले बताए । यसमा १४ आमन्त्रित कार्यपत्र रहनेछन् ।
आयोजक समिति सदस्यसचिव डा. भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेसनल ‘बफेलो’ फेडेरेसन महासचिव एन्तोनी बोरगिज, एसियन बफेलो एसोसिएसन अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवम् विशिष्ट वैज्ञानिकको सहभागिता रहनेछ ।
नेपालमा पहिलोपटक आयोजित यसकिसिमको वैज्ञानिक सम्मेलनले भैँंसी उत्पादनका क्षेत्रमा अपनाइएका प्रविधि र पछिल्लो खोजबारे जानकारी सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवम् सरकारी तथा गैरसरकारी संस्थाको बीचमा वृहत् सञ्जाल निर्माण र सहकार्य विस्तारमा सघाउने विश्वास व्यक्त गरे ।
नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई भविष्यमा भैंँसी र यससँग सम्बन्धित उत्पादन अभिवृद्धिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने उद्देश्य लिइएको देवकोटाले बताए ।
दक्षिण एसिया, पूर्वी, मध्यपूर्वी र मध्यपश्चिम एसिया, तटीय देश एवम् दक्षिण र मध्य अमेरिकी देशको पशु उत्पादनको मुख्य हिस्सा भैँंसीले ओगटेको छ । भैँंसीको उत्पादनले नेपालको खाद्य एवम् आर्थिक क्षेत्रमा ठूलो योगदान गरिरहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालका अनुसार, नेपालमा कुल दुग्ध उत्पादनको दुईतिहाइ बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंँसीको उत्पादनले ओगटेको छ ।
विश्वका ४२ देशमा भैँंसीपालन हुँदै आएको छ । विश्वभरिमा १८ करोड ५० लाख भैँंसी पालिएको अनुमान छ । यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा ३ करोड र नेपालमा ५२ लाख भैँंसीपालन हुँदै आएको उपकुलपति ढकालले बताए ।
भैँसी सम्मेलनबाट आएको निचोडले सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न सहयोग पुग्ने उपकुलपति ढकालको भनाइ छ । नेपालमा तीनवटा रैथाने जात र दुई उन्नत जातका भैंँसी पालिँदै आइएको छ । रैथानेमा लिमे र पार्काेटे स्याङ्जा, पर्वत, बाग्लुङलगायतका पहाडी जिल्लामा र गड्डी जातका भैँंसी सुदूरपश्चिमका पहाडी जिल्लामा पालिँदै आएको छ । उन्नत जातका मुर्रा र क्रस मुर्रा भैँंसी तराई क्षेत्रमा पालिँदै आएको छ ।
कात्तिक २९ देखि सुरु अन्तर्राष्ट्रिय भैँसी सम्मेलन मंसिर २ गतेसम्म चल्नेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्